News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • मौसमी फूल र जलवायु परिवर्तनले पारेको प्रभाव

    जनभेट संवाददाता२०८१ बैशाख १५
    ७७ पटक

    –दीपा शर्मा
    फूलको उत्पत्ति एक सय ३० मिलियन वर्ष अघि भएको विश्वास गरिन्छ । धर्मकर्म, पूजापाठ, चाडपर्व, घर सजावट, पाहुनाको स्वागत सत्कार तथा प्रेमीप्रेमिका लागि फूलको आवश्यकता पर्छ । यस अर्थमा मानिसको जन्मदेखि मृत्यु पर्यन्त फूल आवश्यकता छ भन्दा  अतिशयोक्ति नहोला ।

    मौसमी फूल कुनै निश्चित समय या मौसम अनुसार फुल्ने भएकाले यसलाई मौसमी फूल भनिएको हो । मौसमी फूल घर, उद्यानको सौन्दर्यता वृद्धि गर्न लगाइन्छ । व्यावसायिक रुपमा पनि यी फूलहरुको व्यापार फस्टाउदो क्रममा छ । नेपालमा २५ वर्षदेखि पुष्प व्यवसायको सुरुवात भएको हो । मौसमी फूलको प्रयोग विभिन्न औषधि, चिया उत्पादन लगायत अत्तरको निर्माणमा समेत हुने गरेको छ ।

    नेपालमा पाइने ६ प्रकारका ऋतु मध्येका शिशिर, वसन्त ऋतुमा विशेष गरी खुर्सानी फूल, बैगनबेली, गुलाब, लालिगुँरास, लालुपाते फूलहरु फुल्ने गर्छन् । थरिथरिका फूल फूले पछिको वतावरण हेर्न लायक हुन्छ यस्तो मनमोहक दृश्यले जो कोहीलाई पनि मोहित बनाउँछ ।

    खुर्सानी फूल
    नेपाली नाम खुर्सानी फूल भए तापनि यसको वैज्ञानिक नाम भने Pyrostegia venusta हो । यो फूलको उत्पत्ति बाज्रिलमा भएको हो । चहकिलो सुन्तला रङको हुने खुर्सानी फूल संसारकै सबैभन्दा सानो चरा हमिङ वर्ड, मौरी, पुतलीको प्रिय वासस्थान मानिन्छ । घमाइलो मौसममा खुर्सानी फूलको बृद्धि छिटोछिटो हुन्छ । प्रायः नेपाली घर, उद्यानहरुको बार पर्खालमा यो फूललाई देख्न सकिन्छ । विशेषतः शिशिर साथै वसन्त ऋतुमा पनि फुल्ने गर्छ । पखाला, खोकी, ब्रोन्काटिस्, चिसो जस्ता संक्रमणसँग सम्बन्धित श्वासप्रश्वास प्रणालीको सामान्य रोगको उपचारका लागि खुर्सानी फूलको प्रयोग गरिन्छ ।

    Pyrostegia venusta, Orange trumpet, also commonly known as flame vine or orange trumpet vine

    वैगनवेली
    वैगनवेलीको नेपाली नाम कागते फूल हो । यसको वैज्ञानिक नाम Bougainvillea हो । यो फूलको उत्पति बाज्रिलमा भएको हो । वैगनवेली फूल हेमन्तदेखि  वसन्त ऋतुसम्म फुल्ने गर्छ । नेपाली घरआँगनको पर्खाल, कौसी तिर वैगनवेलीको लहरा झाँगिदै गरेको देख्न सकिन्छ । उर्वर माटो, नियमित पानी र उच्च आद्रतामा यो फूल फूल्ने गर्छ । मेक्सिकोमा वैगनवेली फूललाई तातोपानीमा राखेर चियाको रुपमा खाने गरिन्छ ।  खोकी तथा श्वासप्रश्वासका समस्या समाधानमा वैगनवेली अचुक औषधि हो ।

    लालीगुँरास  
    लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यसको वैज्ञानिक नाम Rhododendron हो । लालीगुराँस नेपाल लगायतका केही देशहरुमा पाइन्छ । यसको रुख होचो ज्याप्प परेको हुन्छ । प्रायः भिरालो ठाँउमा उम्रिने लालीगुराँस नेपालको उच्च पहाडी भेगमा पाइन्छ । आजभोलि लालीगुराँसलाई काठमाडांै, पोखरा लगायतका ठाँउका घर, उद्यानहरुमा पनि लगाइन्छ । यो विषेश गरी फागुनदेखि वैशाखसम्ममा फुल्ने गर्छ । लालीगुराँस सुन्दर फूलमात्र नभई विभिन्न औषधिको रुपमा पनि प्रयोग गरिन्छ । मुटु, पखाला, कब्जियत, दम जस्ता रोगको घरेलु उपचारका लागि यो उपयोगी मानिन्छ, यसका लागि उचित आयुर्वेदिक चिकित्सकसँगको परामर्श लिनु जरुरी हुन्छ ।

    गुलाफ
    गुलाफ फूल विश्वकै प्रसिद्ध फूल हो । यसको वैज्ञानिक नाम Rosa हो । गुलाफको उत्पति मध्य एसियामा भएको हो  । यो फूललाई पे्रमको प्रतीक मानिन्छ । प्रेम दिवसको दिन आफ्नो प्रेमी, प्रेमिकालाई गुलाफ दिएर प्रेम व्यक्त गरिन्छ । हिन्दु संस्कार अनुसार पूजाका कर्ममा खासै उपयोग नगरे पनि देवदेउतालाई अर्पण गर्ने भने गरिएको छ । घरघरमा सजावट, अत्तर, सौन्र्दय प्रसाधनको निर्माणसम्म यो फूलको प्रयोग गरिन्छ । गुलाफ संसारकै प्राचिन फूल मानिन्छ । यो फूल फागुन, चैत्रमा फुल्ने गर्छ ।

    लालुपाते
    लालुपातेका वास्तविक फूल साना साना सामान्य किसिमका हुन्छ । तर वास्तविक फूललाई घेरेर राखेका फूल जस्ता देखिने प्रत्यापत्रहरुले यसलाई गौरव दिएका हुन्छन् । लालुपातेको वैज्ञानिक नाम Euphorbia Pulcherrima हो । यसको उत्पति मेक्सीकोमा भएको हो । लालुपाते फूल काठमाडौं उपत्यका वरिपरिको पहाडी इलाकामा जताततै पाइन्छ । अमेरिकामा लालुपाते क्रिसमस फूलका रुपमा प्रख्यात छ । डाँडाकाँडा, भीरपाखामा मात्र होइन आजभोलि नेपाली घर उद्यानमा पनि लालुपाते फुलेको देखिन्छ । लालुपाते फूल ज्वरो आएको बेलामा ज्वरो कम गर्नका लागि पनि प्रयोग गरिन्छ ।

    कुनैबेला घर, उद्यान सजावटका लागि मानिसले मौसमी फूलको प्रयोग गर्थे । आजकल किसानहरु व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । मौसमी फूलको व्यापारमार्फत् मनग्य आम्दानी पनि गरिरहेका छन् । यसले किसानको आर्थिक स्तर उकासिनुका साथै समग्र देशको अर्थतन्त्रमा समेत टेवा पुर्याएको छ । सरकारी तथ्याङ्कका अनुसार प्रत्येक वर्ष प्रणय दिवसलाई लक्षित गरेर एक सय मिलियनको फूल छिमेकी मुलुक भारतबाट भित्रिने गरेकोमा केही वर्ष अघिदेखि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले नेपालमा विदेशी गुलाफको फूल आयातमा प्रतिबन्ध लगाएको छ । सरकारी स्तरबाट गरिएको सह्राहनीय कामले नेपाली किसानलाई उत्पादन अभिवृद्धि गर्न थप प्रोत्साहन मिलेको छ । मौसमी फूल खेतीलाई अझ व्यवस्थित बनाउँदै लान सक्यो भने देशको मुद्रा सञ्चित हुने साथै स्वदेशमै रोजगारीको अवसर प्राप्त हुनेछ । दशै, तिहार लगायतका चाडपर्वमा छिमेकी मुलुकबाट आयातित् फूलमा परनिर्भर हुनुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुन सकिन्छ । तथापी सरकारले सर्वसुलभ बिउबिजन, सरल कर्जा प्रवाह, सहज बजार व्यस्थापन गर्न भने आवश्यक देखिन्छ ।

    जलवायू परिवर्तनले पारेको प्रभाव 
    पृथ्वीको मौसममा आएको फेरबदललाई जलवायू परिवर्तन भनिन्छ । Climate Change Vulnerability Index (CCVI) का अनुसार विश्वमा जलवायू परिवर्तनको जोखिमका दृष्टिकोणले नेपाल चौथो स्थानमा पर्छ । जलवायू परिवर्तनले वातावरणमा असन्तुलन देखिएसगै मौसमी फूलहरुमा पनि यसको असर देखिएको छ । मौसमी फूलहरु निश्चित समय भन्दा अगाडि या पछाडी फुलिरहेको एक अध्ययनले बताएको छ । पृथ्वीको तापक्रम बढ्नु, अतिवृष्टि, अनावृष्टि हुँदा फूलको रङहरुमा परिवर्तन आएको विज्ञहरुको अनुमान छ । त्यस्तै, यस वर्ष मुस्ताङ, लमजुङलगायतका जिल्लामा चैतको शुरुमा फुल्नु पर्ने लालिगुराँस फूल माघको अन्तिमदेखि नै फुल्न थालेको थियो ।

    नेपालले ०६७ मा जलवायू परिवर्तन नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ । यद्यपी जैविक विविधता, भौगोलिक संरचना, कमजोर अर्थतन्त्र, जनचेतनाको कमी जस्ता विविध कारण जलवायू परिवर्तनको असर कम गर्ने प्रक्रिया कार्यान्वयन तथा कार्य प्रणालीमा तदारुपता देखिदैन । तीन तहको सरकारले जलवायू परिवर्तनको मुद्दालाई मूल प्रवाहमा ल्याउन अत्यावश्यक छ । फूल व्यवसायिहरुले रासायनिक मल र विषादीको प्रयोगमा नियन्त्रण गर्ने बेमौसमी र छोटो समयमा हुर्किने, फुल्ने फूल प्रजातिको विकास गर्न सके जलवायू परिवर्तनले पारेको प्रभावलाई न्यूनीकरण गर्न सहयोग पुग्ने देखिन्छ । ००००

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्