News Portal

  • हिँउ र हिमालले संसारलाई हँसाउँदा पनि…

    जनभेट संवाददाता२०८२ बैशाख २४
    १०२ पटक

    टंक पन्त
    हिमालपारिको जिल्ला मनाङ पुग्नका लागि कसैले योजना बनाएको छ भने त्यो साँच्चिकै जीवनका लागि ऐतिहासिक हुन सक्छ । किनभने मनाङ पुग्नासाथ जता फर्के पनि हिउँले भरिएका हिमाल देखिन्छन् । हिमालका रमणीय दृश्य जति हे¥यो त्यति रमाइलो र आनन्दको अनुभूति हुन्छ । त्यसैले पनि होला हरेक बर्षको चैत्रदेखि असोजसम्म ६ महिना मनाङका हरेक होटल र सडकहरुमा पर्यटकहरुको घुइँचो लागेको देखिन्छ । प्रत्येक बर्ष ४० हजार बिदेशी र दुई लाख बढी स्वदेशीले मनाङ जिल्ला प्रबेश गरी रमणीय हिमाल र प्रसिद्ध पर्यटकीय स्थलको अवलोकन गर्ने गर्छन् । पर्यटकहरु तिलिचो ताल हुँदै मुक्तिनाथ पुगेर पोखरा झर्ने गर्छन् । त्यो क्रम बढ्दो र लोभ लाग्दो छ ।

    नेपाल आफैमा अति सुन्दर र लोभ लाग्दो छ । हिमाल, पहाड र तराईका रमणीय ऐतिहासिक, मौलिक, सांस्कृतिक र प्रसिद्ध स्थलहरुले भरिएको नेपालका बिभिन्न ठाउँहरुको भ्रमण जति ग¥यो त्यति लोभ लाग्दा क्षण भेटिन्छन् । मनाङ पनि यस्तो जिल्ला जहाँ पुगेपछि केही समय फर्किन मन लाग्दैन । फर्किहाले पनि फेरि कहिले जाने होला भन्ने मनमा आइहाल्छ ।

    लम्जुङको सिमाना कट्नासाथ नासो गाउँपालिका प्रबेश गरिन्छ । पुल कटना साथ म्यार्दी जङ्गल भेटिन्छ । जुन म्यार्दी जङ्गल आफैमा ऐतिहासिक छ । बुढाबुढी वा केटाकेटी जो कोही पनि त्यो जङ्गलमा प्रवेश गर्छन्, त्यति रमाइलो मान्छन् । त्यसैले कसैकसैले खानेकुरा र पानी ओत्ने ओड्ने ओछ्याउनेसहित जाने अनि एक दुई दिन जङ्गलमै बिताउने गर्दा रहेछन् ।

    अचम्म त के छ भने जङ्गली जनावर पनि त्यो जङ्गलमा छन् तर ती जङ्गली जनावरले त्यो ठाउँमा प्रवेश गर्ने मान्छेलाई केही गर्दैनन् । किम्बदन्ती यस्तो छ कि पहिले–पहिले त त्यो म्यार्दी जङ्गलमा मान्छेहरु निकै दिन बस्न जाने गर्थे । म्यार्दी जङ्गल भित्र प्रवेश गरेपछि जति धेरै दिन बस्यो त्यति रमाइलो र आनन्द लाग्छ भनिन्छ । लम्जुङको बेशी शहरदेखि मनाङको सदरमुकाम चामेसम्म ६५ किलोमिटर मात्रै छ । चामेदेखि उपल्लो मनाङ पुग्न जम्मा डेढ घण्टा मात्र लाग्छ भने त्यहाँबाट तिलिचो पुग्न अर्को चार घण्टा । तर मनाङको रौनक उपल्लो मनाङ पुगेपछि मात्रै देखिदो रहेछ । प्रसिद्ध र ऐतिहासिक मिलारेपा गुम्बा स्मारक त साँच्चिकै लोभ लाग्दो रहेछ । हिमालको काखमा रहेको त्यो गुम्बाको ऐतिहासिक पृष्ठभुमिले सबैको मन लोभ्याउने मात्र होइन मनाङ पुगेपछि त्यो ठाउँ नपुगी फर्क्याे भने भ्रमण अधुरो हुने रहेछ । बिदेशी पर्यटकहरु पनि त्यो ठाउँमा प्रायः पुग्ने गर्ने रहेछन् ।

    मनाङ प्रवेश गर्ने बित्तिकै ठूलो चट्टान कटिङ गरेर खनिएको सडकको दृश्य पनि आफैमा रोचक र ऐतिहासिक छ । नेपाली सेनाले २०५९ सालदेखि २०६९ सम्म दश बर्ष लगाएर ठूलो चट्टान कटिङ गरेको रहेछ । ढंङ्गाको कोपबाट अगाडि बढेपछि ताल पुगिन्छ । सडकको तल हे¥यो मस्र्याङ्दी नदी कलकल बगिरहेको छ भने म्यार्दी भीरको त्यो बाटो लाग्दा ज्यान सिरिङ्ङ हुन्छ । सबै जिल्ला सदरमुकाममा सडक पु¥याउने त्यति बेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले घोषणा गरेपछि त्यो निकै अफ्ठ्यारो भीरको ढुंगा कोप्न थालिएको रहेछ । घुमाउरो सडक असाध्य मेहनत गरेर खोलिएको हुनाले त्यस क्षेत्रका बासिन्दाले गिरिजानाग भीरको बाटो पनि भन्दा रहेछन् ।

    प्रतिनिधि सभाका सांसद एवं पूर्वमन्त्री टेकबहादुृर गुरुङ, कर्मा गुरुङ, स्यानो लामा, पशुपति अधिकारी, पत्रकार साथीहरु सन्देश पौडेल, आश गुरुङ, नविन गुरुङसहित मनाङ प्रवेश गर्ना साथ केही दिन अगाडि सो जिल्लामा पहिलो पटक सार्वजनिक बस यातायातको पनि प्रारम्भ भएको थियो । नेपाली सेनाले ट्रयाक खोलेको १३ बर्षपछि बल्ल सार्वजनिक यातायातको शुभारम्भ हुँदा मनाङबासी जति खुशी थिए त्यत्तिकै सडक पक्की नभएकोमा चिन्ता पनि ब्यक्त गर्देै थिए । सरकारले सडक पक्की गर्न बजेट छुट्याएको छ तर इआइएले रोकेको कारण पक्की हुन नसकेकोमा मनाङवासी अत्यन्त चिन्तित देखिन्छन् । उनीहरुका अनुसार कहिले इआइएले रोकेको छ भनेको छ, कहिले अदालतले रोकेको छ भनेको छ । विकासको बाधक पक्ष को हो ?

    मनाङवासीका लागि अति नै लोकप्रिय सांसद टेकबहादुर गुरुङले इआइएका अधिकारी मात्र होइन वनमन्त्री, सचिव लगायतलाई पटक–पटक भेटेर बाटोको ट्रयाक खोलेको १३ बर्ष भैसक्यो । कहीँ पनि रुख कटान गर्नुपर्ने अवस्था नभएपछि किन अनेक बहाना बनाएर बिकास अबरुद्ध गरेको हो ? भन्ने प्रश्न गर्दा, छिट्टै भैहाल्छ भनेर उत्तर दिने तर काम नगर्ने प्रबृत्तिको शिकार मनाङवासी मात्र होइन पर्यटकीय स्थलको अबलोकन गर्न जाने स्वदेशी र बिदेशी पर्यटकहरु पनि भइरहेका छन् । बजेट छुट्याइए पनि सडक पक्की नहुँदा गणतन्त्र आएपनि ब्यूरोक्रेशी, न्यायालय, राजनीतिक दल र अन्य जिम्मेबार पक्षको कार्यशैलीमा रत्तिभर परिवर्तन नभएको अनुभुति हुन्छ ।

    त्यहाँको समस्या मनाङवासीको मात्र कुरा नभएर देशभरिका नागरिकहरुले पनि जिम्मेबार पक्षको कार्यशैलीमा कुनै परिवर्तन नभएको गुनासो सामाजिक सञ्जालमार्फत गर्ने गरेको देखिन्छ । तर सुन्नु पर्ने र गर्नु पर्नेले नगर्ने र नसुने जस्तो गरेकै कारण जति राजनीतिक परिवर्तन भएपनि बिकास र सुशासनको मामिलामा यस्तै रहेछ भन्ने आम नागरिकहरुमा पर्दैै गएको छ । मनाङ यात्रामा त्यस्तै गुनासो सुन्नु पर्दा लोकतन्त्रको ब्यबहारिक पक्ष अत्यन्तै कमजोर भएको झल्कियो नै ।

    मनाङमा धान फल्दैन, मनाङका खोला नदीमा माछा भ्यागुता, सर्प जस्ता किराकिरी पनि हुँदैनन् तर यार्चागुम्बा जस्तो बहुमूल्य किरा मनाङकै हिमालमा पाइन्छ । मनाङको शिरबाट बग्ने मस्र्याङ्दी नदीबाट चार पाँच वटा ठुला–ठुला हाइड्रोपावरले उज्यालो छरेको छ भने पानी फ्याक्ट्री, तातोपानी कुण्ड, लोभ लाग्दा झरणाहरु, मिलारेपा गुम्बापार्क, एउटै चट्टानको पहाड स्वर्गको द्वार जस्ता थुप्रै ऐतिहासिक र प्रसिद्ध स्थलहरुले भरिपूर्ण जिल्ला हो मनाङ । जता फर्कियो त्यतै हिउँले भरिएको हिमाल देखिन्छ जसले आँखा पट्यार लागुनजेल पनि हेरिरहूँ जस्तो हुन्छ । यस्तो देशमा जति यात्रा गर्देै गयो त्यति आनन्द हुन्छ ।

    चौरी गाई, च्याङ्ग्रा घोडाले सजिएको जिल्लाको सडक पक्की र स्तरोन्नति मात्रै हुने हो भने त्यहाँ फल्ने स्याउको बजारले निकै महत्व पनि पाउने थियो । सडक ब्यबस्थित हुनासाथ होटलहरु बढ्दै जाने थिए । त्यसपछि त बिदेशी पर्यटकहरु मात्र होइन स्वदेशी पर्यटकहरुको पनि ओइरो नै लाग्ने थियो तर मनाङको हुम्डे एयरपोर्ट पनि १२ बर्षदेखि बन्द छ । त्यसको रन वेको लम्बाई अन्तर्राष्ट्रिय बिमान स्थलको भन्दा धेरै लामो छ । कच्ची हुन्जेल एयरपोर्ट चल्यो तर जब त्यो एयरपोर्ट पक्की भयो त्यसपछि जहाज पनि उडाउन छोडियो । २५ करोड बढी लगानी भएको एयरपोर्ट बन्द हुँदा तिलिचो ताल पुग्न खोज्ने धेरै पैदल यात्री गाडीमा पनि हिड्न नसक्ने धेरै रोकिएका छन् । राजश्व पनि बृद्धि हुने र पर्यटन प्रबद्र्धन हुने कार्यमा सहयोग पुग्ने काम गर्न राज्यको इच्छा शक्तिको अभाब त्यहाँ पनि देखिएको छ । हुम्डे एयरपोर्टबाट उपल्लो मनाङ, ऐतिहासिक मिलारेपा गुम्बा पुग्न जम्मा ३० मिनेट लाग्छ भने त्यहाँबाट तिलिचो ताल पुग्न तीन घण्टा लाग्छ । हिड्न सक्ने पर्यटकहरु दुई –दुई वटा लौरो टेकेर हिडेको देखिन्छ ।

    बैशाख जेठको समयमा पनि चिसो हुने हिमाल पारीको जिल्लामा पर्यटकहरुको आकर्षण निकै छ त्यसैले सडकमा उनीहरुको लर्को नै देखिन्छ तर बाटो खराब भएकाले बाटोमा हिड्दा ती पर्यटकहरुले निकै धूलोको सास्ती भोग्नुपरेको छ । चामेसम्म भर्खरै सार्वजनिक यातायात सञ्चालनमा आएपनि स्कर्पियो जस्ता साना सवारी साधन केही बर्ष अगाडिदेखि नै चल्दै आएका छन् । चामेबाट उपल्लो मनाङ हुँदै तिलिचो पुग्ने बेस क्याम्पसम्म तिनै साना सवारी साधन चल्ने गरेका छन् तर उनीहरुले लिने भाडा मनलाग्दी छ । सडक नबन्दासम्म मनाङका नागरिकहरु १८ दिनसम्म हिडेर बेशी शहर डुम्रे पुग्ने गर्थे । मनाङका सांसद टेकबहादृुर गुरुङ पनि आठ बर्षको उमेरमा १८ दिन हिडेर डुुम्रे पुग्ने गर्नुहुन्थ्यो । उहाँ जस्तै हिड्ने थुप्रै नागरिकहरुको अनुभव निकै रोचक रहेको छ ।

    मनाङमा पहिले–पहिले त अदालतमा मुद्दा हुँदैन थियो भने कारागारमा कैदी पनि हुँदैन थिए । अहिले पनि त्यहाँको सिडियो कार्यालय, मालपोत नापी जस्ता कार्यालयका कर्मचारीलाई कसरी दिन बिताउने भन्ने हुन्छ । सरकारी कार्यालयमा सेवाका लागि आउने नागरिकहरुको संख्या निकै न्यून रहेको छ । करिब २० हजार जनसंख्या भएको जिल्लामा बृद्धबृद्धा र केही महिला एवं बालबालिका मात्र देखिन्छन् । काम गर्न सक्नेहरु कि त बिदेश गएका छन् कि त काठमाडौं लगायतका शहरमा छन् । चुनावका बेला ती मतदातालाई उम्मेदवारले आफै खर्च गरेर लैजानु पर्ने अबस्था छ । काम गर्न नपाएर दिन कटाउन गाह्रो हुने कर्मचारीलाई त्यो ठाउँको बिकास, पर्यटन प्रबद्र्धन, सांस्कृतिक बिकासका लागि समय खर्च गराउनेतिर कसैको ध्यान गएको देखिदैन, हुन त काम पनि नहुने बिकट जिल्लामा कर्मचारी सकभर जानपनि खोज्दैनन् ।

    जता फर्केपनि हिउँले भरिएको हिमाल देखिने गाउँमा जाँदा त्यहाँका लालीगुँरासको फूल र त्यो फूलको माला उनेर मनाङका महिलाहरुले गर्ने स्वागत साँच्चिकै अर्को लोभलाग्दो र अनुकरणीय पक्ष छ । त्यहाँका महिलाहरुको नेतृत्व बिकास र कमाण्डिङ पनि अर्को लोभलाग्दो मात्र होइन साँच्चै नै अनुकरणीय छ । बाहुन–क्षेत्री पनि नभएको मनाङबासीले बाहिरका नागरिकलाई जग्गा पनि सम्भव भएसम्म बिक्री गर्देैैनन् । तर लामो समय मनाङमै बसेर मनाङी युवतीलाई बिहे गर्ने बाहुन–क्षेत्रीको संख्या अति नगन्य रहेको छ । जे होस् मनाङमा केही कुरा पाइँदैन तर धेरै कुरा पाइन्छन् । त्यसैले राष्ट्र प्रमुखदेखि कार्यकारी प्रमुखसम्मका ब्यक्ति र उच्च अधिकारी पनि सो जिल्लाका सांसद वा नेतालाई कार्यक्रम मिलाउन लगाएर भएपनि पटक–पटक पुग्नै खोज्छन् ।

    पत्रकार साथीहरुले पनि एकसाता मनाङ जस्ता जिल्लाको भ्रमण गरे भने एक महिनासम्मलाई फरक–फरक मात्र होइन रोचक स्टोरी बनाउने गर्छन् । त्यसैले लम्जुङ, तनहूँ, गोरखा तथा कास्कीका पत्रकार साथीहरु समय–समयमा हिमाल पारिको जिल्ला मनाङको यात्रामा जाने गर्छन् । वास्तवमा राजनीतिक दलका नेताहरु, संबैधानिक तहदेखि हरेक निर्णायक ठाउँमा बस्नेहरुलाई समय–समयमा हिमालको हिउँसँग मितेरी लगाइ दिने हो भने सुशासन र सेवाभावमा पनि थप ऊर्जा मिल्ने थियो कि !

    (वरिष्ट पत्रकार टंक पन्त नेपाली पत्रकारहरूकाे अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) काे दक्षिण एशिया च्याप्टरका अध्यक्ष हुनुहुन्छ)

    tanka.panta@gmail.com

    प्रतिकृया दिनुहोस्