News Portal

  • बजेटमा युवाको अपेक्षा

    जनभेट संवाददाता२०८२ बैशाख २४
    १३३ पटक

    –खुश लामा
    नेपाल एक कृषि प्रधान देश हो । तर, नेपालमा पछिल्लो समय कृषि पेसा अँगाल्नेको संख्यामा भने कमी आएको छ । राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार दश वर्षभन्दा माथिका आधा अर्थात् ५०.१ प्रतिशत जनता कृषि पेसामा आश्रित रहेका छन् । पछिल्लो समय विदेशिने युवाको सङ्ख्यामा वृद्धि हुँदै जाँदासमेत तुलनात्मक रूपमा कृषि पेसामा युवाको आकर्षण राम्रै देखिएको छ । त्यसैका कारण होला बजेटमा कृषि र पशुपालनलाई समेत प्राथमिकतामा राखेको छ, जसले विदेशमा सिकेर फर्केको सिपलाई आफ्नै देशमा रोजगारीको अवसर सिर्जना गर्न खोजेको छ ।

    ‘अबको जीवन स्वदेशमै’ भन्ने नारासहित वैदेशिक रोजगारबाट फर्किएकालाई उद्यमशीलता विकास गर्ने र रोजगारीमा आबद्ध गर्ने, श्रम स्वीकृति स्थानीय तहबाट दिने, वैदेशिक रोजगारीको अवसर खोजिने लगायतका सरकारका योजना तत्कालका लागि राम्रै भए तापनि युवालाई स्वदेशमै रोजगार दिनुको साटो विदेश जानकै लागि हौस्याएको भान पर्न जान्छ । अब आगामी दिनमा सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको ग्यारेन्टी गरेर विदेश जानै नपर्ने अवस्था सिर्जना गर्नुपर्नेतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।

    विकास निर्माण तथा समाजसेवामा युवा स्वयंसेवक परिचालन गर्दा देशका महत्वपूर्ण विकास निर्माणमा युवाको सहभागिता सशक्त रहने र युवाको क्षेत्रमा कार्यरत संघ, संस्था परिचालन गरी आर्थिक, सामाजिक र सांस्कृतिक जागरण अभियान सञ्चालन गर्दा देशका संस्कृतिका विषयमा आमयुवालाई जानकारी हुनेछ ।

    साहसिक पर्यटनमा युवाको लगानी बढिरहेका बेला हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका साथै र्‍याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, अल्ट्रा म्याराथनलगायतका खेललाई प्रवर्द्धन गर्दै पूर्वाधार निर्माण गर्ने घोषणाले साहसिक पर्यटनमा युवा लगानी अझ भित्रिने अनुमान लगाउन सकिन्छ । देशका विभिन्न भागमा निर्माणाधीन क्रिक्रेट मैदान र रंगशाला निर्माणमा छुट्याएको बजेटले पनि युवालाई खेलप्रति अझ उत्साह थप्ने र अन्तर्राष्ट्रियस्तरमा समेत युवा खेलाडीको प्रतिनिधित्व हुनेछ । खेलकुदको तयारीका लागि प्रशस्त बजेट छुट्याएको भए पनि खेलाडीलाई प्रशिक्षणका क्रममा खर्च गर्नुभन्दा पनि चुहावट हुने विगतको परम्परालाई भने सरकारले ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।

     

    प्रतिकृया दिनुहोस्