
बासुदेव सेढाई
नेपाली काँग्रेसको तरुण दल, एमालेको युथ फोर्स, माओवादीको योङ कम्युनिस्ट लिग लगाएतका सबै राजनीतिक दलका भातृ तथा जनवर्गीय संघ संगठनलाई श्रम र उत्पादनसँग जोड्न सके मुलुकले आर्थिक सम्वृद्धि हासिल गर्न सक्छ ।
नेपाली युवाहरुलाई विभिन्न राजनीतिक दलमा विभाजन गरेर एक अर्काविरुद्ध उदण्डता, अराजकता, आन्दोलन, तोडफोड, हिंसा, गैरकानुनी काममा लाग्न प्रेरित गर्नुको सट्टा सबैलाई काम गरेर खाने संस्कार सिकाउन सके मात्र समाजको सकारात्मक रुपान्तरण गर्न सकिन्छ ।
देशका धेरै युवा रोजगार खोज्दै विदेश पसेका छन् भने देशमा भएकाहरुको अवस्था पनि खासै राम्रो छैन । गरिखाने वातावरण नबनेको र संस्कार सिकाउन नसकेकाले युवा शक्ति पलायन र देशमा भएकाहरु पनि कोही विकृतिमा फसेका छन् भने कोही दल र नेताहरुको झोला बोकेर जीवन निर्वाहमा छन् । राजनीतिक दल र नेताहरुको झोला बोकेपछि कालोलाई सेतो र सेतोलाई कालो भन्नुपर्ने बाध्यता हुन्छ, उनीहरुको चाकडी गर्नुपर्ने भजन गाउनु पर्ने हुन्छ, आफू भित्रको नवप्रतिभा र विचार बन्धक राख्नु पर्ने हुन्छ, दलहरुको स्वार्थ अनुकुल जे गर्न पनि तयार हुनुपर्छ, यस्तै परिस्थिति कायम रहे र गरिबी, बेरोजगारी, अशिक्षा, अज्ञानता रही रहे राजनीति गर्न सजिलो हुनेछ, यस्तो खालको राजनीति नेपालमा विकास भएको देखिन्छ ।
राजनीतिक दलहरु र तिनका नेताहरूले कहिल्यै सिकाएनन् श्रम गरेर खानुपर्छ, स्वाभिमानी बन्नुपर्छ, सक्षम हुनुपर्छ, ईमान्दार हुनुपर्छ, देशभक्त हुनुपर्छ भनेर । सिकाए त अराजकता, उदण्डता ।
राजनीति स्वार्थ रहित सेवा आफ्नो जीवन निर्वाह गर्ने वातावरण तयार गरेर बाँकी समय सेवामा खर्चिने हो । राजनीति व्यवसाय होइन यदि राजनीतिमा लागेर अकुत सम्पत्ति कमाएको छ भने त्यो राजनीतिक आवरणमा गरिने ठगी हो । भ्रष्टाचार र कमिसन तन्त्रमा चुर्लुम्म डुबेको मुलुकमा नैतिकता ईमानदारिताको खडेरी परेको छ ।
त्यसैले सबैलाई पसिना बगाएर ईमानदारीताको कमाई मात्रै खान उर्जा दिनुपर्ने छ। युवाहरुलाई त्यस खालको प्रशिक्षण आवश्यक छ । सबै राजनीतिक दलका सबै क्रियाशील सदस्य, जनवर्गीय र भातृ सङ्घ संस्था उत्पादनको अभियानमा जोडेर अगाडि बढौँ। उदण्डता, अराजकता, तोडफोड, शक्ति प्रदर्शनमा गर्ने शक्ति श्रम र उत्पादनमा खर्च गराउन सक्नुपर्छ ।
राजनीतिक दलहरु उद्योग धन्दा स्थापना, कृषि उत्पादन, जलविद्युत्, पर्यटन लगाएतका विकासका लागि प्रतिस्पर्धा गर्नुहाेस् बल्ल समुन्नत समाज निर्माण हुनेछ । (लेखक सेढाई ‘जन्मदिनमा वृक्षराेपण अभियान’ का अभियन्ता हुनुहुन्छ)