-सावित्री चौधरी
गाउँमा खिचराको (माघी) रौनक छाइरहेको थियो । पहिलो दिन मछुवारी । माछासाछा, घोंङ्हीसोङ्ही र मासुसासु लगायत अन्य खिर्चिमिर्चीको जोहो गर्ने दिन । छेङुरा सोचमग्न थियो । किनभने स्थानीय सरकारले नदीमा मछुवारी गर्न निषेध गरेको थियो । अब बजार बाहेक अरू विकल्प रहेन सबैको लागि । त्यसकारण छेङुरा पल्लो गाउँ हानियो एका बिहानै ।
साँझको समय । चिचर, घोङ्ही, माछा, मासु, रक्सी, ढिक्री, तील र मुरही भुजाको लड्डु आदिको बास्नाले टोलछिमेक मगमगाईरहेको थियो । बड्की गुन्यूँ चोलीमा सज्जिएर निस्किदै थिई सखिया नाच्न । कोरोनाको नयाँ भेरियन्ट आएकोे कारणले खिचरा महोत्सव सबै स्थगित थिए । तर टोलमा छौंडाछौंडहरूले माघी उत्सव मनाउन तयार थिए ।
नाच र रामरमाइलोमा बड्कीको मन बसिरहेका थिएन । बब्बाले फेरि कतै कम्मलहरी करार गरि दिने त हैनन् ? उनको मनमा बेस्कन चस्कका पस्यो । त्यहाँबाट ऊ सोझै घर आइन् ।
“नाही जाइबो बब्बा ! अब कम्मलहरी बस्न । कम्मलहरी प्रथा त नेपालबाट उन्मूलन भैसकेको छ ।”
“के गर्छौ त बेटी ? घरमा केही छैन । न जग्गा न जमिन । कम्मलहरी बनेर हात बटाएनौं भने छुटुका छुट्कीलाई कसरी पाल्ने ? साहू फेरि जाती छन् । तिमीलाई स्कुलमा पढाइरहेका छन् ।”
“जान्न अब, कम्मलहरी करार न गर्दिनुस साहूमहाजनको घरमा । म पन्ध्र बर्षको भइसकेँ । दावोसँग ज्यालादारी जान सक्छु । बरू रात्री स्कुल पढ्छु । मैले सोचिसके बब्बा !”
छेङुरा निःशब्द भए । गरिबी र कम्मलहरी चक्र तोड्न पाऊमा बाँधिएको गोडाई उतारी दिइन बड्कीले । त्यसपछि सखिया नाचको झंकार अलि प्रस्टै सुनिदै गयो ।
–कुशुन्ती, ललितपुर