-सुस्मा पन्त मैनाली
बालक जब यस धर्तीमा पदार्पण गर्छ, तब उसलाई गाँस, बास, कपास तथा उचित संरक्षणको आवश्यकता पर्दछ। जन्मदा बालक बोल्न, खान, हिँड्न जानेको हुँदैन । ठूलो हुँदै गएपछि आफ्ना बाबुआमा तथा परिवारका सदस्यहरूबाट उसले बोल्न, खान, हिँड्न आदि सिक्दै जान्छ । बालकलाई जन्म दिएपछि उचित पालनपोषण गर्नु बाबुआमाको कर्तव्य हो। यदि सन्तान जन्माएर पालनपोषण तथा शिक्षादिक्षा दिन सक्ने क्षमता वा अवस्था छैन भने सन्तान जन्माउन हतार नगर्दा नै राम्रो हुन्छ।
बालबालिकाको पहिलो विद्यालय घर हो भने पहिला गुरु बाबुआमा हुन्। बालकलाई बाबुआमा तथा घरका परिवारले जस्तो संस्कार दियो उनीहरूकाे बानी, व्यवहार, संस्कार उस्तै हुने गर्दछन् । ‘जग बलियो भयो भने घर पनि बलियो हुन्छ’ भने झैँ बालकले बाल्यावस्थामा आफ्नो घर परिवारबाट असल संस्कार पायो भने मात्र ऊ विद्यालयमा असल विद्यार्थी र जीवनमा सफल व्यक्ति बन्न सक्छ । घरमा असल संस्कार पाएको बालक विद्यालयमा पनि असल नै हुन्छ । त्यस्ता बालबालिकाहरूलाई आफन्त, छर छिमेक, शिक्षक तथा साथीहरुले पनि माया, सम्मानका साथै सकारात्मक दृष्टान्तका रुपमा लिन्छन् ।
आजका बालबालिका भोलिका कर्णधार हुन् । आजका कलिला बालबालिका भविष्यको राष्ट्र निर्माणका आधार हुन् । उनीहरूले आफ्नो बाल्यावस्थामा उचित संरक्षकत्व पाउनु अत्यन्तै आवश्यक कुरा हो । बालबालिका ठेस लागेर लड्दा होस् या कुनै असहज परिस्थिति आइपर्दा उनीहरूले आफ्ना बुबा आमालाई जति खुलेर आफ्नो भावना पोख्न अन्य कसैलाई सक्दैनन् । त्यो जति नै माया वा ख्याल गर्ने व्यक्ति किन नहोस् आफ्ना जन्म दिने बाबुआमा जस्तो कदापि हुनै सक्दैनन् । आमाबाबुले अङ्गालोमा बेरेर दिएको माया, स्नेह, ढाडस अरु कसैले दिनै सक्दैन । बालबालिकाको दुर्भाग्य भनौँ या बाबुआमाका बाध्यता भनौँ आजभोलि अधिकांश बाबुआमा आफ्ना कलिला बालबालिकालाई घरका परिवारका सदस्य वा विद्यालयको छात्रा आवासमा जिम्मा दिएर आफू विदेश वा शहरतिर काम गर्न हिडेको देखिन्छ । आफ्ना बाबुआमा बिना पीडामा रहेर बालबालिकाले समय बिताइरहेका हुन्छन् । हामीले हेर्दा बाहिर खुशी नै देखिए पनि त्यस्ता बालबालिकाको मनस्थितिमा ठूलो चोट पुगेको हुन्छ। उनीहरूले पल-पल एक्लो महसुस गरिरहेका हुन्छन्।
वर्तमान समयमा ग्रामीण भेगका कतिपय मानिसहरू हतारमा विवाह गर्छन्, हतारमै बच्चा जन्माउछन् । समय बित्दै जाँदा दम्पतीको विचार मिल्दैन, सजिलै पारपाचुके गरी आफ्नो आफ्नो बाटो समाउँछन् । सधैँ अर्काको बच्चाको जिम्मेवारी कसले लिने ? त्यसपछि त्यस्ता बच्चाको बिजोक हुन्छ, बिस्तारै त्यस्ता बालबालिका मानसिक रुपमा विक्षिप्त हुन्छन् र कुलतमा लाग्छन् । यस्तै समस्या भोगेका कायौँ बालबालिका आज सडकमा पुगेका छन् । त्यो सबै संरक्षकत्वको अभावमा भएको हो। विशेष गरी यस्ता घटना ग्रामीण भेगमा हुने गर्दछ। सहरी परिवेशमा अलि फरक छ । घरका परिवारका सदस्यहरूको व्यस्तता तथा उत्कृष्ट शिक्षा दिने लहडमा कयौँ अभिभावकले आफ्ना बालबालिकालाई शहरका महँगा छात्रावासमा राखेका हुन्छन् । बाध्य भएर विद्यार्थी छात्रावासमा बस्न विवश हुन्छ । कलिलो उमेर मै आफ्ना बाबुआमाबाट टाढिनु पर्दा बालकको कलिलो मनस्थितिमा ठूलो चोट पुग्न जान्छ। बिस्तारै उसले आफूलाई एक्लो महसुस गर्न थाल्छ । ति बालबालिकाहरू पढेर ठूलो व्यक्ति बन्लान् तर त्यस्ता बालकले बुढेसकालमा आफ्ना बुबाआमालाई प्रयाप्त माया र सम्मान दिन सक्दैन । उमेर बढ्दै जाँदा उनीहरुको पनि व्यस्तता बढ्दै जान्छ । उनीहरुलाई बाल्यावस्थामा आफ्ना बुबाआमाले सिकाए झैँ खुशी हुँदै प्रशस्त पैसा दिएर बाबुआमालाई सुविधायुक्त वृद्धाश्रममा लगेर राखी दिन्छन्। त्यतिबेला ति बाबुआमाले आश्चर्य अनि दुःख नमान्दा हुन्छ किनकी ती छोराछोरीलाई तपाईंहरुले नै त्यो संस्कार दिनुभएको हो अरूले होइन ।
छोराछोरीलाई जस्तोसुकै सुविधा सम्पन्न ठाउँमा राखे पनि आफ्ना बाबुआमालाई जति माया र चिन्ता अरूलाई कदापि हुँदैन। बाबुआमाको संरक्षकत्व अरु कसैले दिनै सक्दैन । कतिपय बालबालिका छात्रावासमा गलत संगतमा पर्ने गर्छन् । बिस्तारै कुलतमा लाग्ने हुन्छन् । अन्तमा उनीहरूलाई सुधार केन्द्रमा राख्न परेको उदहारण पनि प्रशस्तै छन् । कति किशाेरीहरुले छात्रावासमा असुरक्षित महसुस गरिरहेका हुन्छन् । छात्राबासभित्रै आत्महत्या गरेको समाचारहरु पनि सुनिने सञ्चारमाध्यममा आइरहेका हुन्छन् ।
बालबालिकाका लागि अभिभावकले दिन सक्ने सबैभन्दा ठूलो योगदान भनेको असल संस्कार हो । असल संस्कार पाएका बालबालिका शिक्षालगायत अन्य सबै क्षेत्रमा राम्रा नै हुन्छन् । सबै बालबालिकाको मानसिक क्षमता उस्तै हुँदैन । वंशाणुगत गुण र बाहिरी वातावरणले पनि उनीहरुको मानसिक क्षमतामा फरक पार्दछ । पढाइको कुरा गर्नु पर्दा सबै बालबालिकाको मस्तिष्क उतिकै तेजिलो हुन्छ भन्ने हुँदैन । मानसिक क्षमता कमजोर भएका बालकलाई तीक्ष्ण मानसिक क्षमता भएको बालकसँग तुलना गर्नु हुँदैन ।
अतः जस्तोसुकै परिस्थिति आएपनि आफ्ना छोराछोरीलाई आमा अथवा बुबाको संरक्षणमा राख्नुपर्छ । बालबालिकालाई बुबाआमाको संरक्षकत्वभन्दा महत्वपूर्ण कुरा अरु केही हुनै सक्दैन । उनीहरूलाई असल संस्कार दिनुपर्छ । बालकबालिका ठूलो भएपछि कस्तो बन्छ ? के बन्छ भन्ने कुरा उसको कर्मले नै निर्धारण गर्ने कुरा हाे ।