
-बासुदेव सेढाई / सीता सेढाई (परिकल्पनाकार/अभियन्ता, जन्मदिनमा वृक्षराेपण अभियान)
एक्लै जीवन असहज हुने हुनाले जीवनभर एकअर्काको दु:ख सुखमा सहयात्री बनेर साथ दिने बाचा कसम खाएर अग्नि साक्षी राखेर गरिएको सम्झौता हाे विवाह । पछिल्लो समय बढ्दाे सम्बन्ध बिच्छेद चिन्ताको विषय बनेको छ र हाम्रो सामाजिक मूल्य मान्यतामा पनि असर परेको देखिन्छ ।
अहिलेका युवापुस्ता विवाहलाई सामान्य केटाकेटीकाे खेल सम्झन्छन्, जिम्मेवारिबाेध गर्दैनन् । हाम्रो समाजले श्रीमान श्रीमतीलाई एक सिक्काका दुई पाटा र एक रथकाे दुई पाङ्ग्रा भनेर परिभाषित गरेको छ, यसलाई आधार मान्ने हाे भने श्रीमान श्रीमती बीचकाे सम्बन्ध कति महत्त्वपूर्ण छ विचार गर्नुस् त ! यसमा खटपट आउँदा घर बर्बाद हुन्छ । हिजाेका दिनमा केटाका बुबा आमा असल बुहारी खाेजी गर्दथे भने केटी पक्षकाले पनि सभ्य संस्कार भएको घरमा छाेरी दिन लालायित हुन्थे तर आज मागी विवाह हुन छाेडिसकेकाे छ, केटाकेटी आफैले राेज्ने गर्दछन्, विवाह अगाडिनै उनीहरुकाे सम्बन्ध जाेडिएकाे हुन्छ ।
अहिले केटाकेटीहरुकाे असल संस्कार, व्यवहार, गुण स्वभाव भन्दापनि रुप र धन सम्पत्तिमा केन्द्रित भएको देखिन्छ । रुपकाे सुन्दरता, धन सम्पत्ति हुनु राम्रो हाे, त्यसकाे सँगसँगै घर परिवारमा सुख र शान्तिकाे लागि असल संस्कारकाे गुण अत्यन्तै जरुरी छ । बढ्दो महत्वकाँक्षा र प्रतिस्पर्धाका वैदेशिक राेजगारीका कारणले एकअर्काकाे दुरी टाढा हुने त्यसमा बिश्वासकाे संकटले नकारात्मक भूमिका खेल्दा धेरै जाेडीहरुकाे घर उजाड बनेको देखिन्छ ।
धन सम्पत्ति कमाउने प्रतिस्पर्धा, शहरी बसाइँ र घर परिवारका अन्य सदस्यहरुकाे पालनपोषणलाई बाेझ सम्झने कारणले गर्दा पनि सम्बन्धमा खटपट देखिन्छ । पहिले २० जनाको परिवार एकैघरमा मिलेर बस्थे, एउटै भान्सा थियोे तर अहिले श्रीमान श्रीमती बीचमा पनि विचार नमिलेर सम्बन्ध बिच्छेद किन ? हाम्रो मनाेभावना कति साँघुरो भयो । महलमा बस्ने धनाड्यहरु पनि दुखी छन् तर एउटा झुपडीमा बस्ने सामान्य परिवार पनि खुशी र शान्ति देखिन्छ ।
त्यसैले, हर जाेडीलाई हाम्रो सुझाव जाेसँग सम्बन्ध जाेड्नुभयाे त्यै सम्बन्धलाई कसरी हुन्छ दिगाे र बलियो बनाउन लाग्नुस् । बढी ईच्छा र महत्वकाँक्षा नराख्नुस्, जे छ त्यसैमा रमाउनुस्, भाैतिक बस्तुकाे सुखभाेग भन्दा आध्यात्मिक चिन्तनमा लाग्नुस्।
सामुहिकतामा खाने बस्ने र रमाउने गर्नुस्, घर परिवार छिमेकी र ईष्टमित्रसँग साैहार्दपूर्ण सम्बन्ध बनाउने प्रयास गर्नुस्,आफू मर्दा छाेडेर जाने धनसम्पत्तिभन्दा आफू मर्दासँगै लैजाने ज्ञान गुण जस्ता धन कमाउन लाग्नुस्। प्रकृति वातावरण संरक्षण, प्राणी जगतको रक्षा, सर्वगुण सम्पन्न मानव बन्ने प्रयासमा अगाडि बढ्नु । शुभ भावना र शुभ कामना ।
(जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार अभियन्ता बासुदेव सेढाई र अभियन्ता सीता सेढाईले आफ्नाे वैवाहिक वार्षिकाेत्सव (फागुन ३० गते) का अवसरमा वैवाहिक जाेडीहरुकाे सुखद र सफल जीवनका लागि दिनुभएकाे अमूल्य सुझाव)











