News Portal

  • नायक बन्ने कि खलनायक ?

    बासुदेव सेढाईँ२०८२ फाल्गुण २६
    ४३ पटक

    –बासुदेव सेढाईँ
    भारतीय चलचित्र नायकमा एकजना कलाकारले खेलेको भूमिका अहिले नेपालमा दुईजनाले खेल्नुपर्ने अवस्था देखिएको छ तर चलचित्रमा होइन वास्तविक जीवनमा । समस्या चलचित्रमा देखिए जस्तै छन् त्यसको समाधानका लागि नेपाली जनताले कसैले नसोचेको दुई तिहाईको भारि जनमत दिएका छन् ।

    बालेन र रबिले मुलुकमा देखिएको तमाम विकृति विसंगति, कुशासन, भ्रष्टाचार र बिचौलियातन्त्र अन्त्यका लागि नायक चलचित्रको कलाकार जस्तै वास्तविकतामा उत्रिनु पर्नेछ । मुलुकको राष्ट्रिय स्वाधिनताको रक्षक बनेर स्वाभिमानलाई उच्च राख्दै स्थिरता, सुशासन, विकास र सम्मृद्धिमा मुलुकलाई दौडाउन पर्नेछ, जनमतको चाहनाले त्यही भन्छ । विगतका गल्ती कमीकमजोरी भएको भए आत्मसात गरेर क्षमायाचना गरेर, मातृभूँमिको माटो हातमा लिएर कसम खानुपर्ने अवस्था आएको छ।

    निर्वाचनको मतपरिणाम सार्वजनिक नहुँदै बजारमा आएका हल्ला र शंका उपशंकाले नेपाली जनताले फेरि निराश हुनुपर्ने अवस्था आउने होकी भन्ने चिन्ता छ यदि त्यस्तो भयो भने इतिहासले कहिल्यै माफ गर्ने छैन । झण्डै तीन दशक मुलुकमा शासन गरेका ठुला राजनीतिक दलहरु अहिले सत्ताबाट मात्रै लखेटिएका हुन् । रास्वपाले यो जनमतलाई धोका दियो भने तिनका नेताहरू देशबाटै लखेटिनुपर्ने अवस्था आउँछ । राष्ट्र र जनचाहना अनुसार मुलुकको आमूल परिवर्तन गर्ने जिम्मेवारीबाट न राष्ट्रिय स्वतन्त्र पार्टी भाग्न पाउँछ न यसले गर्न लागेको काममा अन्य राजनीतिक दलहरु र कर्मचारी संयन्त्र बाधक बन्न पाउँछ । हेक्का रहोस् स्थिरता, सुशासन र सम्मृद्धिका लागि नयाँ पुस्ताले गरेको भदौ २३ र २४ गतेको विद्रोह त्यसको जगमा बनेको सरकारले गराएको स्वच्छ निर्वाचनपछिको जनादेशलाई धोका दिने काम कहीँ कतैबाट भए त्यो त्यसका लागि नै घातक हुनेछ । नेपाली जनताको वर्षौदेखिको चाहना अब पुरा गर्नुपर्नेछ ।

    बाध्यताले विदेसिएका लाखौंलाख नेपाली युवाहरु स्वदेशमै गरिखान पाउने वातावरणको पर्खाइमा छन्, डाँडाकाँडा भ्यू टावरले हराभरा भएको देशले कृषि जलविद्युत पर्यटनको क्षेत्रमा लगानी खोजिरहेको छ । मानव अधिकार, सामाजिक न्याय, विधिको शासनको पर्खाइमा मुलुक छ। एउटा पार्टीको सरकार नभएर सबै नेपाली जनताको सरकार खोजी भइरहेका छ । राजनीतिको नाममा अकुत कालो धन कमाउने धन्दाको अन्त्य जनताले चाहेका छन् ।

    अनावश्यक प्रदेश संरचना, जिल्ला समन्वय समिति लगाएतका राज्यलाई ठुलो आर्थिक भार पारेका संरचना खारेज, अनावश्यक कर्मचारी कटौती, सार्वजनिक पद धारणा गरेका आफूलाई भिआईपपी भनिएकाहरुले लिएका सेवा सुविदामा कटौती, विषयविज्ञ र सानो मन्त्रीमण्डल, स्थानीय निकाएमा भएको अनावश्यक खर्च कटौति, भ्रष्टाचारमा सुन्य सहनशीलताको नीति अवलम्बन गरी सबै उत्पादनमा केन्द्रित हुनुपर्नेछ ।

    आफ्नो व्यक्तिगत स्वार्थका लागि पार्टी सिध्याउन समेत पछि नपर्ने एक खालका धमिराहरु पनि पार्टीमा हुन्छन्, ति मुलुक र जनताका दुश्मन हुन् तिनलाई बेलैमा चिन्नुपर्ने हुन्छ । मुलुक नयाँ युगमा प्रवेश गरेको छ, नागरिकमा उत्साह छ, त्यसलाई मूर्त रुप दिन दुई नायक बालेन र रविलाई सफलता मिलोस्, शुभकामना व्यक्त गर्छु । साथै नयाँ बन्दै गरेको बालेन सरकारलाई अग्रिम बधाई तथा पाँच वर्षे सफल कार्यकालको शुभकामना, पार्टीको जिम्मेवारीमा रवि लामिछानेलाई शुभकामना ।

    प्रतिकृया दिनुहोस्