
-प्रताप सुवेदी
मानिस कहिलेकहीँ वास्तविकता भन्दा आफ्ना सम्भावनाहरूको मृत्युमा बढी रोइरहेको हुन्छ । एकतर्फी मायामा पनि त्यही हुन्छ । एकतर्फी माया भनेको सम्बन्ध शुरूनै नभइ ब्रेकअपको पीडा महसुस गर्नु हो । मानिस उसलाई मात्र होइन, ‘हुन सक्थ्यो’ भन्ने सम्भावनालाई गुमाएर टुट्छ । मानिसको सबैभन्दा ठूलो पीडा आफूले चाहेको चिज नपाउनु हो । एकतर्फी मायामा मानिसले आफ्नो भावनाको संसार बनाइसकेको हुन्छ । जब की त्यो संसार यथार्थसँग मिल्दैन,मन भित्रै भाँचिन थाल्छ तर माया हुँदा मस्तिष्कमा डोपामिन र भावनात्मक रसायनहरू सक्रिय हुन्छन् । त्यसैले अचानक दूरी हुँदा मानिसले निकासी (withdrawal) जस्तो पीडा महसुस गर्न सक्छ ।
एकतर्फी मायाको सबैभन्दा ठूलो पीडा उसले अर्कैको हात समाउनु होइन, आफूले जीवनभर समात्न चाहेको हात कहिल्यै आफ्नो नभएको स्वीकार्नु हो । इतिहास, साहित्य र समाजमा पनि यस्ता पीडा धेरै देखिन्छन्, जस्तै Dante Alighieri को Beatrice Portinari प्रति एकतर्फी प्रेमलाई साहित्यमा प्रसिद्ध उदाहरण मानिन्छ । राधाले भगवान श्रीकृष्णलाई गरेको माया पनि एकतर्फी माया हो भन्ने चलन छ तर धर्मशास्त्र अनुसार त्यो एउटा भक्ति हो भन्ने गरिएको छ ।
मनोविज्ञान अनुसार जब मानिस कसैसँग भावनात्मक रूपमा धेरै जोडिन्छ, मस्तिष्कले त्यो सम्बन्धलाई महत्त्वपूर्ण आवश्यकता जस्तै मान्न थाल्छन् । दिनभर एउटै व्यक्तिको बारेमा मात्रै सोचिरहनु, मोबाइल, म्यासेज, अनलाइन स्ट्याटस् बारम्बार चेक गर्नु उसले रिप्लाइ नगर्दा अत्यधिक बेचैनी हुनु, खाना खान मन नलाग्नु, काम गर्न मन नलाग्नु, एक्लै बस्न मन लाग्नु, उबिना जीवनको अर्थ छैन जस्तो लाग्नु, सानो कुरामा धेरै आशा वा धेरै निराश हुनु , रातभरी निन्द्रा नलाग्नु, आफैप्रतिकाे सम्मान बिर्सेर बारम्बार पछ्याइ रहनु, काममा ध्यान नजानु, अत्यधिक इर्स्या वा अपनत्व पढ्नु, रुन मन लागिरहनु, अचानक मुड बदलिनु, म कसैका लागि महत्वपूर्ण छैन भन्ने भावना आउनु ।
यदि यस्ताे अवस्था धेरै गहिरो भयो भने, प्यानिक अट्याक, गम्भीर अवसाद आत्माग्लानी, वास्तविकताबाट टाढा जाने व्यवहार पनि देखिन सक्छ । एकतर्फी मायामा धेरैजसो गहिरोसम्म जाँदा भावनात्मक तनाव, मनमा अत्यधिक सोच, चिन्ता वा मानसिक चिन्ता वा डिप्रेिनको अवस्था हुन सक्छ ।
एकतर्फी मायामा जब मानिसमा अत्यधिक भावनात्मक दबाब, निराशा र अस्वीकृतिको पीडा जम्मा हुन्छ, तब मानिसहरूमा मानसिक तनाव, डिप्रेसन वा अनियंत्रित व्यवहार देखिन सक्छ। जब प्रेमको अस्वीकृति निरन्तर रहन्छ, मानिसको आत्मसम्मान घट्छ, उनीहरूलाई आफ्नो मूल्य वा भविष्यको अर्थ गुमेको जस्तो लाग्छ। केही अवस्थामा यो पीडा यति गहिरो हुन्छ कि मानिसले आफ्नो जीवनको अर्थ नै गुमेको ठान्न सक्छन्, जसले गर्दा आत्महत्या जस्ता दु:खद् निर्णयमा पुग्ने सम्भावना बढ्छ । त्यसैले, यस्तो अवस्थामा साथी, परिवार वा मानसिक स्वास्थ्य विशेषज्ञको साथ लिनु अत्यन्तै महत्वपूर्ण हुन्छ ।
एकतर्फी माया हुनु कमजोरी होइन तर आफ्नो सम्पूर्ण खुशी एउटै व्यक्तिमा मात्र बाँध्दा मन असन्तुलित हुन सक्छ । त्यो सम्बन्ध नबन्दा वा प्रतिक्रिया नआउँदा भित्र खालीपन उत्पन्न हुन सक्छ । एकतर्फी मायामा उसले अर्कैसँग सम्बन्ध गाँस्दा डिप्रेसन जस्तो महसुस हुन्छ वा मनले हारको अनुभव गर्छ । आत्मामा चोट पुग्नु, अस्वीकारलाई मानिसले आफ्नो मूल्यसँग जोड्न थाल्छ । मनमा उसको म्यासेज किन आएन ? भनेर अत्यधिक सोचाइ आउन थाल्छ । उसले किन बेवास्ता गर्यो ? म गलत थिएँ ? यस्तो निरन्तर सोचले मानसिक थकान बढाउँछ र भावनात्मक लगाव, एक्लोपन र मौन हुँदै जान्छ ।
संसारभर एकतर्फी मायाकै कारणले कति मानिसले आत्महत्या गर्छन् भन्ने ठ्याक्कै डेटा त नहाेला तर धेरै देशमा आत्महत्या सम्बन्धी तथ्याङ्क हेर्दा सम्बन्धमा समस्यानै पाइन्छ जसमा ब्रेकअप, भावनात्मक संकट र डिप्रेसन जस्ता समस्या बढी समस्याका रूपमा देखिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर प्रत्येक वर्ष करिब सात लाखभन्दा बढी मानिसले आत्महत्या गर्छन्, जसकाे मुख्य कारण सम्बन्ध टुट्नु, प्रेममा असफल हुनु, सम्बन्ध अस्वीकृत हुनु, एक्लोपन र भावनात्मक पीडा रहेकाे देखिन्छ । यस्ता समस्याहरूले गहिरो डिप्रेसन, आत्मसम्मानमा चोट र आत्मघाती सोच बढाउन सक्छ भन्ने अनुसन्धानले देखाएकाे पाइन्छ ।
एकतर्फी मायामा मानिस डिप्रेसनतिर जानुको मुख्य कारण केवल “मायामा असफल हुनु होइन, बरु अपेक्षा, भावनात्मक लगाव, अस्वीकारको पीडा र एक्लोपन हो । ‘म उसको खुशी बन्न सकिनँ, तर उसको खुशीको कामना गर्न चाहन्छु’ यही शायद साँचो एकतर्फी माया हो । एकतर्फी माया असफल हुँदा एकोहोरो बनाउँनु, कविता लेख्न मन लाग्नु, मौन रहन सिकाउँछ, आफ्नै मनसँग भेट गराउँछ, यसलाई धर्मशास्त्रमा भक्ति भनिन्छ । तर यदि प्रेमले आत्मसम्मान नै तोड्न थाल्यो भने त्यो प्रेमभन्दा बढी पीडा बन्छ । एकतर्फी माया धेरैजसो मनमै लुकाइन्छ । बाहिर हाँसे पनि भित्र खालीपन, बेचैनी, निद्रा नलाग्ने कुनै कुरामा मन नलाग्ने जस्ता अवस्था आउन सक्छन्। तर यदि लामो समयसम्म निराशा अत्यधिक उदासी, आत्मग्लानि, जीवनप्रति रुची हराउँदै जाने तथा आत्महत्या सम्बन्धी सोच आइरहेको छ भने त्यो गम्भीर मानसिक स्वास्थ्यको संकेत हुन सक्छ। त्यस्तो अवस्थामा भरोसायोग्य साथी, नयाँ नयाँ ठाँउ घुम्न जाने, सधैँ आफूलाई व्यस्त राख्ने र परिवार वा मानसिक स्वास्थ्य विशेषज्ञसँग कुरा गर्नु उपयोगी हुन्छ ।
एकतर्फी मायामा मानिस उसलाई गुमाएर मात्र होइन, आफूले कल्पना गरेको भविष्य गुमाएर पनि रोइरहेको हुन्छ । एकतर्फी मायालाई जबरजस्ती दुईतर्फी” बनाउन सकिँदैन किनभने माया कुनै आदेशले होइन, स्वतः जन्मिने भावना हो । यदि तपाईं कसैलाई मन पराउनुहुन्छ तर उसले तपाईंलाई चिनेको बुझेको छैन भने उसँग पहिले चिनजान र विश्वास बलियो बनाउनुहोस् । सामान्य कुराकानी, सम्मानजनक व्यवहार र उसका कुरा ध्यान दिएर सुन्नुहोस् । माया धेरैजसो मित्रता र भरोसाबाट बढ्छ, त्यसैले आफ्नो राम्रो पक्ष देखिन दिनुहोस् नाटक गरेर होइन, आफ्नो वास्तविक स्वभाव, इमानदारी, आत्मविश्वास, जिम्मेवारी, संवेदनशीलता र संकेत बुझ्नुहोस्, यदि मन पराएकाे व्यक्तिले कुरा गर्न रुची राखेकाे हुन्छ वा समय दिएर तपाईंप्रति जिज्ञासा देखाएकाे छ भने सम्भावना हुन सक्छ । यदि बारम्बार टाढा बस्ने, बेवास्ता गर्ने वा रूची नदेखाउने देखियाे भने पनि त्यसलाई सम्मान गर्नुपर्छ र उचित समय मिलाएर स्पष्ट तर सभ्य रूपमा भन्न सक्नुपर्छ । ‘मलाई तिमी मन पर्छ, मैले दबाब दिन खोजेको होइन तिम्रो भावना जे भए पनि म सम्मान गर्छु’ जस्ता भावनात्मक कुराहरूले सम्झाउनु काेसिस गर्नुपर्छ ।
यदि आफूले मन पराएकाे व्यक्तिले नचाएकाे हाे भने वा रूची नदेखाएकाे हाे भने त्याग गर्न सक्नु वा जान्नुनै प्रेमकाे परिपक्व रूप मानिन्छ ।दार्शनिक रूप (Philosophy of Love) ले प्रेमलाई ‘स्वतन्त्रताको सम्मान’ भन्छ । कसैलाई प्रेम गर्नु भनेको उसलाई आफ्नो बनाउन खोज्नु मात्र होइन, उसको स्वतन्त्र निर्णयलाई स्वीकार गर्न सक्नु पनि हाे ।













