News Portal

‘भर्चुअल’ शिक्षक बन्दैछ सामाजिक सञ्जाल

बालेश्वर साह२०८१ बैशाख ३०
२८० पटक

–बालेश्वर साह
मोबाइलमा यूट्यूब र अन्य सामग्री हेरेर घण्टौँ बिताउँछिन् लक्ष्मी साह । स्नातक पढ्दै गरेकी सप्तरी रूपनगरकी लक्ष्मी लोकसेवाको तयारी गर्दैछिन् । ‘बिहान क्याम्पसबाट फर्केपछि दिनभरी मोबाइलमा लोकसेवाका लागि पढ्छु । लोकसेवा तयारी कक्षा पढ्ने अरू उपाय गाउँमा छैन । शहर गएर पढ्न पैसा छैन,’ उनका कठिनाइ सजिला छैनन् । तर जाँगर र उत्साह चाहिँ छ ।

प्रविधिको सही प्रयोग गर्न जान्ने लक्ष्मी जस्ता कतिपय युवाका लागि किताबका साथै मोबाइल लोकसेवा तयारीको उपयुक्त अध्ययन सामग्री बनेको छ । लोकसेवा तयारी मात्र होइन, विभिन्न प्रकारका जीवन उपयोगी सीप सिक्न पनि मोबाइल र सामाजिक सञ्जाल प्रयोग गरिन्छ ।

कोही यूट्यूबमा कलेजका कोर्ष पढ्छन् भने कोही विभिन्न सीप सिक्ने कोसिस गर्छन् । टेलिभिजन, मोबाइल जस्ता विद्युतीय उपकरण मर्मत गर्न सामाजिक सञ्जालको सहारा लिने पनि छन् । सप्तरी, पिपराका रूपेश चौधरी बिजुली, प्रिण्टर, पानी तान्ने मोटर आदि सम्बन्धी समस्या यूट्यूब हेरेरै समाधान गर्छन् !

सबै युवामा चाहिँ यो बानी छैन । स्कूल, कलेज पढ्ने अधिकांश विद्यार्थी अचेल मोबाइलमा सामाजिक सञ्जालको दूरूपयोग गर्छन् । विभिन्न प्रकारका अनुत्पादक ‘रिल’ र ‘पोष्ट’ हेरेर र गेम खेलेर समय बिताउँछन् । यसरी नचाहिँदो कुरामा मोबाइल चलाएर बस्नेहरू मध्ये कतिपयलाई यसको नराम्रो लत समेत लागेको पाइन्छ ।

आमाले बोलाउँदा पनि झर्कने, फन्कने नरेश पोखरेल पढ्न त्यति मन गर्दैनन् । दिनभरी मोबाइलमा गेम खेलेर बस्ने सप्तरी भारदहका  नरेश बिबियस दोश्रो वर्ष पढ्दैछन् । घरको काम उह्राउँदा रिसाउँछन्, साथीहरूसँग सानो कुरामा पनि झगडा गर्छन नरेश । ‘मोबाइल चलाएर कुनै सीप सिकियो’ भनेर सोध्दा, आक्रामक जवाफ दिन्छन्, ‘म जेसुकै गरौँ तिमीलाई के मलतब ।’ थप केही सोध्यो भने कुट्लान् भन्ने डर !

सामाजिक सञ्जाल प्रयोगका हिसाबले लक्ष्मी, नरेश र रूपेश आजको युवा वर्गका प्रतिनिधि मात्र हुन् ।

भर्चुअल शिक्षक सामाजिक सञ्जाल
सूचना प्रविधिको आश्चर्यजनक विकाससँगै कम्प्यूटर, मोबाइल जस्ता विद्युतीय उपकरणको प्रयोग व्यापक भएको छ । हालैका वर्षहरूमा सामाजिक सञ्जाल प्लेटफर्महरूको उदयले शिक्षा लगायत हाम्रो जीवनका विभिन्न पक्षहरूमा गहिरो प्रभाव पारेको छ । जनसंख्याको ठूला भाग युवा रहेको नेपालमा सामाजिक सञ्जालको प्रभाव शिक्षा र सीप सिकाइमा पनि देखिन थालेको छ ।

जान्ने र सक्नेले सामाजिक सञ्जालबाट अनेक फाइदा उठाउँछन्, जस्तै, सिकाइका लागि स्रोतमा पहुँच, सञ्चार र सहकार्यको विस्तार, विश्वव्यापी सांस्कृतिक आदानप्रदान, आदि गतिविधिबाट फाइदा लिने गर्छन् ।

सामाजिक सञ्जालको एउटा महत्त्वपूर्ण फाइदा भनेको शैक्षिक स्रोतहरूमा पहुँचको सहजता हो । युट्युब, फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरू भर्चुअल कक्षा कोठा बनेका छन् । यी प्लेटफर्मले भिडियो, पोडकास्ट, ट्यूटोरियल र लेखहरूका रूपमा शैक्षिक सामग्री उपलब्ध गराउँछन् । कतिपय शिक्षक र विशेषज्ञले समेत विद्यार्थीलाई नियमित पढाउन र सीप सिकाउन सामाजिक सञ्जाल प्रयोग गर्छन् । इण्टरनेटमा पाइने यस्ता उपयोगी सामग्रीले, अन्य शैक्षिक स्रोतमा पहुँच नभएका नेपाली विद्यार्थीहरूकालागि सिक्ने राम्रो अवसर दिएका छन् ।

विश्वका विभिन्न ठाउँका विद्यार्थीहरू सामाजिक सञ्जालमार्फत् जोडिएर एकअर्कासँग सिक्न र सहकार्य गर्न सक्ने भएका छन् । अनलाइन समूह र छलफल गर्ने मञ्चहरूले नेपाली युवालाई भर्चुअल अध्ययन समूह गठन गरेर एक अर्काबाट सीप र ज्ञान सिक्न, विचार आदानप्रदान गर्न र शैक्षिक समस्याहरू मिलेर समाधान गर्न सहयोग पुर्याउँछन् ।

गुगल क्लास रूम, टिम्ज, जूम, एडमोडो जस्ता प्लेटफर्म शिक्षक र विद्यार्थीबीच प्रभावकारी सञ्चार बनेका छन् । यो बढ्दो कनेक्टिभिटीले गाउँ-शहर हरेक ठाउँका विद्यार्थी र शिक्षकलाई मद्दत गरेको छ ।

सामाजिक सञ्जालले युवाकालागि जीवन उपयोगी सीपहरू सिक्ने धेरैवटा प्लेटफर्म उपलब्ध गराएको छ । विद्यार्थीहरूले आफ्नो रूचि र क्यारियरको योजना अनुसार यस्ता प्लेटफर्म रोजेर सिक्ने र काम गर्ने अवसर पाएका छन् । फलस्वरूप, नेपाली विद्यार्थीहरूमा आत्म-निर्देशन, आलोचनात्मक सोच र स्वतन्त्र शिक्षामा विकास भैरहेको छ ।

सामाजिक सञ्जाल नेपाली युवाहरूकालागि विश्वभरका युवाहरूसँग विभिन्न तरिकाले अन्तर्क्रिया गर्न सक्ने माध्यम बनेको छ । संसारका विभिन्न भागका मानिसहरूसँग अन्तरक्रिया गर्दा उनीहरूको अध्ययन गर्ने दृष्टिकोण फराकिलो बन्न सक्छ, सांस्कृतिक जागरूकता बढ्छ र विश्वव्यापी मानसिकतालाई प्रोत्साहन दिन्छ ।

सामाजिक सञ्जालको व्यापक उपस्थितिले नेपाली युवामा प्राविधिक साक्षरता बढेकोछ । विभिन्न डिजिटल उपकरण र प्लेटफर्म चलाउन, तिनबाट काम लाग्ने कुरा सिक्न र लगातार विकसित भैरहने प्रविधिप्रति आफूलाई अनुकूलन गराइराख्न सजिलो भएकोछ ।

युनेस्कोको एक प्रतिवेदनअनुसार सामाजिक सञ्जालले शिक्षाको क्षेत्रमा क्रान्ति ल्याएकोछ । सूचनाको भण्डारमा पहुँच व्यापक वढाएकोछ र विद्यार्थीहरूबीच विश्वव्यापी सहकार्यलाई सहज बनाएको छ । एमआइटी, गुगल, माइक्रोसफ्ट, खान एकेडेमी र कोर्सेरा जस्ता प्लेटफर्महरूले नि:शुल्क शैक्षिक स्रोत उपलब्ध गराएका छन् । यस्ता स्रोतबाट जोसुकैले अनेक कुरा सिक्न सक्छ । यस्तो सिकाइकालागि शुल्क तिर्नु पर्दैन । शुल्क तिरेर सिक्ने प्लेटफर्महरू पनि इण्टरनेटमा उपलब्ध छन् ।

बढ्दो युवा जनसंख्या भएको यस बेलाको नेपाल विचित्रको अवस्थामा छ । यहाँ परम्परा र आधुनिकताको दोबाटोमा उभिएको नेपाली समाजका युवाहरू बुरूक्क उफ्रेर आकाश छुने चाहना राख्छन् । फेसबुक, इन्स्टाग्राम र टिकटक जस्ता सामाजिक सञ्जालको पहुँच विशेष गरी शहरी युवाहरूमा आकासिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको एउटा अध्ययनका अनुसार सामाजिक सञ्जालका सकृय प्रयोगकर्ता नेपालमा एक करोड भन्दा बढी छन् ।

सामाजिक सञ्जालको प्रभाव
फाइदा मात्र छैन प्रविधि र सामाजिक सञ्जालको । यसको प्रयोग राम्ररी गरिएन भने अनेक बेफाइदा पनि छन् ।

नेपाली युवाको शिक्षा र सीप सिक्ने प्रवृत्तिमा सामाजिक सञ्जालको प्रभावबारे विभिन्न अध्ययन भएका छन् । जर्नल अफ एजुकेसन एण्ड लर्निङमा प्रकाशित एक शोधपत्रले सामाजिक सञ्जालको अत्यधिक प्रयोगले नेपाली विद्यार्थीको पढ्ने बानीमा नकारात्मक असर पार्ने देखाएको छ । तर, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको एक अध्ययनले डिजिटल साक्षरता र आलोचनात्मक तरिकाले सोच्ने क्षमता बढाउन सामाजिक सञ्जालले मद्दत गरेकोछ ।

द गार्जियन नामक अन्तर्राष्ट्रिय अखबारले विश्वभरका विद्यार्थीहरूमा ‘डिजिटल विकर्षण’ को घटनाकाबारेमा एउटा प्रतिवेदन प्रकाशित गरेको छ । यो प्रतिवेदनका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगले विद्यार्थीहरूमा पढाइमा एकाग्रता कम हुने, परीक्षामा राम्रो अङ्क ल्याउन नसक्ने जस्ता समस्या देखिएको बताएको छ । यो अध्ययनको उल्टो, फोर्ब्स भन्ने अर्को प्रतिष्ठित प्रकाशनले ‘अनलाइन मेन्टरशिप कार्यक्रम’ र सीपमा आधारित समुदायहरूको उदाहरण दिँदै विद्यार्थीहरूलाई शिक्षक र उद्योगसँग सम्बन्धित विशेषज्ञहरूसँग जोड्न सामाजिक सञ्जालले मद्दत गरेको विश्लेषण गरेको छ ।

सामाजिक सञ्जालको अत्यधिक प्रयोगले एकाग्रतामा बाधा पुर्याउँन सक्छ, आफ्ना वरिपरी रहेका मानिसहरूसँग अफलाइन अन्तरक्रिया हराउँदै जान सक्छ र पढाइ तथा सिकाइमा नकारात्मक असर पर्न सक्छ । साथै, सामाजिक सञ्जालमा उपलब्ध जानकारीको विश्वसनीयता र गुणस्तर शंकास्पद हुन सक्छ । गलत सूचना तथा जानकारीले युवालाई  दिग्भ्रमित पारेर गलत बाटोमा जान प्रोत्साहन गर्न सक्छ ।

सन्दर्भ सामग्री :

1. https://www.theguardian.com/society/2023/jan/01/social-media-triggers-children-to-dislike-their-own-bodies-says-study

2. https://www.theguardian.com/media/2023/may/23/social-media-warning-kids-mental-health

3. https://www.forbes.com/sites/forbesnonprofitcouncil/2024/02/22/social-media-and-youth-mental-health-are-you-worried-yet/?sh=24b5356b510d

4. https://files.eric.ed.gov/fulltext/EJ1192878.pdf

5. https://www.medicalnewstoday.com/articles/youth-and-social-media

6. https://link.springer.com/chapter/10.1007/978-3-031-41869-3_1

@ रूपनगर क्याम्पस फिचर

www.theguardian.com

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्