–माेहनप्रसाद मैनाली
वसन्त ऋतु भन्नासाथ कसलाई मन नपर्ला र ? चैत र बैशाख वसन्त ऋतुको महिना हो । यस महिनामा वातावरण नै हरियाली हुन्छ । सबैतिर हराभराले वातावरण सुन्दर र मनमोहक बनाउँछ । शिशिर ऋतु र गृष्म ऋतुको बीचमा आउने ऋतु नै वसन्त ऋतु हो । वसन्त ऋतुलाई ऋतुहरुको राजा पनि भन्ने गरिन्छ । ग्रीष्म, वर्षा, शरद, हेमन्त र शिशिर ऋतु मध्ये वसन्त ऋतु सबैभन्दा पहिला आउने ऋतु हो ।
वसन्त ऋतुको महिना चैत र बैशाखमा प्रकृतिले छुट्टै किसिमको मुहार फेर्ने गर्दछ र प्रकृतिलाई सुन्दर बनाउँछ । वसन्त ऋतुको आगमनको पर्खाइमा बसेको म यो ऋतुको चैत महिना शुरु हुने बित्तिकै कम्ती फुर्किन्न । तिम्रो हरियाली र कोइलीको को हो ? को हो ? को मधुर ध्वनि म कहाँ बिर्सन सक्छु र ? तर मलाई थाहा छ दुई महिना पत्तै नपाई सकिन्छ र अर्को वर्षको पर्खाइमा मैले जीवनका धेरै भोगाइहरु पार गर्नुपर्छ ।
यो समयमा कृषकहरु बाली लगाउने तरखरमा हुन्छन् । जंगलका पुराना पातहरु झरेर नयाँ पालुवाहरु पलाउँछन् । वसन्त ऋतुको समयमा न गर्मी न जाडो, यो त प्रकृतिले दिएको स्वप्निल संसारको समय हो । लाग्छ यो समयमा स्वर्गका सारा अप्सरा र देवगणहरु पनि पृथ्वीमा आनन्द लिन आउने गर्छन् ।
प्रकृतिले मात्र होइन धर्तीमा रहेका यस गोलार्धका सबै प्राणीले पनि नौलो रुपमा काँचुली फेर्दछन् । वसन्त ऋतु सबैभन्दा राम्रो, रमाइलो र मनमोहक ऋतु हो । वसन्त ऋतुमा सबै बोटबिरुवाहरुको पुरानो पात झर्छ र नयाँ पात पलाउँछ, जताततै हरियाली हुन्छ । यो ऋतुलाई सबैले मन पराउने भएर नै यस ऋतुलाई ऋतुराज भनिएको हुनुपर्छ ।
जताततै बिरुवाहरुको पालुवाले बनाएको हरियाली मौसम वसन्त ऋतुलाई फूल फुल्ने मौसमका रुपमा लिइन्छ । शिशिर र ग्रिष्म ऋतुको बीचमा आउने वसन्त ऋतुको आगमनसँगै जताततै हरियाली देखिन्छ । चराचुरुंगीहरुको समधुर आवाजले प्रकृतिलाई थप रोमाञ्चित बनाइदिन्छ ।
वसन्त ऋतुले प्रकृतिलाई वहार ल्याइदिन्छ । न त धेरै गर्मी न त धेरै जाडो हुने वसन्त ऋतुलाई प्रकृतिले काँचुली फेरेको ऋतुको रुपमा पनि लिइन्छ । उजाड प्रकृतिलाई यो ऋतुले फक्राइदिन्छ । त्यही भएर नै हाेला जीवनमा सधैँ वसन्त छाओस् भन्ने हाम्रो भनाइ नै छ ।