News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • कथा : पर्दाभित्र

    सीता अर्याल२०८० चैत्र १७
    ५१ पटक

    –सीता अर्याल
    दिन ढल्किसकेको छ । पल्तिर जङ्गलको झ्याउँकिरीको आवाजले कान नै रन्किरहेछ । ‘स्विच अफ’ गरेर यो आवाज बन्द हुने भए केही समय पहिले नै गरिसकेकी हुन्थेँ सायद । कहिलेकहीँ त यस्तो किसिमको आवाजबाट परै बस्न पाए पनि केही त आनन्द हुन्थ्यो होला जस्तो लाग्छ ।

    डोर बेलको लामो कर्कश आवाज । बल्ल एकहुल पाहुना बिदा गरेर भर्खर भित्र पसेकी मात्र थिएँ। सारै थाकेको महसूस भैरहेकोले आराम गर्न चाहन्थेँ। केही बेर चैनले सुस्ताउन चाहन्थेँ।

    परिवारको सदस्य सबै घरमा नै छौँ । को आएको हुन सक्छ खै ? आफ्नै मनसँग कुरा गर्दै पदचापलाई धिमा गतिमा अगाडि बढाउँछु । म बाहिरै छु भनेर होला सायद मेरा श्रीमान्, छोरा, छोरी कोही पनि ढोका खोल्न निस्केनन्। ढोका सामुन्ने पुगेर पनि खोलौँ कि नखोलौँ ? दोधारमा नै यो मन बग्न थाल्यो । तर आगन्तुकको धैर्यताको बाँध फुट्छ र फेरि त्यही कर्कश आवाजले कानको जाली नै फुट्लाजस्तो हुन्छ ।

    ईसा मेरी बालसखा । हामीले स्कुल सँगै पढेका । अत्यन्तै मिल्ने साथी, नङ र मासु जस्तै । उनी मेधावी विद्यार्थी मध्येकी एक थिइन् ।अभिजात वर्गकी, निकै सम्पन्न परिवारकी छोरी । तर म सामान्य मध्यमवर्गीय परिवारकी छोरी थिएँ । खान त एक पेट खाएका थियौँ अपितु त्यही एक पेटको जोहो गर्न धेरै परिपञ्च मिलाउनु अनिवार्य थियो हामीलाई ।

    धारा-पँधेरा टाढै भएकाले पानी बोकेरै घरमा ल्याउनु पर्दथ्यो । भाइ बहिनीहरूको हेर विचार गर्नुदेखि लिएर लेखपढ गर्नु त छँदै थियो। मलाई फुर्सद कम हुन्थ्यो । तापनि ईसा म कहाँ आइरहन्थिन् । उनको घरमा अनेकौँ परिकार अर्थात् चौरासी व्यञ्जन छाडेर मकहाँ बासी मकैभटमास खान आइपुग्थिन् । सम्भ्रान्त परिवारकी चेली भए पनि मध्यमवर्गीय मानिसहरूसँग उनी निकै भिजेकी थिइन् र धेरै अनुभवहरू बटुलेकी थिइन् । हामी अगेना छेउमा बसेर आगोको तातो रापको रसास्वादन लिइरहेको बेला आमा ! आगो ताप्न पाइन्छ? भन्दै टुप्लुक्क आइपुग्थिन्। हामी खुसी नै हुन्थ्यौँ।यसरी मनभरि अतितका स्मृतिका पानाहरू फरर पल्टिन थाले।

    रूपमा चाहिँ ईश्वरको बरदान रहेनछ क्यारे त्यति राम्री होइनन् । होचो कद, काली-काली, छोटो कपाल तर फुर्तिली थिइन् । आफ्ना अभिभावकले मन नपराउँदा नपराउँदै पनि मकहाँ आइपुग्थिन् । तिनै ईसा वर्षौपछि आज मेरो घरमा आइपुगेकी थिईन्। धेरै वर्षहरू बिते, हिउँदहरुले नेटो काटे । एक किसिमले भन्नु पर्दा सम्झनामा मात्र थिइन् उनी । पुराना फोटो एल्बम पल्टाउँदा मात्र उनी स्मृतिको सँघार नाघेर आउँथिन् । आज उनै ईसा यथार्थमा सामुन्ने उभिएकी पाउँदा म आश्चर्यचकित हुनु स्वाभाविकै हो।

    ‘ऋचा ! आराम छ्यौ ? हातमा टपक्कै समातेर अगाध माया दर्शाउदै इसाले सोधिन् । ओहो तिमी ! कल्पना नै गरेकी थिइनँ आज यहाँ आउँछ्यौ भनेर। खुट्टै भुइँमा नटेकिएला जस्तो भयो हर्षले। दुबै जना बैठक कोठामा गएर गफ गर्न थाल्यौँ । अत्यन्त आल्हादित हुँदै गरेको गफ सुनेर मेरो श्रीमान् हामीतिर आउनुभयो। परिचय पश्चात् रमाइला, रमाइला कुराकानी गर्दैमा एक घण्टा बितेको पत्तै भएन।

    खाना खाइवरी रात धेरै नै छिप्पिदासम्म पनि गफै गरेर बस्यौँ। लगातार एक हप्ता हामीकहाँ बसेर गइन् । हाम्रो बसाइ एकै सहरमा भए पनि उनी मेरो घरमा आउँदा रातै बस्न रुचाउन थालिन्। मेरा साना छोरा-छोरी उनका निकै नजिक भए। चकलेटले उनीहरूलाई मोहनी लगाइहाल्थ्यो । मलाई आमा भनेजस्तै ईसाले पनि आफूलाई आमा भन्न सिकाएकी थिइन् । अबोध बालबालिकाहरूलाई के ज्ञान हुन्छ र ? जे सिकायो त्यही गर्छन्, भन्छन् । हामी दुबैलाई आमा भनेको सुन्दा समाजमा त अर्थको अनर्थ बुझ्न पनि सकिन्छ। अरूले जे अर्थ लगाऊन्, उनलाई कुनै पर्वाह नभए जस्तो लाग्यो।

    उनलाई पनि उमेरमा राम्राराम्रा घरहरूबाट विवाहको कुरा आएका थिए । एकुन्टा खोट लगाएर लघारेकी हुन् । “इसा! तिमीले के भनेकी ? त्यत्तिको केटा त उत्कृष्ट मानिन्छ, त्यो भन्दा कस्तो खोज्दछ्यौ रु” समयले कसैलाई पनि पर्खिँदैन, बगेको खोला फर्किँदैन। मैले सम्झाउने मनसायले आफ्नो राय प्रकट गर्थेँ ।

    “हेर ऋचा ! मैले पढाइलाई अझै अगाडि बढाउनु छ। अहिले विवाह गर्ने मेरो मुड नै छैन। चाहना पनि छैन । साँच्चै भन्ने हो भने मेरो मनले पनि त्यत्तिको केटालाई नराम्रो कहाँ ठानेको छ र ? आफूलाई नचाहिएको कुरा अर्थात् नजाने गाउँको बाटै नसोध्नू भनेर पो मैले वास्ता नगरेकी। मुहूर्त आएपछि मेरो पनि विवाह भै हाल्ला नि”।

    ईसा सङ्गीतप्रेमी पनि थिइन् । जब उनको आँखा खुल्थ्यो सुमधुर सङ्गीत गुञ्जिन थालिहाल्थ्यो। फलानो गायकको स्वर कति मीठासपूर्ण छ, ढिस्काना रचनाकारको गीत त तन्द्रामा लेखे जस्तो । उसको स्वर यस्तो, यसको लय उस्तो भनेर सङ्गीतप्रति दिलचस्पी राख्दथिन्।

    साथी बन्नु त ईसा र ऋचाको जस्तो पो भनेर उपमा दिने गर्दथे हाम्रा परिचितहरूले । हुन पनि एउटै गमलाका दुई थुङ्गा फूल सरह थियौँ हामी र त चिम्टाका दुई खुट्टी भै हिड्थ्यौँ। प्राय: हाम्रा परिधान पनि उस्तै उस्तै हुन्थे । उनी मूल्यवान् लगाउन पनि सक्षम थिइन् तर सौखिन थिइनन्। साधारण लगाउन रूचाउँथिन्। त्यतिबेला ईसा जस्ती साथि पाउनु संयोग र सौभाग्य दुवै हो जस्तो लाग्थ्यो मलाई।

    मेरो विवाहको हल्ला चलिरहेको थियो। हुनेवाला श्रीमानले मलाई भेटेर फर्किसक्नु भएको थियो । विवाहको मिति भने निश्चित भैसकेको थिएन । बाहिर गएकीले मैले ईसासँग सरसल्लाह पनि गर्न पाएकी थिइनँ । फर्केपछि थाहा पाइछन्, मकहाँ आएर धेरै रोइन् ।

    वास्तवमा सत्य कुरा बोल्नु पर्दा बिबाहको कुराले त्यतिखेरसम्म म रोएकै थिइनँ । उनी रून थालेपछि म पनि भावनामा बग्न थालेँ ।थोरै बोल्ने, धेरै कल्पना गर्ने गर्न थालेँ । धारा, पँधेरा, चौतारी जे देखे पनि निर्घात माया उर्लिन थाल्यो। आगन, पिँडी, चोटा, कोठा सबैतिर सुम्सुम्याउन मन लाग्यो। भाई, बैनीहरूलाई त झन् मुटुमा नै टाँस्न मन लाग्यो। मेरो अतित र बर्तमानप्रति म अत्यन्तै सन्तुष्ट र अनुगृहीत छु। तर भबिष्यको कुरा त म के भन्न सक्छु र ?

    अब मैले यो मेरो जन्मघर छोडने बेला भयो। मेरा जन्मदाता, भाइ-बहिनी, साथी-सङ्गी, अनि गाउँ नै छाडेर अपरिचित ठाउँमा जाने बेला भएछ भनेर झन् हृदय पग्लिन थाल्यो । त्यो दिनदेखि ईसाले मलाई छाडिनन्। विवाहको दिन निश्चित भयो । आखिर म रुँदै-रुँदै डोली चढेँ। सबैलाई रुवाएर एउटा अपरिचित घरमा भित्रिन पुगेँ । मेरा श्रीमान्ले धेरै माया दिनु भएकाले घरमा मलाई भिज्न सहज नै भयो । सबैले मलाई माया नै गर्दथे। माइती सम्झेर रूने मनलाई विस्तारै बुझाउँदै गएँ । त्यसपछि त ईसा र म पनि समयको गतिसँगै क्रमशः टाढा हुँदै गयौँ।

    ईसाले धेरै पढिन्। आफ्नो नामको अगाडि डा। उपाधि झुन्ड्याउने रहर पूरा गरेरै छाडिन् तर आश्चर्यको कुरा के थियो भने उनले न जागिरतिर मन दिइन्। न त विवाह नै गरिन्। समाजसेवामा चाहिँ निकै ब्यस्त थिईन्। उमेर भने घर्किदै गइरहेको थियो। दाजुभाई सरह उनले पनि पुर्ख्यौली सम्पत्ति पाएकीले पनि होला सायद ठूलो धन रासी कमाउने महत्वाकाङ्क्षी भईनन्।

    लामो समयको अन्तराल पश्चातको मिलनमा उनलाई उग्लिसकेको रूप र टोलाइरहने स्वभावमा पाएकी थिएँ, मैले। तापनि म कहाँ आउने क्रमचाहिँअलि बढी नै भैरहेको थियो। मेरा श्रीमान् पनि उनी आएको राम्रै ठान्नुहुन्थ्यो।

    ऋचा ! हेर त तिम्रो आँखा वरिपरि कस्तो चाउरी परिसकेछ, कति चाँडै बूढी भएकी ? तिम्रो कपाल पनि त फुल्न थालेछ। यस्तै यस्तै कुराहरूले खुबै झटारो हान्न थाल्नुभएको थियो मेरा श्रीमान्ले मलाई। आफूलाई त सोह्र बर्षे तन्नेरी जस्तो ठान्नु हुन्छ। म मनमनै मात्र भन्दथेँ। वहाँको कपाल त झन् तिलचामले भैसकेका थिए ।

    ईसा मेरो घरमा आएको बेला हप्ताको चार पाँच दिन नै बस्ने गर्थिन् । उनी आउँदा कोशेली स्वरूप केही न केही बोकेर ल्याउने गर्न थालिन्। कहिले केटा केटीको लागि कपडा लिएर आउँथिन्। एक पटक त मेरा श्रीमान् र मलाई पनि कपडा लिएर आएकी थिइन्। आफ्नो नजिकको आफन्त जस्तै आउने क्रम बढेको थियो। छोरा छोरी निकै झ्याम्मिई सकेका थिए, गुलियोको अगाडि मौरी झुम्मिए जस्तै।

    अचानक सुत्नेबेलामा श्रीमान्को हातको औँलाको नयाँ औँठी मेरा आँखामा ठोक्किन आइपुग्यो। घरमा भएको औँठी त होइन यो । अत्यन्त सूक्ष्म कुराहरू पनि सर- सल्लाह हुने गर्थ्यो। किनेको पनि थाहा पाइनँ। हात समातेर खुब हेरेँ। उहाँ मुसुमुसु हाँसिरहनु भएको थियो । म औँठीको बारेमा सुन्न ज्यादै उत्सुक थिएँ तापनि सोध्न सकिरहेकी थिइनँ । एक किसिमले नमीठो पनि लाग्यो। आज आएर औँलामा नयाँ औँठी लगाइसक्दा पनि मलाई कुनै जानकारी छैन ।

    मेरो मनको कौतुहलता धेरै बेरपछि मेटाई दिनुभयो। ‘तिम्रो साथी ईसाको उपहार’ मलाई चसक्क घोच्यो यो भनाइले ।बिश्वास गर्नै कठिन भयो।एउटी वयस्क महिलाले बयस्क पुरूषलाई सुटुक्क औँठी उपहार दिनुको अर्थ के हुन्छ ?

    औँठीमा ईसाको अनुहार देख्न थालेँ । एक मन त बलै त्यो औठी फुकालेर ऊ सुतेको कोठामा फाल्दिऊँ जस्तो लाग्यो । सम्हालिएँ। अपितु मुटुको गति तीब्र थियो । मन कोक्याईरहेको थियो । कतै मलाई तिमी बूढी भयौ, कपाल फुलिसक्यो भन्नुको पछाडि उनले कुनै अर्को बिकल्प त खोजेका होईनन् रु मनको खुत्रुकेमा शङ्कै शङ्काका सिक्काहरू थपिँदै गए। अबेरसम्म निदाउनै सकिन। म बिउँझिँदा त उषाको लालीले हिमाल चुम्न थालिसकेछ। मनभरि नानाथरीका कुराहरू र तिखो ग्लानीबोधले शरीर भारि भएको थियो । ईसा सानैदेखिकी मिल्ने साथि भएपनि अव मेरो घरमा नआए पनि हुन्थ्यो भन्ने लाग्न थालेको थियो मलाई।

    ए ऋचा ! उठ्यौ ? यस पटक तिमीहरू दुबैलाई मेरो चिनो ल्याई दिएकी छु। सुब्रतजीलाई हिजै दिएँ। तिमीलाई दिनै बिर्सेछु भन्दै मलाई पनि साहिली औँलामा उनैले राम्रो औँठी लगाईदिईन्। म आश्चर्यमा परेँ। यतिबेला मेरो मनभरिको आक्रोस र सन्त्रासको गुजुल्टो उनैले फुकाईदिईन्। अर्थात मनको शङ्कालु कसिङ्गरलाई औँठीरूपी प्रेमिल कुचोले सिनित्त बढारिदिइन्। खडेरीले सुकेको विरूवाले पानी भेटे जस्तै बौरियो मन।

    हिजो मैले अर्कै सोचेकी थिएँ। आजको व्यवहारले फेरी अर्कै सोच्न विवश भएँ। यत्रो दुःख किन गर्नु पर्दथ्यो रु आवस्यक थिएन नि,मैले भने। घ्यु कहाँ पोखियो-भागमा, के भयो त ? म आइरहने, दुःख दिने मात्र के गर्नु त ? यहाँ आउँदा मलाई धेरै रमाइलो लाग्छ । मेरो सानो कोसेलीलाई तिमीहरूले इन्कार नगर। अन्यथा मेरा लागि तिम्रो घरको ढोका बन्द गरे जस्तो लाग्छ। मेरो कुरा भुईँमा खस्न नपाउँदै उनले त्यसो भनिन्। म चुप लाग्न बाध्य भएँ ।

    आइमाईहरू शङ्कालु हुन्छन् भन्छन्।मेरो शङ्का पनि शङ्कै मात्र भए त हुन्थ्यो नि। एक दिन त उनी सुब्रतको अफिसमा नै गइछन् । दुबैले बाहिर नै खाना खाएर आए । राति अबेरसम्म गफगाफ गरेर सुते । उनिहरू कहिले राजनितिको कुरा गर्थे। कहिले प्रेम प्रणयको साथै गाउँ घरको बेथितिको गफ गर्न भ्याउँथे। आकाश पातालका गफ पनि गर्थे। मलाई पट्यार लाग्थ्यो। म खाली श्रोतामात्र हुन्थेँ। हिजोआज उनिहरूको नजिक बसेर चोचोमोचो मिलाउन पनि झर्को लाग्न थालेको छ मलाई।

    म कौसीमा भएको फूलका गमलामा पानी सिन्चन गरिरहेकि थिएँ। मेरी छिमेकीले ईसाको विषयमा नालीबेली सोधिन्। कति चासो चाहिएको होला अर्काको भन्ने जस्तो लागेको थियो। विवाह नगरेकी मान्छे दोजिया छन् रे पनि भन्न भ्याएकी थिइन् । त्यसपछि मेरो मनमा शङ्काको अग्लो धरहरानै ठडियो उनलाई अझै गहिरिएर हेर्न र सोच्न थालेँ ।

    मेरो माईतमा बहिनीको विवाहको दिन धेरै नजिक आइसकेको थियो । पहिलेदेखि नै सपरिवार निम्ता मान्न जाने भन्ने सल्लाह थियो हाम्रो । तर छोरा छोरीको स्कुलमा अन्तिम परीक्षा त्यतिबेलै पर्न गएकाले ममात्र जाने निधो भयो । इसालाई पनि निम्तो थियो। मैले उनलाई धेरै कर गरेँ। उनी अनेक बहाना बनाएर जान मानिनन्। बैनीको लागि उपहार मसँग पठाईन्। अत्यन्त भारी मन लिएर म एक्लै माइत गएँ ।

    मनभरिका अशान्तिले होला सायद कहिले घर फर्कुँ जस्तो भैरहेको थियो। मेरा लागि मिनेट पनि घन्टाभन्दा लामो भैरहेको थियो। दुलही अन्माएको भोलिपल्टै घर फर्कन मैले ईच्छा व्यक्त गरेँ आमासँग जेठी छोरी, अलि दिन बसिदिए हामीलाई धेरै रमाइलो हुन्थ्यो। बहिनीलाई पनि अन्माई हालियो । ‘घरै रित्तो भएको छ’ भन्दै हुनुहुन्थ्यो। बुबाले पनि अपहत्ते गर्नुभएको थियो। आफ्नो मनको संसार नै अँध्यारो हुनाले म बस्नै सकिनँ । मलाई समयरूपि सिस्नुले पोल्न थालिसकेको थियो। कहिले घर पुगुँला जस्तो अत्यास लाग्यो । सबैसँग बिदाबादी भै फर्किएँ।

    हृदयमा खुल्दुली र डरका लहरहरू उठिरहे। गरूँङ्गो मन लिएर आँसुका धारासँगै बस चढेँ । बाटो अत्यन्त जाम भएकोले बसहरू कत्ति पनि सरिरहेका थिएनन्। मन त्यसै पाकिरहेको थियो। भाग्य पनि कस्तो होला मेरो। आजै बाटोमा यति धेरै बेर रोक्किनु परेको । चार घण्टाको बाटो आठ घण्टा लगाएर बल्ल–बल्ल बस पार्कमा झरेँ र ट्याक्सी लिएर छिट्टै सुइँकिने विचार गरेँ । संयोगले ट्याक्सी छिट्टै पाइयो पनि । त्यति हुँदाहुँदै पनि घर आइपुग्दा रातको आठ बजिसकेको थियो।

    घरको चारैतिर मौनता व्याप्त थियो । हिउँदका छोटा दिन। आठ बज्दा त सिरकभित्रै न्यानो हुने मौसम। गेटमा साँचो लगाई सकेको रहेनछ। खुरूखुरू भित्र पसैँ । मूल ढोका बन्द थियो । हाम्रो कोठाको पर्दा चार अङ्गुलजति खुल्ला रहेछ।

    घर भुईँतले भएकोले झ्याल बाहिरबाट बोलाउन सजिलो थियो। मधुरो बत्तीको प्रकाश देखिएकाले म त्यहीँ पुगेँ। बिस्तारै झ्यालबाट बोलाउने विचार गरेँ तर त्यहाँको अकल्पनीय र अस्वभाविक दृष्यले छानाबाट खसेजस्तै खङ्ग्रङ्गै भएँ । धर्ती सबै भासिए जस्तो भयो। चारै अङ्गुल पर्दाबाट पनि कोठाभित्रको सारा संसार छर्लङ्गै देख्न सकिन्थ्यो। ईसा र सुब्रत अत्यन्त अस्तव्यस्त अवस्थामा थिए। ईसाको पेटमा सुब्रतको हात थियो। जसरी मेरो पेटमा बच्चा चल्दा सुब्रतले छाम्ने गर्दथ्यो त्यसरी नै ईसाको पेट छाम्दै बच्चाको चल्मलाहटको अनुभूत गरिरहेको थियो ।   –गोरखा बजार,  हाल : म्याडिसन, अमेरिका

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्