News Portal

  • कथा : समय

    शनिबार साहित्य

    जनभेट संवाददाता२०८० चैत्र २४
    ९२ पटक

    –अर्जुन थापा
    म एउटा ठूलो खाल्डोमा कैद गरिएको छु । त्यहाँ उज्यालोको कुनै निशाना नै छैन । म कहीँकतै उज्यालो भेटिन्छ कि भनेर खोज्न थाल्छु । आफ्नो शरीरमा, खाल्डाका भित्तातिर, सतहतिर चिच्याउँछु र सोध्न थाल्छु उज्यालो अर्थात् त्यस खाल्डोबाट निस्कने बाटाहरू । त्यसपछि मलाई शंका लाग्न थाल्छ उज्यालोप्रति । उज्यालो मेरो गलत बोध हो । मैले अब अन्धकारलाई स्वीकार्न पर्छ । अचानक ममा विद्रोहको भावना उठ्न थाल्छ । म आतुर भएर हातले भित्तालाई हिर्काउन थाल्छु ।

    अलरामको आवाजले झल्याँस्स ब्युँझन्छु ।

    ओहो ! कस्तो डरलाग्दो सपना देखेछु । यसो छाम्छु लुगा पसिनाले निथ्रुक्क भिजिसकेछ । कस्तो डरलाग्दो सपना । कहिल्यै छोड्ने भएन यस्ता ताल न तुहीका सपनाहरूले । कसैले केही बिगार पो गर्देको छ कि यस कोठामा । छ्या म पनि के भएको होली । यसरी सोच्नु हुँदैन बेकामका कुराहरूले बौलाउन बेर छैन । आफूलाई स्वाभाविक बनाउन सक्दो कोसिस गर्छु तथापि मन एउटा निष्कर्षमा नपुगनी छोड्दैन । होइन भएको चाहिँ के छ मलाई अचेल ? कुनै अनिष्ट हुन लागेको संकेत त होइन ? झन् छोरी अमेरिका पढ्न गएदेखि यस्ता कुराले सताउन थालेका छन् । म आफू नै कमजोर भएँ भने त सक्किहाल्यो नि !

    कस्ताकस्ता दुःखकष्टलाई पराजय गर्दै । यो मतलबी समाजसँग लाप्पा खेल्दै आजको दिनसम्म आइपुगेकी छु । के थियो र आजभन्दा चालिस वर्ष अगाडि मेरो आफ्नो भन्नु सिवाय छोरीबाहेक । घर र समाजको विरुद्धमा गएर हामीले सुटुक्क मन्दिरमा गएर विवाह गरेका थियौ । हामीले विवाह गर्दा छोरी पेटमा बसिसकेको थिई । जब म पर नसरेको चार पाँचमहिना भइसकेपछि घरमा भन्दा बुबाले मेरो मुख हेर्न छोडेको अझै याद आउँछ । हाम्रो विवाह हुन नदिन घरबाटै कति कदम उठाउँदा पनि म अलिकति पनि पछि नहटी बसीराखे मात्र हाम्रो प्रेमलाई सफल बनाउन ।

    बिचरी मेरी आमाले विवाह अगाडि छोरीले बच्चा बोकेको कुरा आफन्तहरूले थाहा पाउँछ भनेर केके मात्र नाटक गरिनन् । हाम्रो विवाह भएको चार महिनामा छोरी जन्मेकी थिई । त्यसपछि समाजबाट एक्लिएर हामी तीनजना काठमाडौँ आएका थियौँ । अन्जान सहरमा चार महिनाको बच्ची त्यसमा हामी दुईको केही कमाउने बाटो नहुँदा । दुःख भनेको जब पर्न थाल्छ अनि एक पछि अर्को गर्दै आउँछ भने झैँ काठमाडौँ आएको केही समयमा नै ऊ पनि पढाई पुरा गर्छु भनेर लन्डनतिर लाग्यो । अहिले आएर बुझ्दैछु कि, ती सब उसको आमाबाबुले हामी दुईलाई अलग पार्न र समाजबाट जोगिनलाई ती सब प्रपञ्च रहेका रहेछन् भन्ने ।

    उमेर थियो र आफूप्रति पूर्ण विश्वास थियो ती सबका अगाडि गरेर देखाउँछु भन्ने । लुकीलुकी भएपनि आमाको सपोर्ट थियो । बस् मलाई अरू के नै चाहिन्थ्यो र ! साँझ बिहान पढेर, काम गर्दै छोरीलाई राम्ररी नै हुर्काए । सिंगल मदर भएर पनि समाजका गालीहरूलाई पैतलामुनि पारेर आज त्यही समाजको अगाडि त्यही व्यक्तिहरूलाई उनीहरू कति गलत रहेछन् भन्ने आत्मबोध गराउन सफल भएकी छु । जुन व्यक्तिहरू मेरो सामुन्ने पर्दा साइत पर्दैन भनेर अर्कै बाटो हिँड्थे भने आजतिनीहरूकै घरमा मेरो एक पाइला परे पनि पवित्र हुन्छ जस्तो गर्छन् । आज त्यही समाजले मेरो उदाहरण लिने गर्छन् ।

    एउटा नारीले चाहेमा के मात्र गर्न सक्दैनन् भन्ने यी घृणित, स्वार्थी समाजलाई हामी दुई आमाछोरीले देखाउन सफल भएका छौँ । एउटा नारीले उसको लोग्नेविना पनि आफ्ना बच्चाहरूलाई सही शिक्षा राम्रो संस्कार दिन सक्छे भन्ने प्रमाणित गरिदिएको छु मैले । आज कलेज टप गरेर अमेरिकाको कलेजमा फुल स्कलरसिपमा पढ्दैछे मेरी छोरी । हो, म आज घमण्ड गर्छु आफैँप्रति र छोरीप्रति पनि । र ती सबजना जसले मलाई तिरस्कार गरे, घृणा गरे, हेँला गरे धन्यवाद दिन चाहन्छु । आज तिनीहरूकै कारण मलाई आफू बलियो हुनलाई प्रेरित ग¥यो । केटा मान्छेको साथविना महिलाको केही चल्दैन । सिंगल वेमन भएर बाँच्न गाह्रो छ भन्ने मान्छेको मुखमा बिर्को लगाउन सफल भएको छु म आज ।

    चौध महिनाको छोरीलाई छोडेर गएको थियो उसले । आजको दिनसम्म न उसले न उसको फेमिलीले कुनै शोधखोज गरे । न हामीले नै जान्न खोज्यौँ उनीहरूलाई । बाबु भने नि आफन्त जोजो भने नि सबै म मात्र हो भन्छे छोरी मलाई ।
    ‘हेल्लो ममु, हाउ यु डोइङ ?’ भिडियो च्याटमा देखा पर्छे छोरी ।

    ‘आई एम गुड के छ तिम्रो ? यु लुक सो ह्याप्पी टुडे ?’

    ‘एस, ममु । आई एम सो ह्याप्पी, योर ड्रिम्स विल बि फुलफिल्ड भेरी सुन । आई गट सेलेक्टेड इन भेरी गुड कम्पनी एन्ड एन्ड … ’
    ‘एन्ड ह्वाट ? प्लिज टेलमि, आई एम सो सिरियस ।’

    ‘ममु, आई एम इन लभ । योर्स स्वीट डटर इज इन लभ ममु ।’

    ‘रियल्ली ? आई एम सो ह्याप्पी डियर । मेरी छोरी पनि अब ठूली भइछ ।’

    ‘हि इज सो नाइस, कियरिङ, लभेवल पर्सन ।’

    ‘गुड कहिलेदेखि हो नि मेरी छोरी प्रेममा परेकी ? म तिम्रो आमामात्र नभएर आई एम योर बेस्ट फ्रेन्ड टू डियर । यु डन्ट निड टु हाइड एनिथिङ । यु क्यान सेयर मि ह्वाटइभर यु लाइक ।’

    ‘एस, आई नो मम । यु आर द स्वीटेस्ट मम इन द वल्र्ड । आई लभ यु सो मच ममु ।’

    ‘लभ यु टू डियर । मलाई पनि अब हुनेवाला ज्वाइँको फोटो देखाउँदैनौ त ?’

    ‘अफकोर्स ममु अब फोटो होइन कि मान्छेसँग नै भेटाउँछु नि ! मामु एउटा कुराचाहिँ हजुरसँग लुकाएको थिएँ मैले । त्यो के भने ऊ मभन्दा एजले सिनियर ! बट मामु हिइज सो डिफ्रेन्ट । हजुरले भेट्नुभयो भने यु विल प्राउड अफ मि ।’

    ‘मलाई थाहा छ । तिम्रो च्वाइस कहिल्यै मिस्टेक हुने छैन भन्ने ।’

    ‘मामु, हामी दुई वर्षदेखि लिभिङ टुगेदरमा छौँ । मैले उसको सबै बुझेर नै ऊसँग विवाह गर्ने डिसिजन लिएको छु । अब हजुरले यहाँ आएर ओके भनेपछि मात्र म विवाह गर्नेछु ।’

    ‘तिम्रो निर्णयप्रति मलाई पूर्ण विश्वास छ छोरी । त्यही पनि तिम्रो चाहना छ भने आई विलकम ।’

    ‘थ्याङ्क यु सो मच मामु । लभ यु सो मच ।’

    ‘लभ यु टू । मिस यु अलट ।’

    समय भागेको थाहा नहुने रहेछ । मोडमोडमा जीवनका गतिहरू दौडिँदै गएको थाहा हुँदैन रहेछ । प्रत्येक क्षण अनुहारमा पर्दै गएको चाउरीपनाको ख्याल नै नगरिँदो रहेछ । आज छोरी आफैँले आफ्नो जीवनसाथी खोज्न सक्ने सक्षम भई पनि सकिछे । भगवान मेरो जस्तो दुःखचाहिँ उसले कहिल्यै भोग्न र देख्न नपरोस् । हुनेवाला लोग्नेबाट सधैँसधैँ माया पाइराखेस् ।
    ‘मामु, मैले टिकेटको इटिनिरी मेल गरिदिएको छु । हजुरलाई लिन हामी दुईजना नै एयरपोर्टमा आउँछौँ । हुने वालाज्वाइँलाई त्यही नै भेट्नुहोला ।’ छोरीको मेसेज आउँछ ।

    मान्छेको सम्बन्ध पनि कस्तो अचम्म । छोरीले नभनुन्जेलसम्म कोको थियो भने आज हुनेवाला ज्वाइँ भन्ने बित्तिकै कति प्यारो र माया लाग्ने । प्लेनको झ्यालबाट हेर्छु । बाहिर छोरीज्वाइँ मलाई नै कुरिराखेका होलान् । छोरीभन्दा पनि ज्वाइँलाई हेर्न आतुर छु म । मेरो हुनेवाला ज्वाइँ ।

    ‘मामु’ भन्दै छोरीले पछाडिबाट आउँछे । म पछाडि फर्कन्छु ।

    ‘तिमी ?’ म चिच्याउन पुग्छु । छोरीसँगै उभिएको केटाको हातबाट मलाई दिन ल्याएको फूलको बुके फ्यात्त भुइँमा खस्छ । मेरा खुट्टा लड्खडाएर लड्न खोज्छु र ऊ मलाई सहारा दिन खोज्छ ।

    त्यतिन्जेल सम्ममा छोरीलाई बुझ्न गाह्रो हुँदैन कि विगत दुई वर्षदेखि एउटै घरमा लोग्नेस्वास्नी बनेर बसेको केटा वास्तवमा को रहेछ भन्ने !

    प्रतिकृया दिनुहोस्