News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • गन्तव्य : सुनाकाेठीदेखि लगनखेल र अनामनगरसम्म

    जनभेट संवाददाता२०८० माघ २०
    १५६ पटक

    –ईश्वरी थापा
    दैनिक झैँ आज पनि दश मिनेटकाे पैदल यात्रापछि सुनाकाेठीदेखि अनामनगरसम्मकाे यात्राका लागि बिहान नाै बजे टेम्फू चढेँ । कार्यालय समय भएकाले यहाँबाट टेम्फूमा सिट पाइने सम्भावना कम हुन्छ, आज पनि त्यस्तै भयाे सिट भरिएकाे थियाे । आफ्नाे पनि समयमा कार्यालय पुग्नु पर्ने भएकाले टेम्फूमा उभिएरै यात्रा गर्ने तय गरेँ र अनामनगरका लागि प्रस्थान गरेँ ।

    त्यसाे त अरूबेला पनि भीडभाड हुने याे सवारी साधन पौष शुक्ल पक्ष अर्थात् श्री स्वस्थानी माताको ब्रत तथा कथा वाचन शुरू भएकाले माधवनारायण मेला भर्न साँखुस्थित शालीनदी जाने तीर्थालुकाे भीडभाठ त हुने नै भयाे ।

    लगनखेल जाने टेम्फू चढेँ, भित्र पस्ने बित्तिकै एउटा अनाैठाे दृश्य देखेँ सिटमा । एउटा सिटमा एक महिला बसेकी थिइन् र उनकाे काखमा उनैकी नाै दश वर्षकी छाेरी बसेकी थिइन् । ती छाेरीकाे काखमा पनि एक वर्ष जतिकाे नानी थिइन् जुन कुनै उभिएकाे यात्रीकाे रहेछ । काखकी नाै दश महिनाकी नानी विन्दास पारामा हेरिरहेकी थिइन् तर दुई आमा छाेरीकाे भने यस्ताे चिसाेमा पनि राताे पिराे अनुहारबाट पसिना छुटिरहेकाे प्रष्टै देखिन्थ्याे ।

    देशकाे राजधानी काठमाडाैं उपत्यका पनि यस्ताे अवस्था छ भने दूरदरारमा कस्ताे अवस्था हाेला ?

    साेचमग्न थिएँ, त्यतिकैमा लगनखेल आइपुगेकाे संकेत दिए चालकले । म अर्काे सवारी यात्राका लागि ओर्लिएँ । शहरी क्षेत्रमा साधन धेरै हुनाले गाडी गुड्न पनि अल्छि गरेझैँ भान हुन्छ । म लगनखेलदेखि अनामनगरसम्मका लागि दाेस्राे टेम्फूमा चढेँ ।

    टेम्फू अगाडि बढ्याे । दश जना यात्रुसहित थाेरै पर्खाइपछि टेम्फू कुपण्डाेलमा पुग्याे । एक जना यात्रुले एक हजारकाे नाेट चालकलाई दिँदै ओर्लिनुभयाे । चालकले अध्याँराे मुख लगाउनुभयाे । झर्नु भन्दा पहिला नै दिएकाे भए पनि केही सहज हुन्थ्याे । २० रूपैयाँका लागि एक हजारकाे नाेट दिनु एक तरिकाले असभ्य नै मान्नु पर्छ । यात्रुकाे यस्ताे कमजाेरीले चालकले धेरै समस्या खेप्नु पर्ने रहेछ । एकैछिनपछि थापाथलीमा टेम्फू जाममा फस्याे । ती यात्रुले २० रूपैयाँ दिएर झरेकाे भए जाममा फस्ने थिएन कि ? मनमा यस्ताे विचार खेलिरह्याे ।

    सवारी जाममा अर्काे रमाइलाे दृश्य पनि देखियाे । माेटरसाइकल तथा स्कुटी चलाउनेहरूले सवारी जामकाे सदुपयाेग / दुरूपयाेग गर्दै माेबाइल चलाएकाे दृश्यले कहीँ नभएकाे जात्रा हाँडी गाउँमा भन्ने भनाइ चरितार्थ भएकाे महसुस भयाे ।

    थापाथलीकाे जाम कटेपछि बबरमहलमा अर्का यात्रीले पाँच सयकाे नाेट दिँदै टेम्फू राेक्न भन्नुभयाे । चालकले राताे अनुहार लगाउँदै २० रूपैयाँका लागि पाँच सयकाे नाेट दिने ? भनेर कराउनुभयाे । यात्रु लज्जाजनकरूपमा उभिएर हेरिरह्याे र चालकले दिएकाे फिर्ता पैसा लिएर चुपचाप हिँड्याे ।

    निरन्तर चलिरहेकाे यात्रा र दैनिक गन्तव्यकाे छेउ पनि आइसकेकाे थियाे । म चालकलाई दिनुपर्ने भाडा हातमा लिएर टेम्फू राेक्न भनेँ । चालकले टेम्फू राेके, भाडा दिएर म सरासर गन्तव्यमा लम्किएँ ।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्