News Portal

  • निरोगी हुनु जिन्दगीको लक्ष्य होइन, जीवन जिउने शैली हो : डा. कर्ट

    जनभेट संवाददाता२०८१ बैशाख १
    ५८४ पटक

    काठमाडाैं । चिकित्सक दिलजान मनसुर (डा. कर्ट) ले निराेगी हुनु जिन्दगीकाे लक्ष्य नभइ जीवन जिउने शैली भएकाे बताउनुभएकाे छ । नयाँ वर्ष २०८१ काे अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत् शुभकामना व्यक्त गर्दै डा. कर्टले निराेगी भएर जीवन जिउने शैली बनाउनु पर्ने बताउनुभएकाे हाे ।

    विगत नाै वर्षदेखि आफ्नाे जीवन जिउने शैली एकनासकाे रहेकाे भन्दै डा. कर्टले प्रत्येक वर्षकाे अन्तिम दिन आफ्नाे तस्वीर खिचेर वर्षभरिकाे प्रगति अनुभव गर्ने गरेकाे बताउनुभएकाे छ । आफ्नाे स्वास्थ्यमा भएकाे प्रगति देखेर अचम्म लाग्ने भन्दै उहाँले थप स्वस्थताका लागि आइपर्ने चुनाैती सामना गर्न आफू तयार रहेकाे बताउनुभएकाे छ । ‘आफ्नो स्वास्थ्यमा भएको प्रगति देखेर अचम्मित हुन्छु अनि शुरु भैरहेको नयाँ वर्षमा अझै स्वस्थ हुन सकूँ भन्दै आइपर्ने चुनौतीहरुको सामना गर्न तयार हुन्छु ।’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ ।

    आफूले गरेकाे नियमित व्यायाम र स्वस्थ खानपानसहितकाे जीवनशैलीका कारण स्वस्थ जीवन जिउन सम्भव भएकाे उहाँकाे भनाइ छ । स्वस्थ जीवनशैलीका कारण मनमा उर्जाले भरिने गरेकाे र हरेक क्षण उत्साह र उमङ्गले भरिने गरेकाे उहाँकाे भनाइ छ । ‘उत्साह र उमङ्गले भरिएका हरेक क्षणहरुमा रमाउँदै गर्दा आफ्नो लक्ष्यलाई पछ्याउनका लागि स्वस्थ जीवनशैलीकै कारण मनभित्र अझै उर्जा भरिएको महशुस गरिरहेको छु ।’ डा. कर्टले भन्नुभएकाे छ।

    कुनैपनि कार्यकाे प्रगति देखिन समय लाग्ने तर सामान्य उपलब्धिहरू पनि अत्यन्त अमूल्य र महत्वपूर्ण हुने भन्दै उहाँले लेख्नुभएकाे छ, ‘यो कुरा महत्वपूर्ण छ कि प्रगति देखिन समय लाग्छ अनि उपलब्धिहरू हेर्दा सामान्य नै किन नहुन् तर पनि अमूल्य हुनेछन् ।’ आफूले नाै वर्षदेखि कुनैपनि प्रकारका जङ्क फुड (पत्रु खाना) र प्रशाेधित खानेकुरा नखाएकाे भन्दै उहाँले आफ्नाे शरीर दश प्रतिशत ‘जिम वर्क’ ले र ९० प्रतिशत आफ्नै घरकाे भान्साले बनाएकाे दाबी गर्नुभएकाे छ ।

    प्रतिकृया दिनुहोस्