–दीपक न्यौपाने
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाको वसन्तपुरमा पुसको मध्यदेखि शुरु हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञको तयारी पूरा भएको छ । महापुराण आयोजक समितिका अनुसार पुस १६ देखि २३ गतेसम्म हुने महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिन लागिएकाे हाे ।
गौखुरेश्वर फलाँटेश्वर गड्गडेधाम विकास उपभोक्ता समितिको आयोजनामा महायज्ञ हुन लागेको समितिका वरिष्ठ उपाध्यक्ष देव कोइरालाले जानकारी दिनुभएको छ । महायज्ञमा सिन्धुपाल्चोक-२ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रमुख अतिथि हुनुहुनेछ भने पहिलो दिन वागमती प्रदेशका पूर्व वनमन्त्री मच्छिन्द्र खड्का भण्डारी र वागमती प्रदेशका सांसद् कृष्णकुमार तामाङ विशेष अतिथिका रुपमा रहनुहुनेछ ।
महायज्ञमा सिन्धुपाल्चोकका सबै स्थानीय तहका जनप्रतिनिधिलाई अतिथिका रुपमा आमन्त्रण गरिएको छ । यसैगरी पूर्वमन्त्री शेरबहादुर तामाङलाई पुस १७ गते र प्रदेश सांसद कुमारी स्याङ्तानलाई पुस १८ गते प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको महायज्ञ आयोजक समितिले जनाएको छ । यसैगरी महायज्ञको समापन भने वागमती प्रदेशका पूर्वमन्त्री एवं प्रदेश सांसद युवराज दुलालबाट हुने आयोजककाे भनाइ छ ।
सिपा वसन्तपुरमा अवस्थित गड्गडेधाममा गाईको खुट्टाको डाम ढुङ्गामा देखिएकाले त्यहाँ भगवान् महादेवको बास रहेको धार्मिक विश्वासमा शदीयौँदेखि पूजा अर्चना हुँदै आएको छ । गौखुरेश्वरमा गौमाताले स्वयं दूध चढाएको पनि जनविश्वास रहिरहेको छ । इन्द्रावती गाउँपालिकाका स्थानीय बासिन्दामा गौखुरेश्वर महादेव साक्षात् शिवजीको स्वरुपम भएको विश्वास गरिन्छ । गौखुरेश्वर फलाँटेश्वर महादेवधाममा गड्गडाएर सधैँभरि पानीको मूल फुटेको हुँदा गड्गडे भन्ने नामले पनि परिचित छ । पावन तीर्थस्थल मुक्तिनाथ धामको जस्तै गड्गडेको जल अत्यन्तै पवित्र रहेको पनि विद्वान् पण्डितहरु बताउँछन् । यही पावनस्थललाई योजनाबद्ध धार्मिक पर्यटन क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको हो ।
गौखुरेश्वर फलाँटेश्वर महादेव प्राङ्गणमा २०७२ सालको भूकम्पले पाटी, पौवा, सत्तलहरू भत्केर भग्नावशेष भएकाले त्यस स्थानमा नयाँ मन्दिर, शिव पाञ्चायन, पञ्चमुखी हनुमान, बूढानीलकण्ठ, नवग्रह, सप्तऋषि, अष्टचिरञ्जीवी, स्वस्थानी देवी, पाथीभरा, दक्षिणकाली आदि देवी देवताको मूर्ति स्थापना गरी पूजा आराधना भइरहेको छ । तर अक्षयकोषको व्यवस्था हुन नसक्दा समितिले मन्दिरमा नित्य पूजा गर्ने पूजारीलाई दक्षिणा एवं मासिक सुविधा दिनसमेत कठिनाइ हुँदै आएको छ ।
यसैबीच महापुराण आयोजक समितिले दाताहरुले दिएको दान रकमलाई अक्षयकोष बनाई पारदर्शी रुपमा राख्ने र दाताहरुलाई सम्मानसमेत गर्ने जनाएको छ ।
महायज्ञमा दिइने एक रुपैयाँदेखि पाँच सय रुपैयाँसम्म चन्दा बाकसमा राखिनेछ । त्यस्तै, पाँच सय एकदेखि एक हजार रुपैयाँसम्मको दानलाई अभिलेख खातामा नाम उल्लेख गरी रसिद प्रदान गरी निजलाई रुद्राक्षको माला प्रदान गरी नाम घोषणा गरिनेछ ।
यसैगरी, एक हजार एक रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म प्रदान गर्नेलाई सम्मान पत्र र रुद्राक्षको माला प्रदान गरिनेछ भने दुई हजार एक रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म प्रदान गर्नेलाई माथिका सबै सम्मानका साथै फ्रेममा राखेर प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै, पाँच हजार एक रुपैयाँदेखि ११ हजार रुपैयाँसम्म दान गर्नेलाई माथिका सबै सम्मानका साथै निजको नाम शिलालेखमा उल्लेख गरिनेछ भने ११ हजार एक रुपैयाँदेखि २० हजार रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै समितिको आजीवन सदस्यता प्रदान गरिनेछ ।
यसैबीच, २० हजार एक रुपैयाँदेखि ३५ हजार रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै निजको बाहुलीबाट आरती गराइने आयोजकले जनाएको छ । त्यस्तै, ३५ हजार एक रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै विशेष पूजाको कर्ताका रुपमा राखिने जनाइएको छ । साथै, ५० हजार एक रुपैयाँदेखि एक लाख रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै दोसल्ला ओढाई बाजागाजासहित मण्डप परिक्रमा गराइनेछ भने एक लाख एक रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै समितिको मानार्थ सदस्य प्रदान गर्ने तयारी आयोजकले जानकारी दिएकाे छ ।
त्यसैगरी, दुई लाख एक रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म दान गर्ने दातालाई माथिका सबै सम्मानका साथै निजको जन्मतिथिमा अष्टचिरञ्जीवीको पूजा एवं रुद्राभिषेक गराइदिने आयोजक समितिले जनाएको छ भने पाँच लाख एक रुपैयाँदेखि माथि दान गर्नेलाई माथिका सबै सम्मानका साथै मन्दिरको संरक्षकको रुपमा राखिने जनाइएको छ ।
यस्तै महायज्ञमा तुलादान, भूमिदान र अन्नदान गर्ने महानुभावहरुलाई पनि माथिका सबै सम्मानका साथै विशेष सम्मान गर्ने उल्लेख गरिएको छ।
साथै, ब्रह्मण भोजनतर्फ एक दिनका लागि पाँच हजार पाँच सय पाँच रुपैयाँ, आरती सेवातर्फ एकपटकका लागि पाँच हजार पाँच सय पाँच रुपैयाँ र विशेष पूजातर्फ एक दिनका लागि दुई हजार पाँच सय पाँच रुपैयाँ सहयोग गर्न सकिने आयोजक समितिले जनाएको छ ।
बुधबार काठमाडौंको गौशाला विजयचोकस्थित लोचन ज्यौतिष एवं वास्तु सेवामा महायज्ञ आयोजक मूल समारोह समितिको बैठक बसी गुरुहरुलाई निमन्त्रणासँगै पत्रकारहरुलाई समेत महायज्ञका विषयमा जानकारी गराइएको छ ।
महापुराण आयोजक समितिले महायज्ञको यज्ञाचार्यमा पण्डित नारायणप्रसाद कोइरालालाई तोकेको छ भने पण्डितहरु रवीन्द्र आचार्य र नारायणप्रसाद आचार्यले भागवत कथावाचन गर्ने जनाइएको छ । यसैगरी पण्डित वसन्त कोइरालाले भागवत पारायण गर्नुहुनेछ भने देवीभागवत पारायण पण्डित कृष्णप्रसाद सापकोटाले गर्नुहुनेछ । यसैगरी पण्डित अश्विनीकुमार कोइरालाले शिव पुराण पारायण, पण्डित कविराज कोइरालाले गणेश पुराण पारायण, पण्डित रामचन्द्र कोइरालाले सूर्यपुराण पारायण र पण्डित सुमन कोइरालाले अध्यात्म रामायण पारायण गर्नुहुनेछ ।
यसैबीच, काठमाडौंबाट सप्ताहस्थलमा जाने श्रद्धालु, भक्तजनको सुविधाका लागि आमा ह्योल्मो बस समितिले अतिरिक्त यात्रुबस थपेको छ । काठमाडाैँ तथा अन्यत्रबाट पुराणस्थल पुग्न चाहने कुनै पनि भक्तजनले यातायातका साधनको अभाव खेप्नुपर्ने अवस्था आउन नदिने महापुराण आयोजक समितिले दाबी गरेको छ ।
यसैबीच, गड्गडेमा १०८ गौमुखे ढुङ्गेधारा, ६४ शिवलिङ्ग, मुक्तिनाथ मन्दिर, पितृ तीर्थ आदि निर्माणको डिपिआर तयार भइसकेको छ । महायज्ञबाट सङ्कलित रकमबाट उक्त कार्य सम्पन्न गर्ने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिनुभएको छ । साथै उहाँले कथा श्रवण गरी जन्मजन्मको पुण्यको भागीदार बन्न र प्रचारप्रसारमा सहभागी हुन पनि सरोकारवाला निकायका साथै भक्तजनमा समेत आग्रह गर्नुभएको छ ।