
निला भट्टराई
अपाङ्गता भन्नाले कुनै व्यक्तिको शारीरिक, मानसिक, बौद्धिक वा सभ्यगात्मक क्षमतामा दीर्घकालीन हानी भएको अवस्था भन्ने कुरा बुझिन्छ । जसले उसलाई आफ्नो दैनिक जीवनयापन सामाजिक क्रियाकलापमा सहभागिता जनाउन कठिन हुन्छ ।
हाल अपाङ्गतालाई दश प्रकारमा विभाजन गरिएको छ, त्यसमध्ये गम्भीरताको आधारमा चार प्रकारमा विभाजन गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्याको २.२ प्रतिशत अपाङ्गता भएका व्यक्तिको संख्या रहेको छ, जसमा महिलाहरूको सङ्ख्या दुई प्रतिशत रहेको छ । हालसम्मको समयमा आइपुग्दा अपाङ्गता भएका महिलाहरुले रोजगारीमा अवसर पाउन सकेका छैनन् । उनीहरूले समाजमा विभेद .को सामना गर्नु परेको छ, एउटा अपाङ्गता र अर्को महिला भएको रुपमा । नेपालको संविधान २०७२ को मौलिक हकको धारा ३३ मा रोजगारीको हक भन्ने कुरा छ । उक्त धाराको दुईवटा उपधारा मध्ये उपधारा एकमा प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ, रोजगारीको शर्त अवस्था र बेरोजगारी सहायता छनोट गर्न पाउने हक हुनेछ भनिएको छ ।
त्यस्तै, उपधारा दुईमा प्रत्येक नागरिकलाई रोजगारीको छनोट गर्न पाउने हक हुनेछ भनिएको छ । तर त्यसको उपयोग गर्न भने कठिन भएको छ । अहिलेको अवस्थामा अपाङ्गता भएका व्यक्तिहरूले रोजगारी पाउन कठिन भएको छ । धारा ३८ मा महिलाहरूको हक छ त्यसमा महिलाहरूलाई शिक्षा स्वास्थ्य रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्राप्त गर्ने हक हुनेछ भनिएको छ । त्यो पनि पाउन सकेका छैनन् । नेपालको संविधानले अपाङ्गता भएका महिलाहरूको सम्मान अधिकार सुनिश्चित गरेपनि व्यवहारमा भने लागू हुन सकेको छैन । रोजगारी दिने ठाउँमा उच्च वर्गका मान्छेहरुले उनीहरुलाई अवसर दिन पनि वर्जित गर्छन् । अहिले पनि अपाङ्गता भएका महिलाहरूलाई सहानुभूतिका पात्रको रुपमा हेरिने गरिन्छ ।
म आफू पनि अपाङ्गता भएकी महिला हूँ मेरो अपाङ्गता शारीरिक अपाङ्गतामा पर्दछ । सामान्यत मलाई पनि दैनिक क्रियाकलापमा केही न केही कठिनाइहरु छन्, तर अवस्था अनुरूपको भौतिक संरचना भएको खण्डमा मलाई सहजता हुन्छ म आफू पनि कुनै पनि ठाउँमा रोजगारी माग्न जाँदा मेरो अपाङ्गतालाई देखेर पन्छाउन खोजिन्छ । म आफू अपाङ्गता भएको कारण जीवनमा धेरै कठिनाइहरु खेप्न परेको छ, अपाङ्गता मेरो अवस्था हो कठिनाइ होइन म आफू कमजोर पनि छैन ।
मानिसहरू मेरो अपाङ्गतालाई मात्र मूल्याङ्कन गर्छन् । तर म भित्र रहेको उर्जा शक्ति र योग्यतालाई मूल्याङ्कन गर्दैनन् । मेरो अपाङ्गतालाई हेरेर भनिन्छ तिमी यस्तो छौ ! तिमीले यस्तो काम कसरी गर्न सक्छौँ ? भन्दै मेरो अपाङ्गतालाई केन्द्रविन्दु बनाएर मलाई अवसर दिनुको सट्टा दया, माया, करुणा देखाएर अवसरबाट वञ्चित बनाउँछ । त्यो खालको क्रियाकलाप मैले सदा भोग्नु परेको छ, यस्तो गलत सोचको अन्त्य कहिले हुन्छ ?