News Portal

  • गुणस्तरीय पत्रकारिताका लागि कक्षाकोठा र समाचारकक्षबीच समन्वय आवश्यक

    जनभेट संवाददाता२०८२ जेठ २३
    ९२ पटक

    -मोहनप्रसाद मैनाली
    गुणस्तरीय पत्रकारिताका लागि विश्वविद्यालयको कक्षाकोठा र सञ्चारमाध्यमको समाचारकक्षबीच समन्वय हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । शुक्रबार विश्वविद्यालय अनुदान आयोगको सहयोगमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागद्वारा काठमाडौंमा आयोजित ‘अकाडेमिक–इन्डस्ट्री डायलग : ब्रिजिङ द क्लासरुम एण्ड न्यूजरुम’ अर्थात कक्षाकोठा र समाचारकक्ष बीचको अन्तरघुलन सम्बन्धी एक दिवसीय कार्यशालामा बोल्दै विज्ञहरुले नैतिकतासहितको गुणस्तरीय पत्रकारिताका लागि विद्यार्थीहरुले समाचारकक्षमा व्यावहारिक ज्ञान लिनुपर्ने बताएका हुन् ।

    सत्य र तथ्यमा आधारित पत्रकारिताका लागि सैद्धान्तिक र व्यावहारिक ज्ञान हुनुपर्ने विज्ञहरुको भनाइ छ । कार्यक्रममा बोल्दै प्राध्यापक पी खरेलले पत्रकारितामा भाषाको ज्ञान महत्वपूर्ण हुने बताउनुभयो । विश्वविद्यालयले पढाउने सैद्धान्तिक शिक्षा तथा भाषागत रुपमा अब्बल पत्रकारहरुका लागि विभिन्न अवसरहरु सिर्जना हुने उहाँको भनाइ छ । उहाँले पत्रकारिता अध्ययन गरेका विद्यार्थीका लागि लोकसेवामा लड्ने व्यवस्था मिलाउन सरकारलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले अन्य विषय अध्ययन गरी लामो समयदेखि पत्रकारितामा सम्लग्न पत्रकारहरुका लागि विश्वविद्यालयले एक वा दुई सेमेस्टरको विशेष अध्यापनको व्यवस्था गर्न सके पत्रकारिता थप नैतिकतासहितको गुणस्तरीय र विश्वसनीय बन्ने बताउनुभयो । उहाँले विश्वविद्यालयले चलचित्रलगायत पत्रकारितासँग सम्बन्धित विभिन्न विषयमा अध्यापन गराउनु पर्नेमा जोड दिनुभयो ।

     कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले गुणस्तरीय पत्रकारिता र सञ्चार उद्योग दुबै चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले समाचारकक्ष र कक्षाकोठा विपरित ध्रुवमा अगाडि बढिरहेको दाबी गर्नुभयो । नयाँ–नयाँ प्रविधिको विकाससँगै समाचारकक्षको पत्रकारिता अगाडि बढेको तर विश्वविद्यालयमा पुरानै विषयमा पढाइ हुने गरेकाले कक्षाकोठा र समाचारकक्षबीच समन्वय गर्न समस्या भएको उहाँको भनाइ छ । उहाँले पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको व्यावहारिक ज्ञानका लागि समाचारकक्षमा स्वागत गर्न आफू सधैँ तयार रहेको भन्दै समय अनुसार पाठ्यपुस्तक अद्यावधिक गरेर अध्यापन गराउन विश्वविद्यालयलाई सुझाव दिनुभयो ।

    बाह्रखरी डट्कमका विशेष सम्पादक हरिबहादुर थापाले पत्रकारिता अध्ययन गरेका पत्रकारहरुले लेख्ने समाचार सन्तुलित हुने बताउनुभयो । उहाँले पूरानो समयमा पत्रकारिताको पढाइ धेरै कम हुने भएकाले प्रायः सबै विद्यार्थीले समाचारकक्षमा अवसर पाउने गरेको तर अहिले त्यस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले विभिन्न कारणले विद्यार्थीहरु समाचारकक्षमा पुग्नै नसकेको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पपछि कतिपय दक्ष पत्रकारहरु पलायन भएको बताउनुभयो । पत्रकारिता अध्ययनरत स्नातकोत्तर तहका विद्यार्थीहरु शिक्षा अनुसारको रोजगारी प्राप्त हुनेमा अलमलमा परेको उहाँको भनाइ छ ।

    काभ्रे बहुमुखी क्याम्पसमा पत्रकारिता विषयका अध्यापक तथा सञ्जीवनी साप्ताहिकका सम्पादक ईश्वरी ओझाले पत्रकार जिम्मेबार भएर काम गर्नुपर्ने बताउनुभयो । सैद्धान्तिक शिक्षाले मात्रै नपुग्ने भएकाले अध्ययनसँगै व्यावहारिक ज्ञानलाई पनि सँगै अगाडि बढाउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको विकास तथा दक्ष र इमान्दार पत्रकारको कमीका कारण पत्रकारिताको मूल्य र प्रभावकारिता घटेको उहाँको भनाइ छ । उहाँले सही र इमान्दार पत्रकारले दलीय हस्तक्षेपबाट टाढै बस्नुपर्नेमा जोड दिनुभयो ।

    बागमती प्रदेश, सञ्चार रजिष्ट्रार रेवती सापकोटाले समाचारकक्षसँग समन्वय हुन नसक्दा विश्वविद्यालयमा अध्ययनरत पत्रकारिताका विद्यार्थीहरु बेरोजगार बस्नु परेको बताउनुभयो । उहाँले कोभिड–१९ को समयमा पत्रकारिता धरापमा परेको भन्दै आफूहरुले मिडिया म्यानेजमेन्ट र इन्कम मार्केटिङबारे सञ्चालन गरेको तालिमले प्रभावकारी भूमिका खेलेको दाबी गर्नुभयो । उहाँले अहिलेका धेरै पत्रकारहरु आफै मिडिया मालिक पनि हुने गरेकाले राम्रो पत्रकारिता हुन नसकेको बताउनुभयो । उहाँले सञ्चार माध्यम सञ्चालनबारे अहिले भएको मापदण्ड काम नलाग्ने भएको भन्दै नयाँ मापदण्ड निर्माण गर्न ढिला भइसकेको बताउनुभयो । सामाजिक सञ्जालले सञ्चार माध्यमलाई चुनौती खडा गरेको उहाँको भनाइ छ । उहाँले बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयले रचनात्मक पत्रकारितामा एआई (बौद्धिक बुद्धिमता) को प्रयोग कसरी गर्ने भन्नेबारे पुस्तक प्रकाशन गर्न लागेको जानकारी दिनुभयो ।

    पद्मकन्या क्याम्पसका अध्यापक रामजी दाहालले विश्वविद्यालयले गुणस्तरीय र समयको माग अनुसारको शिक्षा दिन नसक्दा समाचारकक्षले दक्ष जनशक्ति पाउने नसकेको गुनासो गर्नुभयो । उहाँले कक्षाकोठामा उपस्थित नहुने विद्यार्थीमाथि कडाइ गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालयको नियम अनुसार हाजिर पुरा नगरेका विद्यार्थीहरु परीक्षामा सम्लग्न गराउन नहुनेमा उहाँले जोड दिनुभयो । कक्षामा नआउने तर परीक्षाको फर्म भर्नमात्रै क्याम्पस पुग्ने विद्यार्थीबाट दक्ष जनशक्तिको आशा गर्न नसकिने उहाँको भनाइ छ । उहाँले एआईलगायत विकसित प्रविधिसँगै पाठ्यपुस्तक अध्यावधिक गरी अध्यापन गराउनु पर्नेमा विश्वविद्यालयलाई सुझाव दिनुभयो ।

    पोखरापत्र दैनिकका सम्पादक पुन्य पौडेललले पत्रकारितामा अध्ययनरत विद्यार्थीहरु पत्रकारिता गर्नेभन्दा पनि विदेश जाने ध्ययमा रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमले पत्रकारलाई उपयुक्त पारिश्रमिक दिएर व्यवस्थित गराउन सक्ने अवस्था नरहेकाले दक्ष पत्रकारहरु पनि पेशाबाट पलायन भइरहेको बताउनुभयो । स्वतन्त्र पत्रकारिता गर्ने पत्रकारहरुले पत्रकारिताका साथै आर्थिक आयआर्जन पनि गर्न सकेको भन्दै उहाँले पत्रकारिताका विद्यार्थीहरुले विधागत भविष्य नदेखेको बताउनुभयो ।

    प्रेस काउन्सिलका मुख्य अधिकृत एवं पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका एमफिल पीएचडीका सोधकर्ता झविन्द्र भूसालले रचनात्मक पत्रकारिताको पाठ्यपुस्तक राख्न विश्वविद्यालयलाई सुझाव दिनुभयो । उहाँले कतिपयले नामका लागि मात्रै पत्रकारिता गर्ने गरेकाले त्यो रोक्नुपर्नेमा जोड दिनुभयो । समान रुपमा सहकार्य गर्दै सामुदायिक पत्रकारितालाई अग्रनि बनाउनु पर्ने उहाँको भनाइ छ ।

    रत्न राजलक्ष्मी क्याम्पसका पत्रकारिता विभाग प्रमुख उपप्राध्यापक डा. जगत नेपालले विश्वविद्यालयमा अध्ययन गर्ने बित्तिकै अब्बल दर्जाका पत्रकार बन्न नसक्ने बताउनुभयो । कक्षाकोठा र समाचारकक्ष सिक्ने प्रक्रियाका लागि भएकाले विद्यार्थीहरुले दुबैलाई सँगसँगै अगाडि बढाउनु पर्ने बताउनुभयो । कुनै समयमा रेडियो नेपालको जागिर छोडेर निजी सञ्चार माध्यममा काम गर्ने चलन भएको भन्दै उहाँले अहिले निजी सञ्चार माध्यम कमजोर भएकाले आर्थिक सुरक्षाका लागि पत्रकारहरु सरकारी सञ्चारमाध्यममा प्रवेश गर्न थालेको बताउनुभयो । उहाँले विश्वविद्यालयमा अध्ययन गरेका पत्रकारहरु विवेकशील र समान रुपले समन्वय गर्न सक्ने भएकाले लोकतन्त्रलाई बलियो बनाउने गरी सञ्चारकर्म गर्नुपर्नेमा जोड दिनुभयो ।

    रत्न राजलक्ष्मी क्याम्पसका उपप्राध्यापक डा. ऋषिकेष दाहालले प्रविधिको विकाससँगै परिमार्जन हुने पाठ्यपुस्तकका बारेमा अध्यापकहरुलाई पनि तालिमको आवश्यक रहेको बताउनुभयो । स्नातक तहको चौथो वर्षमा डेटा जर्नालिजमका बारेमा पाठ्यसामग्री रहेको तर अध्यापकहरुले पढाउन समस्या रहेको उहाँको भनाइ छ । उहाँले सञ्चारमाध्यम सक्षम हुनका लागि देशको अर्थतन्त्र बलियो हुनुपर्ने बताउनुभयो ।

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. शशीनाथ मरासिनीले समय अनुसार विश्वविद्यालयले पाठ्यपुस्तक परिमार्जन गरेर अध्यापन गराइ रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयको नियम अनुसार पाठ्यपुस्तक परिमार्जन हुने भएकाले तत्काल विकास भएका प्रविधिका बारेमा पाठ्यसामग्री थप गर्न भने केही ढिला हुन सक्ने बताउनुभयो । उहाँले अहिलेको युग एआईका साथै पत्रकारितामा प्रयोग हुने नैतिकता र विवेकको युग पनि भएको बताउनुभयो । एआईको विकाससँगै पत्रकारितामा गलत प्रयोग भइरहेकोप्रति सजग हुने पर्ने भन्दै उहाँले नैतिकता र विवेकसहितको पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

    विभागका उपप्राध्यापक डा. देवराज अर्यालले विश्वविद्यालयमा अध्यापन भइरहेका पत्रकारिताका विषयहरु मुख्यतया सैद्धान्तिक र अनुसन्धानात्मक रहेको बताउनुभयो । सिद्धान्तले बाटो देखाउने र अनुसन्धानले काम गरेर देखाउने भएकाले पत्रकारितारका लागि सहज हुने उहाँको भनाइ छ । उहाँले दक्ष जनशक्ति उत्पादनका लागि प्रविधिमा भइरहेको पछिल्ला अध्यावधिकबारे विश्वविद्यालयले विद्यार्थीहरुलाई सहजीकरण गर्ने बताउनुभयो । उहाँले कक्षाकोठा र समाचारकक्षबीच सम्पर्क बढाउन विभागले गेष्ट लेक्चरको तयारी गरी रहेको जानकारी दिनुभयो । हाल त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आङ्गिक क्याम्पसका स्नातक तहमा तीन हजार ६ सय, स्नातकोत्तरमा एक सय २५ र विभागको एमफिल पीएचडीमा २५ जना विद्यार्थी पत्रकारिता अध्ययनरत रहेको उहाँको भनाइ छ ।

    उपप्राध्यापक डा. घमराज लुइँटेलले एआईको विकासले नैतिक पत्रकारितामा समस्या खडा गरेको बताउनुभयो । उहाँले युट्युवको माध्यमद्वारा गरिने पत्रकारिताका कारण नैतिकता सहितको पत्रकारहरुलाई समस्या भइरहेको बताउनुभयो । पत्रकारिता अध्ययन नगरेका तथा पत्रकारिता सम्बन्धी कुनै तालिम पनि नलिएका पत्रकारहरुका कारण सिङ्गो पत्रकारिता क्षेत्र नै समस्याग्रस्त बनेको उहाँको भनाइ छ । सत्य र तथ्यमा आधारित तथा गुणस्तरीय पत्रकारिताका लागि एआईको जथाभावि प्रयोग तथा हुबहु पत्रकारिताबाट टाढा रहनु पर्ने उहाँको भनाइ छ ।

    पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक डा. श्रीराम पौडेलले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभागको दर्शनाचार्य–विद्यावारिधि तहमा अध्ययनरत शोधकर्ता तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूले सम्बन्धित विषयमा जिज्ञासा तथा आफ्ना विचार व्यक्त गरेका थिए । ००००

    प्रतिकृया दिनुहोस्