News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • सर्वनाम थिएटरसँगकाे सहकार्यमा ‘कविडाँडा राष्ट्रिय नाटक विमर्श’ सम्पन्न

    जनभेट संवाददाता२०८० चैत्र ११
    ३९ पटक

    काठमाडाैं । कविडाँडा साहित्य समाज चितवनले सर्वनाम थिएटर काठमाडौँसँगको सहकार्यमा एक दिने ‘राष्ट्रिय नाटक विमर्श’ सम्पन्न गरेको छ । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षता तथा वरिष्ठ नाटककार अभि सुवेदीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम चैत्र १० गते शनिबार सर्वनाम नाटकघरमा सम्पन्न भएको हाे ।

    कार्यक्रममा वरिष्ठ नाटककार मनबहादुर मुखियालाई दश हजार रुपैयाँ नगदसहित ‘कविडाँडा साहित्य सम्मान’ ले सम्मानित गरिएकाे थियाे । साथै नाटककार अभि सुवेदीलाई कविडाँडा विशेष सम्मानले सम्मानित गरिएकाे थियाे ।

    कार्यक्रममा समालोचक तथा नाट्यविद् प्राडा सावित्री कक्षपतीले ‘उत्तरवर्ती नेपाली नाटकको विकाशक्रम’ तथा नाट्यविद् तथा समालोचक डा. अशोक थापाले नेपाली रङ्गमञ्चमा नाट्यप्रविधिको विकाशक्रम : लालटिनदेखि ल्यापटपसम्मू शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

    कार्यक्रमको अर्को चरणमा ‘सीमान्तीकृत स्वरहरूको प्रतिबिम्वनमा नेपाली रङ्गमञ्च’ विषयमा परिचर्चा सम्पन्न भयो । नटककार तथा निर्देशक प्रवीण पुमाले मध्यस्थता गरेको यस परिचर्चामा नाट्यकर्मीहरू पुरु लम्साल, सरस्वती चौधरी, रामभजन कामत तथा अन्जान प्रदीपले बहस गरेका थिए ।

    कार्यक्रमको अवधारणापत्र प्रस्तुत गर्दै समालोचक महेश पौड्यालले नाटकले प्रचीनकालदेखि नै प्रतिशील र जनपक्षीय विषय उठाउँदै आएको र यसले तत्काल प्रभाव छोड्न सक्ने विधा भएको तर्क गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘नाटकलाई अवयवहरूमा छुट्याएर मूल्याङ्कन गर्न सकिँदैन, यसलाई पूर्ण प्रभाव यानि ‘टोटल इफेक्ट’ का आधारमा मूल्याङ्कन गर्नु पर्दछ ।’

    प्रमुख अतिथि अभि सुवेदीले बालकृष्ण समको विरासतलाई अषेश मल्लले निरन्तरता दिएको बताउनुभयाे। उहाँले नेपाली नाटकले परम्परागत स्वरूपलाई परिमार्जित गरेर बढीभन्दा बढी दर्शकसँग जोडिने प्रयास गरिरहेको बताउनुभयाे । सम्मानित नाटककार मनबहादुर मुखियाले विगतका दिनमा नाटक मञ्चनका अप्ठ्याराहरूको चर्चा गर्दै यसका आजका उपलब्धिहरू गौरवयोग्य भएको बताउनुभयाे ।

    कार्यक्रममा नाटककार अशेष मल्ल, नाट्यविद् प्राडा रामचन्द्र पोखरेल तथा कवि मीना श्रेष्ठले शुभकामना मन्तव्य दिनुभएकाे थियाे । त्यस्तै, कार्यक्रममा समालोलक कक्षपतीको ‘वाचिक अभिव्यञ्जना, प्रह्लाद नाटकका सन्दर्भमा’ शीर्षकको समालोचना ग्रन्थ्रको पनि लोकार्पण गरिएको थियो । कार्यक्रमको अन्त्यमा अशेष मल्लको आलेखमा ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ नाटकलाई सर्वनाम थिएटरले प्रस्तुत गरेको थियो । नाटकलाई रसिकराजले निर्देशन गर्नुएकाे थियाे ।

    कार्यक्रमका सभापति तथा कविडाँडा साहित्य समाजका अध्यक्ष कवि एलबी क्षेत्रीले आफ्नो संस्था साहित्यका सबै विधाप्रति उत्तिकै संवेलनशील भएको हुँदा नाटकलाई पनि आफ्नो चिन्तनको केन्द्रमा राखेको बताउनुभयाे । समाजका उपाध्यक्ष उदय अधिकारीले स्वागत तथा परिचयात्मक मन्तव्य प्रस्तुत गर्नुभएकाे कार्यक्रमको सञ्चालन समालोचक तथा कवि महेश कार्की क्षितिजले गर्नुभएकाे थियाे।

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्