
डा. घमराज लुइँटेल
१. पृष्ठभूमि
मिडिया तथा सूचना साक्षरताको अवधारणालाई बुझ्न यसको आधुनिक विकासक्रमसँगै भाषा, अर्थ र ज्ञान निर्माणसम्बन्धी प्राचीन दार्शनिक चिन्तनलाई पनि ध्यान दिन आवश्यक हुन्छ । मानव समाजमा सञ्चारको आधार भाषा र प्रतीक भएकाले सन्देश कसरी निर्माण हुन्छ, त्यसले कसरी अर्थ सिर्जना गर्छ र मानिसको सोच तथा व्यवहारलाई कसरी प्रभावित गर्छ भन्ने प्रश्नहरू मिडिया साक्षरताका मूल सरोकारसँग जोडिन्छन्।
मिडिया तथा सूचना साक्षरताको क्षेत्रमा विभिन्न समयमा धेरै विद्वानहरूले महत्वपूर्ण योगदान दिएका छन् । James Potter, Len Masterman, David Buckingham, Marcus Leaning, Marshall McLuhan, Stuart Hall, Paulo Freire, Douglas Kellner, Elizabeth Thoman, John Culkin, Edgar Dale, Sonia Livingstone, Carolyn Wilson र Alton Grizzle लगायतका विद्वानहरूका खोज, विचार र सैद्धान्तिक योगदानले मिडिया तथा सूचना साक्षरताको अवधारणा र यसको दायरालाई निरन्तर विस्तार गरेका छन् । उनीहरूले मिडियाको प्रभाव, अर्थ निर्माण प्रक्रिया, आलोचनात्मक सोच, डिजिटल नागरिकता, सांस्कृतिक सन्दर्भ तथा सूचना प्रयोगका विविध पक्षलाई उजागर गर्दै यस क्षेत्रको सैद्धान्तिक र व्यावहारिक आधार निर्माण गरेका छन् ।
यिनैमध्ये Renee Hobbs मिडिया तथा सूचना साक्षरताको क्षेत्रमा विशेष प्रभाव राख्ने समकालीन विद्वान् हुन् । उनले Paul Mihailidis सँग संयुक्त रूपमा सम्पादन गरेको The International Encyclopedia of Media Literacy (2019) मा मिडिया साक्षरताको जग, यसको ऐतिहासिक विकास, सैद्धान्तिक आधार र समकालीन सन्दर्भहरूबारे विस्तृत चर्चा गरेकी छन् । रेनी हब्स संयुक्त राज्य अमेरिकाको University of Rhode Island मा सञ्चार अध्ययनकी प्राध्यापक तथा Media Education Lab की निर्देशक हुन् । उनले मिडिया साक्षरताका क्षेत्रमा थुप्रै पुस्तक तथा अनुसन्धानमूलक लेखहरू प्रकाशित गरेकी छन् । उनलाई विश्वभर मिडिया साक्षरता शिक्षाको क्षेत्रमा एक अग्रणी विद्वान् तथा Journal of Media Literacy Education की संस्थापक सम्पादकका रूपमा चिनिन्छ ।
यस लेखको वैचारिक आधार रेनी हब्सका मिडिया साक्षरतासम्बन्धी अवधारणाहरूमा आधारित छ । विशेष गरी मिडिया साक्षरताको अर्थ, यसको विकासक्रम, आलोचनात्मक सोच, मिडिया सन्देशको विश्लेषण र सिर्जनात्मक सहभागितासम्बन्धी हब्सका दृष्टिकोणलाई आधार बनाउँदै यस लेखमा Aspen Institute का मिडिया साक्षरताका मूल अवधारणाहरू, UNESCO का Media and Information Literacy (MIL) सम्बन्धी मान्यताहरू, विश्वव्यापी मिडिया शिक्षा आन्दोलन तथा समकालीन डिजिटल परिवेशका बहसहरूलाई समेत समेटिएको छ । साथै, नेपालको सञ्चार प्रणाली, डिजिटल विकास, सामाजिक सञ्जालको प्रयोग र सूचना वातावरणसँग सम्बन्धित पक्षहरूको विश्लेषण गर्दै मिडिया तथा सूचना साक्षरताको वर्तमान अवस्था र भावी दिशालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।
२. परिचय
मिडिया साक्षरताको अवधारणा २०औँ शताब्दीको सुरुदेखि नै चर्चामा रहे तापनि शिक्षा, सञ्चार प्रविधि र समाजमा आएको परिवर्तनसँगै यसको स्वरूप र दायरा निरन्तर विस्तार हुँदै आएको छ । प्रारम्भमा चलचित्र र जनसञ्चार माध्यमको प्रभाव बुझ्ने प्रयासबाट विकसित भएको मिडिया साक्षरता आज डिजिटल प्रविधि, सामाजिक सञ्जाल, कृत्रिम बुद्धिमत्ता (AI) र सूचना–प्रवाहको जटिल परिवेशसँग जोडिएको व्यापक अवधारणाका रूपमा स्थापित भएको छ ।
समकालीन समाजमा मिडिया तथा सूचना साक्षरतालाई सक्रिय, जिम्मेवार र आलोचनात्मक नागरिक बन्नका लागि आवश्यक ज्ञान, क्षमता र जीवनोपयोगी सीपका रूपमा बुझिन्छ । यसले विभिन्न स्वरूपका मिडिया सन्देशहरूमा पहुँच स्थापित गर्ने, तिनको विश्लेषण गर्ने, विश्वसनीयता मूल्याङ्कन गर्ने, अर्थ बुझ्ने, नयाँ सन्देश सिर्जना गर्ने र जिम्मेवारीपूर्वक प्रयोग गर्ने क्षमतालाई समेट्छ ।
सन् १९९२ मा आयोजित Aspen Institute को National Leadership Conference on Media Literacy ले मिडिया साक्षरतालाई परम्परागत साक्षरताको अवधारणालाई विस्तार गर्ने आन्दोलनका रूपमा व्याख्या गरेको थियो । यस दृष्टिकोणअनुसार, मिडिया साक्षरताले मानिसहरूलाई छवि, शब्द र ध्वनिले भरिएको समकालीन सञ्चार परिवेशमा सन्देशहरूको अर्थ बुझ्न, विश्लेषण गर्न, मूल्याङ्कन गर्न र प्रभावकारी रूपमा आफ्नै सन्देश सिर्जना गर्न सक्षम बनाउँछ । पछिल्ला वर्षहरूमा यही अवधारणा विस्तार हुँदै Media and Information Literacy (MIL) को रूपमा विकसित भएको छ, जसले मिडिया साक्षरतालाई सूचना पहुँच, तथ्य परीक्षण, डिजिटल नागरिकता र जिम्मेवार सूचना प्रयोगसँग जोडेको छ ।
३. मिडिया साक्षरताको विकासक्रम
दक्षिण एसियाली ज्ञान परम्परामा भर्तृहरि (लगभग ५औँ शताब्दी ईस्वी) ले आफ्नो प्रसिद्ध कृति वाक्यपदीय मा ‘शब्द ब्रह्म’ को भाषिक–दार्शनिक अवधारणा प्रस्तुत गर्दै शब्द केवल सूचना आदान–प्रदानको माध्यम होइन; यो ज्ञान, चेतना र अर्थ निर्माणको आधार हो भनेका छन् । वाक्यपदीय को प्रारम्भमै “अनादिनिधनं ब्रह्म शब्दतत्त्वं यदक्षरम्…” भन्दै उनले शब्दलाई ब्रह्मसँग जोडेका छन् । भाषा, प्रतीक र अर्थ निर्माणसम्बन्धी यो दृष्टिकोण आधुनिक मिडिया साक्षरताको मूल सरोकारसँग पनि सम्बन्धित छ, जहाँ मिडिया सन्देशमा प्रयोग हुने शब्द, छवि र ध्वनिको आलोचनात्मक बुझाइमा जोड दिइन्छ ।
Renee Hobbs का अनुसार मिडिया साक्षरताको अवधारणा एकै पटक विकसित भएको होइन । सञ्चार प्रविधिको विकास, मिडियाको विस्तार र समाजमा देखिएका नयाँ चुनौतीहरूसँगै यसको दायरा र उद्देश्य पनि क्रमशः परिवर्तन हुँदै गएको छ । चलचित्रको प्रभावबारे प्रारम्भिक चिन्तादेखि डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (AI) सम्म आइपुग्दा मिडिया साक्षरता एक व्यापक शैक्षिक आन्दोलनका रूपमा विकसित भएको छ । यसको विकासका प्रमुख चरणहरू यस प्रकार छन्:
१. चलचित्रको प्रारम्भिक प्रभाव (१९१५–१९३४): मिडिया साक्षरताको प्रारम्भिक जग चलचित्रको उदयसँगै बसेको मानिन्छ । सन् १९१५ देखि १९३४ को बीचमा शिक्षक, अभिभावक र शिक्षाविद्हरूले चलचित्रले बालबालिकामा पार्ने प्रभावका बारेमा व्यापक छलफल गर्न थाले । यसै अवधिमा अमेरिका र युरोपमा सिनेमा क्लब हरू स्थापना भए, जसले दर्शकहरूलाई चलचित्रलाई केवल मनोरञ्जनको माध्यमका रूपमा नभई अध्ययन र आलोचनात्मक विश्लेषणको विषयका रूपमा हेर्न प्रेरित गरे ।
२. Payne Fund अध्ययन र वैज्ञानिक अनुसन्धान (१९२९-३३): सन् १९३० को दशकमा अमेरिकामा गरिएको Payne Fund Studies ले पहिलो पटक चलचित्रले व्यक्ति र विशेष गरी बालबालिकामा पार्ने प्रभावको सामाजिक वैज्ञानिक अध्ययन गर्यो । यस अनुसन्धानले चलचित्रले बालबालिकाको व्यवहार, निद्रा, मनोवृत्ति, मूल्य–मान्यता र सामाजिकीकरणमा पार्ने प्रभावको विश्लेषण गरेको थियो । यसपछि मिडिया प्रभावसम्बन्धी अनुसन्धान व्यवस्थित रूपमा विकास हुन थाल्यो ।
३. Edgar Dale र चलचित्रप्रतिको आलोचनात्मक चेत (१९३८): सन् १९३८ मा एडगर डेलले How to Appreciate Motion Pictures नामक पुस्तक प्रकाशित गरे । उनले दर्शकहरूले चलचित्र हेर्दा केवल कथा बुझ्नु मात्र पर्याप्त नभई त्यसको सन्देश, पात्रहरूको चित्रण, सामाजिक सन्दर्भ तथा प्राविधिक पक्षहरूको पनि आलोचनात्मक रूपमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए । यसले मिडिया सामग्रीलाई विश्लेषणात्मक दृष्टिले हेर्ने अभ्यासलाई प्रोत्साहन गर्यो ।
४. Marshall McLuhan र सञ्चारको नयाँ दृष्टिकोण (१९६० को दशक):
क्यानेडियन संस्कृति र सञ्चारविद् Marshall McLuhan ले मिडिया साक्षरताको अवधारणालाई नयाँ मोड दिए । उनले आमसञ्चारलाई कसरी बुझ्नुपर्छ भनेर एउटा पाठ्यक्रम नै तयार पारेका थिए । पछि त्यसैका आधारमा सन् १९६४ मा Understanding Media: The Extensions of Man नामको पुस्तक प्रकाशन गरे । उनले ‘The medium is the message’ (माध्यम नै सन्देश हो) भन्ने प्रसिद्ध धारणा अघि सारे । उनका अनुसार सञ्चारको प्रभाव सन्देशमा मात्र सीमित हुँदैन; सञ्चारको माध्यमले नै मानिसको सोच, व्यवहार र समाजको संरचनामा गहिरो प्रभाव पार्छ । उनले मिडियाको विकाससँगै विश्व एउटा Global Village (विश्वग्राम) मा परिणत भएको पनि बताएका थिए ।
५. युनेस्को र विश्वव्यापी मिडिया साक्षरता आन्दोलन (१९८२): सन् १९८२ मा जर्मनीको Grunwald मा आयोजित UNESCO को Grunwald Declaration on Media Education ले मिडिया शिक्षालाई विश्वव्यापी शैक्षिक एजेन्डाका रूपमा स्थापित गर्यो । यस घोषणाले विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा मिडिया शिक्षालाई समावेश गर्न, नागरिकहरूमा आलोचनात्मक सोच विकास गर्न तथा मिडियाको जिम्मेवारीपूर्ण प्रयोग गर्ने क्षमता अभिवृद्धि गर्न जोड दिएको थियो । यसलाई आधुनिक मिडिया साक्षरता आन्दोलनको एउटा महत्त्वपूर्ण कोसेढुङ्गा मानिन्छ ।
६. आधुनिक मिडिया साक्षरताको अवधारणाको विकास (१९९२): सन् १९९२ मा आयोजित Aspen Institute को National Leadership Conference on Media Literacy ले मिडिया साक्षरतालाई परम्परागत साक्षरताको अवधारणालाई विस्तार गर्ने आन्दोलनका रूपमा व्याख्या गर्यो । सम्मेलनले मिडिया साक्षरतालाई सन्देशमा पहुँच (access), विश्लेषण (analyze), मूल्याङ्कन (evaluate) र सिर्जना (create) गर्ने क्षमताका रूपमा परिभाषित गर्दै आधुनिक मिडिया साक्षरता शिक्षाको सैद्धान्तिक आधार प्रस्तुत गर्यो । यही सम्मेलनबाट मिडिया साक्षरताका पाँच मुख्य अवधारणाहरू (Five Core Concepts of Media Literacy) पनि व्यवस्थित रूपमा स्थापित भए ।
७. डिजिटल युग र मिडिया तथा सूचना साक्षरता (MIL) को विस्तार (२१औँ शताब्दी): २१औँ शताब्दीमा इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल सञ्चार र डिजिटल प्लेटफर्महरूको तीव्र विस्तारसँगै मिडिया साक्षरताको दायरा झन् व्यापक भएको छ । विशेष गरी सन् २००५ पछि वेब २.०, प्रयोगकर्ताद्वारा सिर्जित सामग्री (User-Generated Content) र सामाजिक सञ्जालको विकासले मिडिया उपभोगको स्वरूप परिवर्तन गर्यो । यसै अवधिमा Media and Information Literacy (MIL) को अवधारणा पनि व्यापक रूपमा विकसित भयो, जसले मिडिया साक्षरतासँगै सूचना साक्षरतालाई एकीकृत गर्दै सूचना खोज्ने, पहुँच स्थापित गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र नैतिक रूपमा प्रयोग गर्ने क्षमतामा जोड दिन्छ । पछिल्ला वर्षहरूमा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence–AI) को तीव्र विकाससँगै तथ्य परीक्षण (fact-checking), गलत सूचना र दुष्प्रचार पहिचान गर्ने, डिजिटल सुरक्षा अपनाउने तथा जिम्मेवारीपूर्वक सामग्री सिर्जना गर्ने सीपहरू पनि मिडिया तथा सूचना साक्षरताका अभिन्न अङ्ग बनेका छन् ।
छोटकरीमा भन्ने हो भने मिडिया साक्षरताको विकासक्रमले चलचित्रको प्रभावबारे प्रारम्भिक चिन्ताबाट सुरु भई मिडिया प्रभावसम्बन्धी अनुसन्धान, सञ्चार सिद्धान्त, विश्वव्यापी शैक्षिक आन्दोलन, डिजिटल प्रविधिको विकास हुँदै आज मिडिया तथा सूचना साक्षरता (MIL) र कृत्रिम बुद्धिमत्ताको युगसम्मको यात्रा गरेको देखाउँछ । त्यसैले आजको मिडिया साक्षरता केवल मिडिया प्रयोग गर्ने सीप मात्र नभई सूचना र मिडिया सन्देशलाई आलोचनात्मक रूपमा पहुँच गर्ने, विश्लेषण गर्ने, मूल्याङ्कन गर्ने, सिर्जना गर्ने र जिम्मेवारीपूर्वक प्रयोग गर्ने समग्र क्षमता हो ।

Renee Hobbs
४. मिडिया साक्षरताका प्रमुख सैद्धान्तिक आधारहरू
Renee Hobbs का अनुसार मिडिया साक्षरता मुख्यतया चारवटा सैद्धान्तिक परम्परामा आधारित छ:
• वक्तृत्वकलामा आधारित परम्परा (Rhetorical Tradition): यस परम्पराले भाषा, तर्क, शैली, प्रतीक तथा प्रस्तुतीकरणका माध्यमबाट मिडिया सन्देशहरूले कसरी अर्थ निर्माण गर्छन् र मानिसलाई प्रभावित, विश्वस्त वा प्रेरित गर्छन् भन्ने कुरामा जोड दिन्छ । यसले मिडिया सन्देश कसरी निर्माण गरिन्छ, त्यसमा कुन–कुन सञ्चार प्रविधि प्रयोग गरिन्छ, र ती सन्देशहरूले दर्शक वा पाठकमा कस्तो प्रभाव पार्छन् भन्ने कुराको आलोचनात्मक विश्लेषण गर्न सिकाउँछ ।
• मिडिया प्रभाव परम्परा (Media Effects Tradition): मिडियाले व्यक्ति र समाजमा पार्ने प्रभावको अध्ययन गर्छ । विशेषगरी हिंसा, विज्ञापन, गलत सूचना, रूढिवादी प्रस्तुति तथा अन्य मिडिया सामग्रीले बालबालिका, युवा र समाजमा पार्ने सकारात्मक तथा नकारात्मक प्रभावको विश्लेषण गर्छ । यसले मिडियाका सम्भावित प्रभावहरू बुझ्ने, आलोचनात्मक रूपमा मूल्याङ्कन गर्ने र सुरक्षित तथा जिम्मेवार रूपमा मिडियाको प्रयोग गर्ने क्षमता विकास गर्न जोड दिन्छ ।
• आलोचनात्मक सांस्कृतिक अध्ययन (Critical Cultural Studies): यस परम्पराको सैद्धान्तिक आधार भनेको मिडियालाई शक्ति, विचारधारा, राजनीति र आर्थिक स्वार्थसँग जोडिएको सामाजिक संस्थाका रूपमा हेर्नु हो । मिडियाले कसको आवाजलाई प्राथमिकता दिन्छ, कसको प्रतिनिधित्व गर्छ वा कसलाई उपेक्षा गर्छ भन्ने विषयमा यसले प्रश्न उठाउँछ । साथै, मिडियाभित्र रहेका वैचारिक, राजनीतिक र आर्थिक पक्षहरूको विश्लेषण गरी विभेद, असमानता र प्रभुत्वका संरचनाहरूलाई आलोचनात्मक रूपमा बुझ्न प्रेरित गर्छ ।
• सांस्कृतिक अध्ययन परम्परा (Cultural Studies Tradition): सांस्कृतिक अध्ययन परम्पराले दर्शक वा श्रोताहरूलाई निष्क्रिय उपभोक्ता नभई सक्रिय अर्थ–निर्माताका रूपमा हेर्छ । मानिसहरूले आफ्ना सामाजिक, सांस्कृतिक र व्यक्तिगत अनुभवका आधारमा मिडिया सन्देशको फरक–फरक अर्थ निर्माण गर्छन् । साथै, मिडियामार्फत आफ्नो पहिचान निर्माण गर्ने, विचार अभिव्यक्त गर्ने, समुदायसँग जोडिने तथा सामाजिक परिवर्तनका लागि सहभागिता जनाउने प्रक्रियालाई पनि यसले महत्व दिन्छ ।
५. मिडिया साक्षरताका पाँच प्रमुख अवधारणा
Aspen Institute (1992) का अनुसार मिडिया साक्षरताका पाँच मुख्य अवधारणाहरू (Five Core Concepts of Media Literacy) लाई यसरी संक्षेपमा व्याख्या गर्न सकिन्छ:
१. सबै मिडिया सन्देशहरू निर्माण गरिएका हुन्छन् : कुनै पनि समाचार, विज्ञापन, चलचित्र, सामाजिक सञ्जाल पोस्ट वा अन्य मिडिया सामग्री स्वतः उत्पन्न हुँदैन । ती निश्चित उद्देश्य, योजना, सम्पादन र छनोट प्रक्रियाबाट निर्माण गरिएका हुन्छन् । त्यसैले मिडियाले वास्तविकतालाई जस्ताको तस्तै प्रस्तुत गर्दैन, बरु कुनै विशेष दृष्टिकोणबाट प्रस्तुत गर्छ ।
२. मिडिया सन्देशहरूमा विशिष्ट नियम र प्रविधिहरूको प्रयोग गरिएको हुन्छः मिडिया सामग्रीलाई प्रभावकारी बनाउन भाषा, तस्बिर, ध्वनि, संगीत, क्यामेरा एङ्गल, रङ, सम्पादन तथा प्रतीकजस्ता विभिन्न प्रविधि र सिर्जनात्मक शैलीहरूको प्रयोग गरिन्छ । यी प्रविधिले दर्शक वा पाठकको ध्यान आकर्षित गर्ने र सन्देशलाई प्रभावशाली बनाउने काम गर्छन् ।
३. एउटै मिडिया सन्देशलाई फरक–फरक मानिसले आफ्ना अनुभवका आधारमा फरक तरिकाले बुझ्न सक्छन् : व्यक्तिको उमेर, शिक्षा, संस्कृति, भाषा, लिङ्ग, सामाजिक पृष्ठभूमि, विश्वास र व्यक्तिगत अनुभवका कारण एउटै मिडिया सामग्रीको अर्थ सबैले समान रूपमा बुझ्दैनन् । त्यसैले मिडिया सन्देशको व्याख्या दर्शक वा पाठकअनुसार फरक हुन सक्छ ।
४. मिडिया सन्देशहरूमा आफ्नै मूल्य, मान्यता र दृष्टिकोणहरू लुकेका हुन्छन्: हरेक मिडिया सामग्रीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै विचार, मूल्य, विश्वास वा वैचारिक दृष्टिकोण समावेश हुन्छ । कुन विषयलाई प्राथमिकता दिने, कसरी प्रस्तुत गर्ने वा के कुरा छोड्ने भन्ने निर्णयले पनि त्यस मिडियाको दृष्टिकोण र मूल्य प्रणालीलाई प्रतिबिम्बित गर्छ ।
५. मिडिया सन्देशहरूको राजनीतिक, आर्थिक र सामाजिक शक्ति हुन्छ: मिडियाले जनमत निर्माण गर्न, उपभोक्ताको व्यवहार प्रभावित गर्न, राजनीतिक एजेन्डा स्थापित गर्न र सामाजिक मान्यता तथा संस्कृतिलाई आकार दिन महत्वपूर्ण भूमिका खेल्छ । त्यसैले मिडिया केवल सूचना दिने माध्यम मात्र नभई समाजमा परिवर्तन ल्याउने प्रभावशाली शक्ति पनि हो ।
६. मिडिया साक्षरता र विश्व नागरिकताको अवधारणा
आजको डिजिटल युगमा मिडिया साक्षरता केवल सञ्चार वा शिक्षाको विषय मात्र नभई लोकतान्त्रिक समाजको आधारभूत आवश्यकता बनेको छ । इन्टरनेट, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ता (AI) को तीव्र विकाससँगै सूचना उत्पादन, वितरण र उपभोग गर्ने तरिका पूर्ण रूपमा परिवर्तन भएको छ । यसको सकारात्मक पक्षसँगै गलत सूचना (Misinformation), दुष्प्रचार (Disinformation), घृणात्मक अभिव्यक्ति (Hate Speech), डीपफेक (Deepfake) तथा एल्गोरिदमद्वारा सिर्जित Filter Bubble जस्ता चुनौतीहरू पनि बढेका छन् । यस्तो अवस्थामा मिडिया साक्षरताले नागरिकहरूलाई सूचना र मिडिया सन्देशलाई आलोचनात्मक रूपमा बुझ्ने, विश्लेषण गर्ने र जिम्मेवारीपूर्वक प्रयोग गर्ने क्षमता प्रदान गर्छ ।
यसै सन्दर्भमा UNESCO ले मिडिया तथा सूचना साक्षरता (Media and Information Literacy–MIL) लाई विश्व नागरिकता (Global Citizenship) को एउटा महत्त्वपूर्ण आधारका रूपमा स्वीकार गरेको छ । विश्व नागरिकताको अवधारणाले राष्ट्रिय सीमाभन्दा माथि उठेर विश्वव्यापी मानव अधिकार, लोकतान्त्रिक मूल्य, विविधताको सम्मान, सामाजिक न्याय, शान्ति र दिगो विकासप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ । मिडिया तथा सूचना साक्षरताले नागरिकहरूलाई सूचनाको विश्वसनीयता परीक्षण गर्ने, तथ्य र विचारबीचको भिन्नता छुट्याउने, विभिन्न स्रोतहरूको तुलना गर्ने, डिजिटल माध्यममा नैतिक र जिम्मेवार व्यवहार गर्ने तथा लोकतान्त्रिक संवादमा सक्रिय सहभागिता जनाउने क्षमता विकास गर्छ । यसरी मिडिया साक्षरताले केवल सूचना उपभोग गर्ने सीप मात्र होइन, सचेत, जिम्मेवार र सक्रिय विश्व नागरिक बन्ने आधार पनि तयार गर्छ ।
७. चुनौती र भविष्य
मिडिया साक्षरताको महत्त्व निरन्तर बढ्दै गए पनि यसको प्रभावकारी कार्यान्वयनमा अझै धेरै चुनौतीहरू रहेका छन् । धेरै देशहरूमा शिक्षा नीति तथा पाठ्यक्रममा मिडिया साक्षरतालाई पर्याप्त प्राथमिकता दिइएको छैन । प्रशिक्षित शिक्षकको अभाव, आवश्यक शैक्षिक सामग्रीको कमी, डिजिटल पहुँचमा असमानता, कमजोर प्रविधि पूर्वाधार तथा मिडिया साक्षरतासम्बन्धी स्पष्ट नीतिको अभावले यसको प्रभावकारी कार्यान्वयनमा कठिनाइ सिर्जना गरेको छ । अर्कोतर्फ, कृत्रिम बुद्धिमत्ता, डीपफेक, स्वचालित सामग्री उत्पादन, एल्गोरिदममा आधारित सूचना वितरण तथा सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचनाले नयाँ चुनौतीहरू थपिरहेका छन् ।
यद्यपि, यी चुनौतीहरूकै बीच मिडिया साक्षरताको आवश्यकता झन् तीव्र रूपमा बढ्दै गएको छ । भविष्यमा यसको उद्देश्य मानिसहरूलाई प्रविधिको केवल उपभोक्ता (Consumer) मात्र नभई आलोचनात्मक चिन्तन गर्ने, जिम्मेवारीपूर्वक निर्णय लिन सक्ने र सिर्जनात्मक रूपमा डिजिटल सामग्री उत्पादन गर्ने नागरिकका रूपमा विकास गर्नु हुनेछ । त्यसैले विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रम, शिक्षक तालिम, पत्रकारिता शिक्षा, सार्वजनिक सचेतना कार्यक्रम तथा आजीवन सिकाइ (Lifelong Learning) का माध्यमबाट मिडिया तथा सूचना साक्षरताको विस्तार गर्नु आजको प्रमुख आवश्यकता बनेको छ । कृत्रिम बुद्धिमत्ताको युगमा लोकतन्त्र, सामाजिक विश्वास, अभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी डिजिटल समाजको निर्माणका लागि मिडिया तथा सूचना साक्षरता अपरिहार्य आधारका रूपमा स्थापित हुँदै गएको छ ।
८. नेपालमा मिडिया तथा सूचना साक्षरताको अवस्था
नेपालमा मिडिया तथा सूचना साक्षरताको विकासलाई देशको राजनीतिक, सामाजिक र सञ्चार प्रणालीको परिवर्तनसँगै बुझ्नुपर्छ । विशेष गरी वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि नेपाली मिडिया क्षेत्रमा उल्लेखनीय विस्तार भयो । निजी क्षेत्रका छापा माध्यम, एफ.एम. रेडियो, टेलिभिजन र त्यसपछि अनलाइन समाचार माध्यमहरूको तीव्र विकासले सूचनामा नागरिकको पहुँच अभूतपूर्व रूपमा बढायो । पछिल्ला वर्षहरूमा इन्टरनेट, स्मार्टफोन र फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम तथा अन्य सामाजिक सञ्जालहरूको व्यापक प्रयोगले नेपाली समाजमा सूचना उत्पादन, वितरण र उपभोग गर्ने परम्परागत स्वरूपलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको छ । आज सूचना केही सीमित सञ्चार संस्थाको नियन्त्रणमा मात्र छैन; हरेक नागरिक सूचना उत्पादन, सम्पादन र प्रसारण गर्ने क्षमतासहितको सक्रिय सञ्चारकर्ता बनेको छ ।
तर, सूचनामा पहुँच विस्तार हुनु मात्र पर्याप्त हुँदैन । त्यसलाई आलोचनात्मक रूपमा बुझ्ने, मूल्याङ्कन गर्ने र जिम्मेवारीपूर्वक प्रयोग गर्ने क्षमता पनि उत्तिकै आवश्यक हुन्छ । यही कारण नेपालमा मिडिया तथा सूचना साक्षरता (Media and Information Literacy–MIL) को आवश्यकता विगतभन्दा धेरै बढेको छ । यद्यपि, यस क्षेत्रको संस्थागत विकास, नीति निर्माण, पाठ्यक्रममा समावेशीकरण तथा सार्वजनिक सचेतनाका दृष्टिले नेपाल अझै प्रारम्भिक चरणमै रहेको देखिन्छ । वर्तमान अवस्थालाई निम्न आधारमा विश्लेषण गर्न सकिन्छ ।
• उपभोक्ताबाट निर्मातामा रूपान्तरण: विगतमा नेपाली नागरिकहरू मुख्यतः मिडियाका श्रोता, दर्शक वा पाठकका रूपमा सीमित थिए । तर, स्मार्टफोन, सस्तो इन्टरनेट र सामाजिक सञ्जालको विस्तारसँगै उनीहरू सूचना उपभोग गर्ने मात्र होइन, उत्पादन, सम्पादन र प्रसारण गर्ने भूमिकामा पनि पुगेका छन् । अहिले एउटा सामान्य नागरिकले पनि केही क्षणमै फोटो, भिडियो वा प्रत्यक्ष प्रसारणमार्फत हजारौँ मानिससम्म सूचना पुर्याउन सक्छ । यसले अभिव्यक्ति स्वतन्त्रता र नागरिक सहभागितालाई सशक्त बनाएको छ । तर, विश्वसनीयता परीक्षण, स्रोत प्रमाणीकरण, गोपनीयताको सम्मान, कपीराइट तथा डिजिटल नैतिकताजस्ता विषयमा पर्याप्त चेतनाको अभाव देखिन्छ । फलस्वरूप, अपुष्ट वा भ्रामक सामग्री अनजाने वा नियतवश व्यापक रूपमा प्रसारित हुने गरेको छ ।
• भ्रामक सूचना र दुष्प्रचारको चुनौती: नेपालमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै गलत सूचना (Misinformation), दुष्प्रचार (Disinformation) तथा द्वेषपूर्ण सूचना (Malinformation) को समस्या पनि बढ्दो छ । प्राकृतिक विपद्, स्वास्थ्य संकट, निर्वाचन, राजनीतिक घटनाक्रम वा सामाजिक संवेदनशील विषयहरूमा अपुष्ट र भ्रामक सामग्री तीव्र गतिमा फैलिने गरेका छन् । यस्ता सामग्रीले सामाजिक सद्भाव, लोकतान्त्रिक प्रक्रिया, सार्वजनिक विश्वास तथा व्यक्तिको प्रतिष्ठामा समेत नकारात्मक प्रभाव पार्न सक्छ । यसले नागरिकमा तथ्य परीक्षण (Fact-checking), स्रोतको विश्वसनीयता मूल्याङ्कन गर्ने क्षमता तथा आलोचनात्मक सोचको आवश्यकता झन् बढाएको छ ।
• डिजिटल खाडल (Digital Divide): इन्टरनेट र डिजिटल प्रविधिको पहुँच विस्तार भए पनि यसको समान वितरण हुन सकेको छैन ।भौगोलिक विकटता, आर्थिक असमानता, पूर्वाधारको सीमितता, डिजिटल सीपको अभाव तथा भाषागत कठिनाइका कारण सहर र ग्रामीण क्षेत्रबीच, शिक्षित र अशिक्षितबीच, तथा युवा र ज्येष्ठ नागरिकबीच डिजिटल पहुँच र उपयोगमा उल्लेखनीय अन्तर देखिन्छ । नयाँ पुस्ता प्रविधिको प्रयोगमा अपेक्षाकृत सहज भए पनि सबैमा आलोचनात्मक डिजिटल सीप विकसित भएको छैन । अर्कोतर्फ, पुराना पुस्ता अनलाइन ठगी, साइबर अपराध, गलत सूचना तथा डिजिटल हेरफेरको बढी जोखिममा रहने गरेका छन् । त्यसैले डिजिटल पहुँच मात्र होइन, डिजिटल सीप र मिडिया तथा सूचना साक्षरताको समान विकास पनि उत्तिकै आवश्यक छ ।
• नीतिगत र शैक्षिक चुनौती: नेपालमा मिडिया तथा सूचना साक्षरतालाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा सीमित रूपमा समेटिएको भए पनि यसलाई स्वतन्त्र र व्यवस्थित अध्ययन क्षेत्रका रूपमा पर्याप्त प्राथमिकता दिइएको छैन । शिक्षक प्रशिक्षण, अनुसन्धान, शैक्षिक सामग्री विकास तथा सार्वजनिक सचेतना कार्यक्रमहरू अझै सीमित छन् । पछिल्ला वर्षहरूमा केही सरकारी निकाय, विश्वविद्यालय, सञ्चार संस्था तथा नागरिक समाजले यस क्षेत्रमा पहल थालेका भए पनि ती प्रयासहरू पर्याप्त समन्वित र संस्थागत हुन सकेका छैनन् । कृत्रिम बुद्धिमत्ता, डीपफेक, एल्गोरिदम-आधारित सूचना प्रवाह तथा सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण अब मिडिया तथा सूचना साक्षरतालाई राष्ट्रिय शिक्षा नीति, डिजिटल नीति र नागरिक शिक्षाको अभिन्न अङ्गका रूपमा विकास गर्नु आवश्यक देखिन्छ ।
सारमा भन्नुपर्दा नेपालमा सञ्चार प्रविधि र डिजिटल पहुँचको विस्तार तीव्र गतिमा भइरहेको छ, तर मिडिया तथा सूचना साक्षरताको विकास त्यसै अनुपातमा हुन सकेको छैन । लोकतान्त्रिक समाजमा सूचित, आलोचनात्मक र जिम्मेवार नागरिक निर्माण गर्न विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा, पत्रकारिता, सार्वजनिक सचेतना अभियान तथा आजीवन सिकाइका कार्यक्रममार्फत मिडिया तथा सूचना साक्षरताको संस्थागत विकास गर्नु समयको प्रमुख आवश्यकता हो । विशेष गरी कृत्रिम बुद्धिमत्ताको युगमा सूचना र प्रविधिको जिम्मेवार प्रयोग सुनिश्चित गर्न मिडिया तथा सूचना साक्षरता केवल शैक्षिक विषय मात्र नभई लोकतान्त्रिक शासन, सामाजिक उत्तरदायित्व र डिजिटल नागरिकताको आधारका रूपमा स्थापित हुँदै गएको छ ।
गर्नुपर्ने प्रमुख कार्यहरू र भावी दिशा
नेपालमा मिडिया तथा सूचना साक्षरताको प्रभावकारी विकासका लागि नीतिगत, शैक्षिक, प्राविधिक तथा सामाजिक स्तरमा समन्वित प्रयास आवश्यक छ । Renee Hobbs ले जोड दिएझैँ, मिडिया तथा सूचना साक्षरता कुनै एउटा विषय वा प्राविधिक सीप मात्र होइन; यो नागरिकलाई आलोचनात्मक सोच, उत्तरदायी सञ्चार व्यवहार र लोकतान्त्रिक सहभागिताका लागि सक्षम बनाउने आजीवन सिकाइ (Lifelong Learning) को प्रक्रिया हो । यस सन्दर्भमा नेपालले विशेष रूपमा निम्न पक्षहरूमा ध्यान दिन आवश्यक देखिन्छ ।
१. पाठ्यक्रममा व्यवस्थित समावेशीकरण: मिडिया तथा सूचना साक्षरतालाई विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा क्रमिक रूपमा समावेश गर्न आवश्यक छ । क्यानडाको ओन्टारियो, फिनल्यान्ड तथा टर्कीजस्ता देशहरूले विद्यालय तहबाटै मिडिया साक्षरतालाई शिक्षण–सिकाइको अभिन्न अङ्ग बनाएका छन् । नेपालमा पनि यसलाई छुट्टै विषय वा विभिन्न विषयहरूमा एकीकृत (Cross-curricular) रूपमा समावेश गरी विद्यार्थीहरूमा सूचना खोज्ने, स्रोतको विश्वसनीयता परीक्षण गर्ने, विज्ञापन, समाचार तथा डिजिटल सामग्रीको आलोचनात्मक विश्लेषण गर्ने क्षमता विकास गर्नुपर्छ ।
२. शिक्षकहरूको क्षमता विकास: मिडिया तथा सूचना साक्षरता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सक्षम शिक्षकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुन्छ । त्यसैले UNESCO द्वारा विकसित Media and Information Literacy Curriculum for Teachers लाई आधार मानी शिक्षकहरूको नियमित क्षमता अभिवृद्धि गर्नु आवश्यक छ । शिक्षक स्वयं मिडिया तथा सूचना साक्षर भएमा मात्र उनीहरूले विद्यार्थीहरूमा आलोचनात्मक सोच (Critical Thinking), डिजिटल नागरिकता (Digital Citizenship) तथा जिम्मेवार सञ्चार संस्कृतिको विकास गर्न सक्छन् ।
३. समुदाय–केन्द्रित सचेतना कार्यक्रम: मिडिया तथा सूचना साक्षरतालाई विद्यालय र विश्वविद्यालयको सीमाभित्र मात्र सीमित राख्नु पर्याप्त हुँदैन । यसलाई समुदायसम्म विस्तार गर्दै महिला, ज्येष्ठ नागरिक, ग्रामीण समुदाय, सीमान्तकृत समूह तथा डिजिटल प्रविधिमा नयाँ प्रयोगकर्ताहरूलाई लक्षित गरी सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । विशेष गरी डिजिटल सुरक्षा, साइबर अपराधबाट बच्ने उपाय, व्यक्तिगत गोपनीयताको संरक्षण, तथ्य परीक्षण (Fact-checking) तथा गलत सूचना पहिचान गर्ने सीप विकासमा जोड दिनुपर्छ ।
४. नीतिगत व्यवस्था र संस्थागत सुदृढीकरण: मिडिया तथा सूचना साक्षरताको प्रवर्द्धनका लागि स्पष्ट राष्ट्रिय नीति, कार्ययोजना तथा संस्थागत संयन्त्र आवश्यक छ । यसका लागि सरकार, शैक्षिक संस्था, सञ्चार माध्यम, नियामक निकाय तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य हुनुपर्छ । साथै, सञ्चार माध्यमहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै तथ्यमा आधारित, सन्तुलित तथा नागरिकलाई साक्षर बनाउने सामग्री उत्पादन र प्रसारणलाई प्राथमिकता दिनुपर्छ ।
५. आलोचनात्मक सोच र जिम्मेवार डिजिटल नागरिकताको विकास: मिडिया तथा सूचना साक्षरताको मूल उद्देश्य नागरिकलाई सूचना उपभोग गर्न मात्र होइन, त्यसलाई आलोचनात्मक रूपमा विश्लेषण गर्न, मूल्याङ्कन गर्न र जिम्मेवारीपूर्वक प्रयोग गर्न सक्षम बनाउनु हो । त्यसैले नागरिकहरूलाई मिडिया सन्देश कसरी निर्माण गरिन्छ, त्यसमा कसको दृष्टिकोण वा स्वार्थ प्रतिबिम्बित हुन्छ, र त्यसले व्यक्ति तथा समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने विषयमा नियमित संवाद, बहस र अभ्यासको अवसर प्रदान गर्न आवश्यक छ । विशेष गरी “सबै मिडिया सन्देशहरू निर्माण गरिएका हुन्छन्” भन्ने मिडिया साक्षरताको आधारभूत सिद्धान्तलाई नेपाली सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भसँग जोडेर बुझाउनु आवश्यक छ ।
निष्कर्ष
मिडिया तथा सूचना साक्षरता (Media and Information Literacy–MIL) २१औँ शताब्दीको लोकतान्त्रिक समाजका लागि अपरिहार्य जीवनोपयोगी सीप हो । यसले नागरिकलाई सूचना र मिडिया सन्देशमा पहुँच स्थापित गर्ने, तिनको विश्वसनीयता परीक्षण गर्ने, आलोचनात्मक रूपमा विश्लेषण र मूल्याङ्कन गर्ने तथा जिम्मेवारीपूर्वक सामग्री सिर्जना र प्रयोग गर्ने क्षमता प्रदान गर्छ । कृत्रिम बुद्धिमत्ता, सामाजिक सञ्जाल, डीपफेक तथा भ्रामक सूचनाको तीव्र विस्तार भइरहेको वर्तमान समयमा मिडिया तथा सूचना साक्षरताको आवश्यकता झन् बढेको छ ।
रेनी हब्सले स्पष्ट पारेझैँ, मिडिया तथा सूचना साक्षरताको सार प्रविधिको प्रयोग सिकाउनु मात्र होइन, प्रविधिप्रति विवेकपूर्ण, आलोचनात्मक र उत्तरदायी दृष्टिकोण विकास गर्नु हो । त्यसैले कुनै पनि समाजमा सूचित नागरिक, उत्तरदायी सञ्चार संस्कृति तथा सुदृढ लोकतन्त्रको निर्माणका लागि मिडिया तथा सूचना साक्षरताले आधारभूत भूमिका खेल्छ ।
नेपालका सन्दर्भमा पनि मिडिया तथा सूचना साक्षरतालाई केवल पत्रकारिता वा सञ्चार अध्ययनको विषयका रूपमा सीमित राख्नु उपयुक्त हुँदैन । यसलाई विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा, सार्वजनिक नीति, सञ्चार अभ्यास तथा आजीवन सिकाइको अभिन्न अङ्गका रूपमा विकास गर्न आवश्यक छ । यसो गर्न सकिएमा नागरिकहरूले सूचना र मिडिया सन्देशलाई अन्धविश्वासका आधारमा स्वीकार गर्ने होइन, प्रमाण, तर्क र आलोचनात्मक सोचका आधारमा मूल्याङ्कन गर्ने संस्कृतिको विकास हुनेछ । यही संस्कृतिले लोकतान्त्रिक मूल्य, सामाजिक उत्तरदायित्व, डिजिटल नागरिकता र ज्ञानमा आधारित दिगो समाज निर्माणका लागि बलियो आधार तयार गर्नेछ ।
(लेखक डा. लुइँटेल त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक हुनुहुन्छ)












