News Portal

  • भाषिक अधिकार, शिक्षा र भाषा विकासका लागि प्रभावकारी नीतिमा जोड

    जनभेट संवाददाता२०८३ आश्विन २७
    ९० पटक

    ईश्वरी थापा
    काठमाडौं। नेपालमा भाषा व्यवस्थापन, नीति तथा योजनाका विषयमा केन्द्रित राष्ट्रिय गोष्ठी काठमाडौंको पुतलीसडकस्थित ग्रीनलिफ फुडमा सम्पन्न भएको छ। गोष्ठीमा भाषा व्यवस्थापन, भाषिक अधिकार, शिक्षा, अनुसन्धान तथा भाषा विकासका लागि प्रभावकारी नीति र योजनाको आवश्यकतामाथि छलफल गरिएको थियो।

    जनसांस्कृतिक प्रतिष्ठान, नेपाल र राष्ट्रिय भाषा तथा लोकसाहित्य संघ, नेपालको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहआयोजनामा सम्पन्न गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका प्राज्ञिक व्यक्तित्व, भाषाविद्, साहित्यकार, पत्रकार, जनप्रतिनिधि तथा भाषा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो।

    राष्ट्रिय भाषा तथा लोकसाहित्य संघ, नेपालकी अध्यक्ष डा. प्रतिभा पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. माधवप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा डा. भीमलाल गौतमले ‘नेपालमा भाषा व्यवस्थापन, नीति तथा योजना’ विषयक अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

    कार्यपत्रमाथि डा. तारामणि राई, प्राध्यापक डा. चुन्दा बज्राचार्य र सांसद लवदेव अवस्थीले टिप्पणी गर्नुभएको थियो।

    कार्यपत्रमाथि टिप्पणी गर्दै डा. तारामणि राईले भाषासम्बन्धी नीतिमा नवउदारवादको प्रभाव, डिजिटल युगमा आवश्यक संवाद तथा भाषा व्यवस्थापनका संरचनागत पक्षमाथि विमर्श हुनुपर्ने बताउनुभयो। उहाँले भाषा व्यवस्थापनलाई शिक्षा, राजनीति र प्रशासनसँग जोडेर व्यावहारिक रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै सरकारी नीति तथा घोषणापत्रमा समेत भाषाका विषयले पर्याप्त प्राथमिकता नपाउनु चिन्ताजनक रहेको धारणा राख्नुभयो।

    त्यस्तै, प्राध्यापक डा. चुन्दा बज्राचार्यले भाषा व्यवस्थापनका विषयलाई स्वतन्त्र अनुसन्धान, व्यावहारिक शिक्षा र नीतिगत सुधारसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले भाषाको बाहिरी संरचनामा मात्र केन्द्रित नभई यसको वास्तविक अवस्था, प्रयोग र सामाजिक आधारलाई समेत ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

    जनप्रतिनिधि डा. लवदेव अवस्थीले विषम परिस्थितिमा देखिएका भाषिक विविधता र चुनौतीबारे चर्चा गर्नुभयो। उहाँले डा. गौतमको कार्यपत्रले नेपालमा भाषा व्यवस्थापनसँग जोडिएका भावनात्मक पक्ष र समस्यालाई उजागर गरेको बताउँदै भाषाको विकासमा विद्यालयको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो। भाषालाई संघीय संरचनासँग जोड्ने विषयमा मात्र सीमित नराखी विभिन्न भाषाको सामर्थ्य, विकास र प्रयोग विस्तारमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।

    कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. माधवप्रसाद पोखरेलले कार्यपत्र प्रस्तुतकर्ता डा. गौतमको अध्ययन, अनुसन्धान र भाषाप्रतिको प्रतिबद्धताको प्रशंसा गर्नुभयो। उहाँले भाषा सैद्धान्तिक विषयमा मात्र सीमित नरही व्यक्ति, समूह र समग्र समाजसँग जोडिएको विषय भएको बताउनुभयो।

    भाषिक अधिकार सुनिश्चित गर्न मानकसहितको भाषिक नीति आवश्यक रहेको उल्लेख गर्दै उहाँले भाषाको बाहिरी स्वरूपसँगै भित्री संरचना, सामाजिक प्रयोग र भाषिक निकायहरूको भूमिकालाई समेत महत्त्व दिनुपर्ने धारणा राख्नुभयो।

    कार्यक्रमको अध्यक्षता गर्नुभएकी डा. प्रतिमा पुनले स्वागत मन्तव्य राख्दै गोष्ठीको उद्देश्य र महत्त्वबारे प्रकाश पार्नुभएको थियो।

    गोष्ठीमा पूर्वशिक्षामन्त्री तथा वरिष्ठ साहित्यकार रघु पन्त, माननीय हेमराज राई, जनसांस्कृतिक प्रतिष्ठान, नेपालकी अध्यक्ष भूमिका सुब्बा लिम्बू, प्राध्यापक डा. जीवेन्द्रदेव गिरी, बुढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख अनिता लामा, साहित्यकार तथा विभिन्न क्षेत्रका सल्लाहकारहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा प्रस्तुत कार्यपत्र र टिप्पणीमाथि उठेका जिज्ञासाबारे छलफल गर्दै भाषा व्यवस्थापन, भाषिक अधिकार र भाषा विकासका नीतिगत पक्षमा विचार आदानप्रदान गरिएको थियो।

    प्रतिकृया दिनुहोस्