–बासुदेव सेढाईँ
देशमा अर्थतन्त्रको ठुलो हिस्सा ओगटेको सहकारीहरु पछिल्लो समय केही सहकारीमा समस्या देखिएपछि समग्र सहकारी प्रति नागरिकको बिश्वास गुम्ने खतरा देखिएको छ। यतिबेला मुलुक चरम आर्थिक संकटमा परेको छ, उद्योग धन्दा,व्यापार व्यावसाय ठप्प जस्तै छ ।
बैंक सहकारी संस्थाहरुबाट ऋण लिएर व्यवसाय सञ्चालन गरेकाहरु किस्ता र ब्याज बुझाउन मात्रै हाेइन घरभाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेका छन् । परिवार पाल्न समेत समस्या भएपछि कतिपयले व्यापार व्यावसाय छाेडेका छन् । यस्तो अवस्थामा बैंक वित्तीय संस्थाकाे दबाबले ऋण लिएकाहरु तनावमा छन् ।
अर्कोतिर रकम बचत गरेका बचतकर्ताहरु आफ्नो बचत डुब्ने हाे कि भन्ने चिन्तामा छन् र बचत रकम निकाल्न थालेका छन् । आफूले बचत गरेको रकम फिर्ता माग्न आउने बचतकर्ताहरु र गरेको लगानी उठाउन नसक्ने अवस्थाका बीच सहकारीका सञ्चालनहरु पनि तनावमा देखिन्छन् ।
बचत फिर्ता गर्नुपर्ने अवस्था र लगानी उठाउन नसक्ने अवस्था बीचकाे चेपुवामा सहकारी सञ्चालक छन् । कतिपय सहकारीका सञ्चालकहरुले भने सर्वसाधारण नागरिकहरुकाे बचत रकम दुरुपयोग गरेर आफू धनी बनेको पनि देखिन्छ । सर्वसाधारण नागरिकले बिश्वास गरेर राखेको रकम घाेटाला गरेर आफू धनी भएका सञ्चालकहरुलाई भने कडा कारबाही गर्नुपर्छ किनभने सर्वसाधारण नागरिकको बिश्वासलाई घात गरेका छन्, जसको कारणले आज आम नागरिकको सहकारी प्रतिकाे दृष्टिकाेण फेरिएको छ। नक्कली ऋणि खडा गरेर आफैले रकम झ्वाम पार्ने, मूल्यहीन जग्गालाई बढी मूल्याङ्कन गरेर कमिसन झ्वाम पार्ने, आफ्ना नजिककालाई मनपरी ऋण बाँढ्ने आदि गरेर सहकारी डुवाउने आफू माेटाउने प्रवृत्ति पनि देखिन्छ ।
पछिल्लो समय बचतकर्ताहरुले आफ्नो सबै बचत रकम नपाएपछि उजुरीका आधारमा सहकारी सञ्चालकहरु पक्राउ परेसँगै सहकारीको उजुरीका आधारमा ऋणिहरु प्रति पनि सरकार कडा रुपमा प्रस्तुत हुने देखिएपछि ऋण तिर्न हेल्चेक्र्याइँ गर्नेहरुकाे पनि साताे उडेको छ। तिर्ने चाहना हुँदाहुँदै पनि तिर्न सक्ने अवस्था नभएकाहरुमा भने यसबाट समस्या पैदा हुनेछ । उनीहरुकाे हकमा भने सरकारले जिम्मेबार बन्नुपर्छ । रकम भएपनि सहकारीको रकम नतिरे पनि हुन्छ भन्नेहरुलाई भने सरकारले पक्राउ गरी ऋण उठाउन सहयोग गर्नुपर्छ।
बचतकर्ताहरुकाे सबै रकम फिर्ता गर्नैपर्ने तर लगानी गरेको रकम उठाउन नसक्ने हाे भने समस्या समाधान हुँदैन। बचतकर्ताहरुकाे सबै रकम फिर्ता पाउने, सहकारीले लगानी गरेको रकम पनि उठाउने र सहकारीप्रति नागरिकको बढ्दो अबिश्वास कम गर्न सहकारी सम्बन्धी सरकारले ठाेस नीति ल्याएर राष्ट्रिय समस्या बनेको सहकारी समस्या समाधान गर्न गम्भीर भएर लाग्न जरुरी छ ।