News Portal

  • जन, धन र वनको संरक्षण गरौँ

  • गजलकार प्रकट पगेनीकाे जीवन भाेगाइ

    जनभेट सम्वाददाता२०८१ बैशाख ६
    ५४ पटक

    –सुनिल उलक
    विसं. २०१३ असोज २४ गते बुबा कुवेरदत्त पगेनी र आमा नन्दकुमारीको कोखमा देउराली उकाली पगेनी गाउँमा जन्मनु भएका शिवराज पगेनी गाउँमा नै पढ्दथे । तीन छोरा र एक छोरीमा शिवराज कान्छो थिए । गाउँको विद्यालयमा छ कक्षा पढ्दै गर्दा एउटै कक्षामा तीन शिवराज थिए । एक शिवराज गुरुङ, अर्का शिवराज घिमिरे र तेश्रा शिवराज पगेनी । कक्षामा सबै झुक्किन्थे । शिवराज भन्दा तीन जनाको कान ठाडो हुन्थ्यो । गाउँमा त्यसबेला अमेरिकी पिसकोर भोलेन्टियरहरु पढाउन आउँथे । तीन शिवराज पढ्ने बिद्यालयमा जुलिया नाम गरेकी अति नै सुन्दरी मिसले पढाउँन आए । हाम्रा शिवराज, जुलिया मिसको यौवन देखेर मोहित थिए ।

    एकदिनको कुरा आमाले भुटेको मकै र मोही दिएर जुलिया मिस बस्ने कोठामा पठाउनुभयो । मिस केही न केही लेखिरहने गर्दथी । त्यसदिन पनि मिस केही लेख्दै बस्नुभएको थियो । हाम्रा शिवराज मिसलाई केही नभनि मिसले कतिबेला थाहा पाउनुहोला र भुटेको मकै र मोही दिने बिचारले एक कुनामा बसिरहे । केहीबेर पछि मिसले देख्नुभयो र भन्नुभयो, “शिव, तिमी कहाँबाट प्रकट भयौ ?” जुलिया मिस नेपाली प्रस्ट बोल्नुहुन्थ्यो । त्यसमाथि जुलिया मिस देखेर मन्त्रमुग्ध हुने शिवराज, जुलिया मिसको मधुर स्वरले प्रकट शव्द सुनेपछि मन्त्रमुग्ध भए । कक्षामा तीन शिवराज हुनुले सधै झुक्किने, तसर्थ शिवराज पगेनीले आफ्नो नाम सधैँलाई प्रकट राख्न तम्सिए । त्यसपछि त नाम नै बदलियो प्रकट पगेनी “शिव” भए ।

    त्यो बेला गाउँका धेरै जसो युवा शिलोङ, आसाम, नागाल्याण्ड पुग्दथे । वहाँका बुबा नागाल्याण्ड पुग्नुभएको थियो । उतै बस्दा नै शिलोङ तिर नै हुर्केकी आमासंग बुबाको विवाह भएको थियो । ९ सालतिर बुबा आमालाई लिएर गाउँ फर्कनु भयो । शिलोङमा हुर्केकी भएर आमा पढेलेखेकी थिइन् । त्यो समय देउराली उकाली गाउँमा पढेलेखेका पुरुष नै भेट्न मुश्किल समयमा पढेकी आमा निकै चल्तापुर्जा भइन । गाउँमा कसैको चिट्ठी आए पढिदिनुपर्ने र जवाफ लेखिदिने काम समेत आमाको हुन्थ्यो । गाउँका महिलाहरुलाई पिँढी भरि जम्मा गरेर वहाँले भागवत, रामायण, महाभारत पाठ गरेर सुनाउनु हुन्थ्यो । बुबा बेला बेला मात्र गाउँ आउनुहुन्थ्यो । बुबाले दुइ दाजुलाई नै पढाउन नागाल्याण्ड नै लग्नुभयो । तर कान्छो छोरालाई आमाले लग्न दिनु भएन । यसैले कान्छो प्रकट दाजु भने गाउँकै राष्ट्रिय प्राथमिक बिद्यालयमा पढ्नु भयो । ४ कक्षाबाट भने विश्व शान्ति मा.वि.मा पढ्न थाल्नुभएको थियो । त्यहि बिद्यालयबाट एस.एल.सी. पनि दिनुभयो ।

    अहिलेका गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का “बिखर्ची” उहाँका बाल्यकालका दौतरी हुनुहुन्छ । उहाँकै गाउँको बाटो राजा महेन्द्रले लमजुङ जिल्लाको कुन्छासम्म सडक बनाउन लगाएका थिए । त्यतिबेला सेना (महेन्द्र दल)ले सडक खनेर तैयार बनाएको थियो । यही बाटो भएर राजा महेन्द्र कुन्छासम्म जीपमा गएका थिए । पछि पछि पनि सरकारी ठूला कर्मचारीहरु जीप लिएर आउने गर्दथे ।

    ३१ सालमा एसएलसी दिन पाउनु हुन्थ्यो, यदि टेस्ट पास हुनुभएको भए । तर फेल हुनुभए पछि ३२ मा बल्ल एसएलसी पास हुनुभयो । त्यो पनि तेश्रो श्रेणीमा निकै गाह्रोसंग ।

    २०३३ सालमा प्रकट दाइ कलेज पढ्नका लागि पोखरा आउनुभयो । पृथ्वीनारायण कलेजको ठिक अगाडि चीनबहादुर बडगामीको घरमा डेरा लिएर बस्नुभयो । हुन त त्यस अगाडि पनि पोखरा झर्नुभएर महेन्द्रपुलमा शम्भु शाक्य दाजुको ओरियण्ट फोटो भएको घरमा डेरा लिएर बस्नुभएको थियो । तर त्यो बेला लामो समय बस्नुभएन । ३३ सालमा पोखरा आउनुभए पछि प्राय पोखरा नै रहनुभयो । पोखरामा रहनु हुँदा नै साहित्यकारहरुको संगतले वहाँले कविता कोर्न थाल्नुभयो । ३६ साल देखि कविता कोर्न थाल्नुभएको हो । तर पनि ३६ सालको सडक कविता क्रान्तिमा भने वहाँको नाम देख्न पाइन ।

    २०३५ सालमा विवाह बन्धनमा बाँधिनु भएका वहाँको एक छोरा र एक छोरी भएको थियो । विवाह र छोरा छोरी भए पछि नाटक र कविताले जीवन नचल्ने भए पछि २०४२ सालमा लुम्ले कृषी केन्द्रमा जागीरे हुनुभयो । करिव १० वर्ष उतै हराउनु भयो । २०२४ सालमा बेलायती सरकारबाट स्थापना भएको लुम्ले कृषी केन्द्र २०५२ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिए पछि एउटा समुह नै लुम्ले कृषी केन्द्रबाट बाहिरियो । यहि भिडमा प्रकटदाइले पनि जागीर छोड्नुभयो । बेरोजगारीले दिनचर्या चल्दैनथ्यो । तसर्थ वहाँले पछि गैह्रापाटनमा अहिले फिस्टेल हस्पिटल रहेको ठाउँमा पगेनी आर्ट मेडिया खोल्नुभयो । खासगरी पसलका साइनवोर्डका कामहरु हुन्थे । तर त्यहाँ पनि अलि बेवास्ता गर्नुहुन्थ्यो । कहिले काँही साइनवोर्ड वा ब्यानरहरु लेख्दा लेख्दै साथीहरुको लहैलहैमा हिड्नु हुन्थ्यो । साइनवोर्ड लिन आउँदा तैयार नै भएको हुँदैनथ्यो । यसरी ग्राहकहरु बिस्तारै टाढिन थाले ।

    यसैबीच लुम्ले कृषी केन्द्रबाट निस्कनु भएका भुवन स्थापित र अन्य मिलेर लिवर्ड नामक संस्था खोल्नुभयो । प्रकट दाइलाई पनि अनुरोध आए पछि वहाँ पनि लिवर्डमा आबद्ध हुनुभयो । यता पगेनी आर्ट भने बन्द भइ सकेको थिएन । कर्मचारीको सहयोगमा वहाँले त्यो चलाउन सक्नुभएन र बन्द भयो ।

    पोखरामा पोखरेली युवा सांस्कृतिक परिवारको स्थापनासंगै वहाँ पनि जोडिनु भयो । २०५४-५५ को कार्यसमितिको अध्यक्ष पनि बन्नुभयो । तर पनि वहाँ किन किन पोयुसा प्रति नकारात्मक देखिनुहुन्थ्यो । वहाँ पोयुसाबाट टाढिनु भयो वा भनौ पोयुसाले वहाँलाई बिस्तारै बिर्सन थाल्नुभयो ठ्याक्कै थाहा भएन ।

    जीवनका उतारचढाउमा वहाँ पनि कहिले कहाँ कहिले कहाँ हराउनुभयो । जीवनमा अभावका कुराहरु धेरै गर्नुहुन्थ्यो । यसैले कुनै पनि कार्यक्रम निशुल्क नगर्ने खुलेरै भन्नुहुन्थ्यो । कहिले काठमाडौ, कहिले पोखरा रहन थाल्नुभयो । बाटुलेचौरमा एकान्तवासमा पनि रहनुभयो । पछिल्लो पटक वहाँका गजलहरु प्रेमिल बन्न थाले । यौवनका चर्चा र प्रेमका चर्चा वहाँका गजलहरुमा बहन थाल्यो । एकथरी प्रशंसक ह्वाट्टै बढ्यो वहाँको । पैसा तिरेर नै कविता सुन्ने फेशन नै चल्यो । उहाँका पनि निकै चले । तर उहाँका अभावहरुका कथा समाप्त भएन । बाटुलेचौरमा बस्दै गर्दा अन्तिम समयतिर भाडा तिर्न पनि पैसा नभएको सुनाउनु हुन्थ्यो । पैसा आउने बाटो निकै सोच्नुहुन्थ्यो । दुई वर्ष अगाडि पर्यटकीय डकुमेन्ट्री बनाउने भनेर उहाँको सोच निस्के पछि तत्कालिन प्रदेश मन्त्री बिन्दु थापा र मेखबहादुरलाई पनि भेट्यौ । मन्त्रालयले खासै बजेट निकाल्न नसक्ने भएपछि हामी हट्यौ ।

    जीवनको अन्तिम समय तिर गाउँमा नै सानो कटेरो (यशस्वी कटेज) बनाएर सानो तिनो बसिबियालो गर्ने रेष्टुरेन्ट झै खोल्नुभएको थियो । तर यसले झन उहाँको बानि बिगार्यो कि जस्तो लाग्यो । अलि अलि पिउने बानि र नपिइ केही लेख्नै नसक्ने हुँदा पनि उहाँलाई यसैले नै दु:ख दिए जस्तो लाग्दछ ।

    अब त गुनासो गर्न वा सल्लाह दिन पनि प्रकट दाइसँग नसकिने भयो । उहाँ सदाका लागि हामीबाट टाढा भइसक्नुभयो । आज उहाँको पार्थिव शरीर पनि जलेर खरानी भयो । उहाँको देहमुक्ति एवं स्वर्गवासको कामना मात्र अब गर्न सक्दछौ । एउटा दु:ख लाग्छ उहाँ उपन्यास लेख्ने तैयारीमा हुनुहुन्थ्यो । त्यो प्रकाशन गर्न उहाँको धोको धोको नै रह्यो । पाण्डुलिपि कतै तैयार भएको भए छाप्न हुन्थ्यो । तर मलाई लाग्दैन उहाँले उपन्यास पुरा लेखि सक्नुभयो भन्ने । जीवनको अन्तिम समय तिर उहाँलाई आफू अब धेरै बाँच्दिन भन्ने हेक्का भइसकेको थियो होला । मृत्युको चार दिन अगाडि नयाँ वर्षको दिन उहाँले अन्तिम मुक्तक लेख्नुभएको थियो । यसले उहाँ अर्को नयाँ वर्ष मनाउने झिनो आशा राखेको हामी पाउँछौ । बाँचिएछ भने अर्को वर्ष माया साटौला भन्नुभएको छ ।

    मनमा राग पराग भए पो नयाँ वर्ष मनाउनु
    भाइरलको प्रकोपले ग्रसित छु कस्तो खुशी जनाउनु
    अर्को वर्ष बाँचिएछ भने तीन दिन अघि माया साटौला
    त्यतिबेला यशस्वी कटेजलाई कटेज जस्तै बनाउनु

    सुनिल उलककाे फेसबुकबाट

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    कृपया दश रूपैयाँ दान गर्नुहाेस्

    प्रतिकृया दिनुहोस्