News Portal

  • ‘पाँचौ राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगितामा मंगलादेवी मावि चौथो

    जनभेट संवाददाता२०८१ चैत्र २४
    २२० पटक

    कठमाडौं । पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता’मा श्री मंगलादेवी माध्यमिक विद्यालयले चौथो स्थान हासिल गरेको छ । नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिकास्तरीय पाँचौ ‘राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता’मा छापस्थित श्री मंगलादेवी माध्यमिक विद्यालयले विभिन्न पदकसहित चौथो स्थान हासिल गरेको हो ।

    प्रतियोगितामा मंगलादेवी माध्यमिक विद्यालय भलिबलमा छात्रा तथा छात्रतर्फबाट २ स्वर्ण, आठ सय मिटर दौडमा एक स्वर्ण, तीन हजार मिटर र चार सय मिटर दौडमा एक–एक गरी दुई रजत तथा विभिन्न खेलमा ६ कास्य पदक प्राप्त गरेको छ । प्रतियाेगितामा छात्रतर्फकाे भलिबलमा स्वर्ण पदकसहित कक्षा नाैका छात्र  देवराज तामाङ उत्कृष्ट खेलाडी घाेषित भएका छन् ।

    प्रतियोगिताको आयोजक विद्यालय गणेश माध्यमिक विद्यालय–४, रातमाटे यस वर्ष पनि प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगिताको सुरुवातदेखि नै उक्त विद्यालयले प्रथम स्थान हासिल गर्दै आएको छ । गणेश माध्यमिक विद्यालय–४, रातमाटेले १९ स्वर्ण, १० रजत तथा नौ कास्य पदक प्राप्त गरेको छ ।

    त्यस्तै, हल्देस्थित कालीका माध्यमिक विद्यालयले चार स्वर्ण, नौ रजत तथा चार कास्यसहित द्वितीय स्थान हासिले गरेको छ भने गणेशस्थानस्थित गणेश माध्यमिक विद्यालय–५, ले तीन स्वर्ण, चार रजत र तीन कास्य पदकसहित तेस्रो स्थान हासिल गरेको छ ।
    ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’नाराका साथ सञ्चालन भएको उक्त खेलकुदमा पालिकाभरका नौ विद्यालयले भाग लिएका थिए । विभिन्न १५ विधामा भएको प्रतियोगितामा प्रथम, द्वितीय तथा तृतीय हुने विद्यालय तथा खेलाडी विद्यार्थीहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरिएको थियो ।

    चैत २१ गते प्रतियोगिताको उद्घाटन संघीय सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले गर्नुभएको थियो भने चैत २३ गते बागमती प्रदेश खेलकुद परिषद् सदस्य दीपक लामाले समापन गर्नुभएको थियो ।

    आयोजक विद्यालय गणेश मावि–४ ले प्रतियोगिता सफलताका लागि हातेमाले गर्ने खेलाडी, प्रशिक्षक, प्रधानाध्यापक, स्थानीय सहयोगी, अभिभावक, समन्वयी विद्यालयहरु, विद्यालय व्यवस्थापन समिति तथा सूर्यगढी गाउँपालिकालाई धन्यवाद ज्ञापन गरेको छ ।

     

    May be an image of 8 people, flute and clarinet

    प्रतिकृया दिनुहोस्