News Portal

थ्याङ्क यु डाक्टर कर्ट, यु सेभ माइ लाइफ

माेहनप्रसाद मैनाली२०८० चैत्र ३०
१८१९ पटक

 –मोहनप्रसाद मैनाली
कुरा गत वैशाख (२०७८ विसं.) को पहिलो साताको हो। साबिकझैँ अफिसबाट घर फकिँर्दै थिएँ । ड्यूटी आवर इभिनिङको । अफिसबाट घर फर्किने समय रातिको प्रायः नौ बज्छ । त्यो दिन अलि छिटो साँढे साततिरै निस्किएँ । कारण थियो, पानी पर्ने संकेत । हुरीबतास चलिरहेको थियो । नयाँ बानेश्वरबाट कालीमाटीसम्म पुग्नका लागि १५ देखि २० मिनेटको समय । हल्का हुरीबतास चलिरहेकाले पानी परिहाले पनि त्यति बेलासम्म त घर पुगिहाल्छु भन्ने मनसायले निस्किएँ ।

नयाँ बानेश्वरबाट माइतीघर पुग्ने बेलासम्म हुरीबतासले ठूलै रुप लिइसकेको थियो । बीचमा मोटरसाइकल रोकेर बस्ने ठाउँ पनि थिएन । त्रिपुरेश्वर पुग्दासम्म पानी र हुरीबतासले ठूलै रुप धारण गर्यो । सडकमा थोरै मात्र सवारी चलिरहेका थिए । मोटरसाइकल नै ढलाउला जस्तो हुन थालेपछि साइड लगाएँ । तर रोकेर बस्ने अवस्था पनि देखिएन । हुरीबतास र वर्षाकै बीचमा विस्तारै अगाडि बढेँ । त्रिपुरेश्वरबाट कालीमाटी पुग्न लगभग आधा घण्टा लाग्यो।

ज्यान पूरै भिजेको थियो । भर्खरै जाडो सकिएर गर्मी शुरु हुन लागेको थियो । यस्तो बेलाको वर्षामा परियो । त्यसको एक साता अघिदेखि काठमाडौंको आकाशमा धुलो माटोले भरिएको तुवालोले ढाकिएको थियो । भारतको राजस्तानको मरुभूँमिबाट उडेर आएको धुलोका कणले काठमाडौंमा वायु प्रदुषणले उग्र रुप लिएको थियो । यही समयमा कोरोनाको दोस्रो लहरले दैनिक सयको संख्यामा मानिसको मृत्यु भइरहेका थियो । काठमाडौंमा त कोरोना संक्रमणको ठूलै महामारी नै चलेको थियो।

घर पुगेर खाना बनाएर खाएँ । त्यस्तो केही महसुस भएको थिएन । सामान्य अवस्थामै थिएँ। तर भोलिपल्ट बिहान उठ्दा हात गोडा करकरी खाइरहेको थियो । टाउको खपिनसक्नु भएर दुखेको थियो । गर्मीमा खासै समस्या नहुने मेरो ज्यान, चिसो खप्न मुश्किल नै हुन्छ । हुरीबतास र त्यसमा रहेको प्रदुषणको धुलोले समस्या गर्यो भन्ने  लाग्यो । त्रिपुरेश्वरमा मेरो मास्क पनि खसेको थियो । त्यसपछि हुरीबतास र वर्षासँगै मास्कविना नै घर पुगेको थिएँ ।

बेसार पानी बनाएर पिएँ । सामान्य होला भन्ने सोचेँ र निरन्तर आफ्नो काममा लागिरहेँ । खाना खाएर अफिस गएँ । काम गर्न कठिन भयो तर पनि गरिरहेँ । त्यो दिन पनि पानी पर्ने क्रम जारी रह्यो, हुरीबतास पनि चलिरहेको थियो । रेन कोट बोकेको थिइनँ । पुनः दोस्रो दिन पनि नराम्रैसँग भिजेँ । हुरीबतासको धुलोले पूरै सास फेर्न गाह्रो भएको थियो । खोकी पनि लागिरहेको थियो । औषधि पनि लिइरहेको थिएँ । स्वास्थ्यमा समस्या भएपनि अफिस जान भने छोडेको थिइनँ । सकेसम्म आफ्नो समस्या अरुलाई नदेखाउने र नभन्ने मेरो बानी । अरुलाई समस्या देखाएर पिर पार्नु हुँदैन भन्ने मेरो सानैदेखिको स्वभाव । यही स्वभावले गर्दा अफिसमा केही भनिनँ । कष्ट सहेरै पनि काम पूरा गर्दै रहेँ ।

करिब एक सातासम्म पनि ठिक नभएपछि डाक्टरलाई देखाएँ । सामान्य खोकी पनि थियो । ज्वरो थिएन । तर यति धेरै कमजोरी महसुस भयो कि मोटरसाइकलमा घर र अफिस गर्न पनि गाह्रो हुन्थ्यो । कहिले कहीँ त होसै नभएको जस्तो हुन्थ्यो । कालीमाटीसम्म पुग्नुपर्ने म केही पटक त कलंकीसम्मनै पुगेको थिएँ । के हुन्थ्यो केही थाहा नहुने अवस्थामा पुगेको थिएँ ।

खोकीको औषधि भेसोड्रिल दुई सातामा दुई सिसी लिएँ । खोकी त ठिक भयो तर मेरो कमजोरी ठिक भएन । बैशााख १६ मा होला सायद, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भनेर सरकारले देशभर निषेधाज्ञा जारी गर्यो । अब अफिसको काम पनि घरबाट नै गर्नुपर्ने भयो। गत वर्षको लकडाउनमा पनि दुई महिनाभन्दा बढी घरबाट नै गरिएको थियो ।

मेरो दैनिकी नै अब बिहान साँढे चारमा उठ्ने र कामतिरै लाग्ने भयो । बेलुका ९ बजेसम्म लगातार काम । घरमा बस्दा मुख खाली नगर्ने बानी केही खाँदै काममा निरन्तरता दिँदै । हरेक दिन बिहान पाँच बजे स्वयम्भूनाथमा पुग्ने मेरो दैनिक कोरोना शुरु भएपछि टुटेको एक वर्ष भइसकेको थियो । दैनिक अभ्यासको नाममा केही पनि थिएन । खाने काम भने ज्यादै नै बढेको थियो । तौल पनि बेसरी बढेको थियो । २०७३ सालमा मेरो उचाइ अनुसार ६२ किलोको तौल निर्धारण गरिदिनुभएको थियो डाक्टर आइएल आचार्यले । तर तौल बढेर ७५ को हाराहारीमा पुगिसकेको थियो ।

बैशाखभरि नै म पिँडुला फर्किने, हातगोडा झम्झमाउने र कमजोरी महसुस हुने समस्याबाट पीडित भइनै रहेँ । कोरोना संक्रमण भयो कि भन्ने अनुमान पनि गरेँ तर कोरोनाको बारेमा दैनिक समाचार लेखिरहने भएकाले लक्षणका बारेमा राम्रै ज्ञान थियो । कोरोनाको लक्षण चाहिँ खासै देखिएको थिएन पनि । त्यसपछि मैले तौल घटाउन खानपानमा कटौति गर्न थालेँ । असारको ३० गतेसम्म तौले घटेर करिब ६७ किलोमा सिमित भइसकेको थियो ।

एकदिन बिहान देब्रे हातमा करेन्ट  लागेझैँ झड्का महसुस भयो । त्यसपछि म सामान्य अवस्थामा रहन सकिनँ र गुगल सर्च गरेर स्वास्थ्यसम्बन्धी केही जर्नलहरु पढेँ । हातमा झड्का लाग्नुका बारेमा चिकित्सकको भनाइ जानिसकेपछि म तुरुन्तै अस्पताल गएँ र डाक्टरकाे सल्लाह अनुसार लिपिड प्रोफाइललगायत केही परीक्षण गर्न दिएँ ।

कोलेस्टेराेल सामान्य बढेको थियो अरु सामान्य नै थियो। प्रेसर पनि सामान्य थियो। तर सुगर बढेको देखायो। डाक्टरलाई देखाएँ। उहाँले सुगरको औषधि लेखिदिनुभयो। औषधि बाहेक अरु विकल्प के छ भन्ने मेरो प्रश्नमा डाक्टरको उत्तर थियो, ‘केही विकल्प छैन, औषधि नखाने हो भने दुई वर्ष भित्रमा किड्नी ड्यामेज हुन सक्छ।’

यस्तो डरलाग्दो जवाफपछि म झसङ्ग भएँ । तर कतिपनि नआत्तिइकन किड्नीलगायत थप केही टेस्ट गर्न दिएँ । सबैको रिपोर्ट सामान्य आयो ।

म रिपोर्ट लिएर अफिस पुगेँ । प्रशासनमा सनत सरलाई रिपोर्ट देखाएँ र बिदाको लागि अनुरोध गरेँ । सनत सरले कार्यकारी अधिकृतसँग बिदा स्वीकृत गराएर ल्याउन भन्नुभयो । म विभागीय प्रमुख दीपेन्द्र दोङ सरको रुममा गएँ र सबै कुरा भनेँ । उहाँले बिदा स्वीकृतका लागि अनुरोध निवेदनमा हस्ताक्षर गरिदिनुभयो । त्यो निवेदन लिएर कार्यकारी अधिकृत नारायणप्रसाद सुवेदी सरकोमा पुगेँ । उहाँले निवेदन हेरेर केही नबोली स्वीकृत गरिदिनुभयो ।

घरमा पुगेर सुष्मा (श्रीमती)सँग सबै कुरा भनेँ । सुगरको औषधि खानुपर्ने भयो, अहिलेसम्म सबै रिपोर्ट सामान्य नै छ । तर अब खानपिन नसुधार्ने र औषधि पनि नलिने हो भने अवस्था गम्भीर हुनसक्ने देखियो । मेरो भनाइ सुनेपछि सुष्माले एकै स्वासमा भनिन्, औषधि नखाइ खानपिनबाट नै ठिक पार्ने डाक्टर पनि छन् नि !’ एकछिन है भन्दै उनले तुरुन्तै ल्यापटप खोलेर यूट्युवमा सर्च गरिन् र डाक्टर कर्टको बारेमा जानकारी दिइन् । हामीले तीन चार वटा भिडियो हेर्यौं डाक्टर कर्टको ।

झण्डै एक वर्षजति अगाडि मैले डाक्टर कर्ट (दिलजान मनसुर) को छोटो भिडियो हेरेको थिएँ । सायद अनलाइनखबरमा होला । तर त्यो मैले पूरै बिर्सिसकेको रहेछु । सुष्माले याद दिलाएपछि पो पहिलाको भिडियो सम्झिएँ। त्यसपछि उहाँको एफडिएच क्लिनिकमा फोन गरेँ । शनिवारको समय दिनुभयो । तर त्यसदिन के कारणले हो म जान सकिनँ । मैले फेरि फोन गरेर आउन नसकेको र अर्को दिन मिलाइदिन अनुरोध गरेँ । साउन ११ गते आइतवारको समय दिनुभयो।

क्लिनिक जानुअघि मैले सुगरको बारेमा धेरै कुरा जानकारी लिइसकेको थिएँ । र यसका बारेमा के के टेस्ट गर्नुपर्ने हो सबै गरिसकेको थिएँ । दुई प्रकारको सुगरमध्ये मलाई अव्यवस्थित खानपिन तथा शारीरिक अभ्यासको कमीका कारण हुने दोस्रो प्रकारको सुगर भएको थियो । प्याङ्ंक्रियाज र त्यसले उत्पादन गर्ने इन्सुलिन भने सामान्य र सही अवस्थामा थियो ।

साउन ११ गते सुष्मा र म मैतिदेवीस्थिति डाक्टर कर्टको क्लिनिकमा पुग्यौं । त्यहाँ पनि सुगर, इसिजीलगायत जाँच भयो। सुगरको मात्रा बढी थियो । उहाँले तीन महिनाका लागि के खाने र के नखाने, कसरी खाने, कस्तो जीवनशैली अपनाउने भन्ने बारे सिकाउनुभयो । एक घण्टासम्म उहाँले दिनुभएको प्रवचनबाट म चार दशक पार गरेको मनुष्यबाट ६ महिनाको अवोध शिशुको रुपमा रुपान्तरित भएँ । कारण थियो, यो उमेरसम्म खानेकुराको अर्थ नै मैले थाहा पाएको रहेनछु । कसरी खाने ? कति खाने ? के खाने ? जस्ता कुनै कुराको पनि ख्याल मसँग नभएको महसुस भयो । उहाँले भन्नुभएको एक एक कुरा घरमा पुगेपछि ख्याल गर्दै गरेँ । सोचेँ, बेलुनमा अलिकति हावा बढी भयो भने बेलुन ड्यामेज (फुट्छ) हुन्छ भनेर थाहा पाउने म मानिसको शरीर पनि बेलुन जस्तै हो खानेकुरा बढी हुँदा समस्या हुन्छ भन्ने नबुझ्दा आफैप्रति दयाँ लागेर आयो ।

डाक्टर कर्टले इसिजी, लिभर, भिटामिन डीलगायतको  जाँच गर्न दिनुभयो र एक सातापछि भेट्न भन्नुभयो । उहाँले भन्नुभए अनुसार खानेकुरा खान थालेँ । इन्टरमिडिएट फास्टिङ अर्थात ८ घण्टा खाने र १६ घण्टा ब्रत बस्ने उहाँको सल्लाह अनुसार त्यसै गर्न थालेँ । मान्छे स्वर्ग जाने चाहना राख्छन् तर मर्न चाहदैनन् । म पनि त्यस्तै मध्येको एक हुँ । स्वर्ग जाने इच्छा भएपनि यति छिट्टै मर्न चाहिँ मलाइ पनि इच्छा थिएन । बाँच्ने इच्छा मजबुत भएपछि साउन ११ गतेदेखि मैले मेरो तन मन डाक्टर कर्टप्रति समर्पित गरिदिएँ र उहाँको सुझाव बमोजिम एक इन्चपनि दायाँबायाँ नगरी निरन्तर फलो गरिरहेँ ।

डाक्टर कर्टको सुझाव अनुसारको जीवनशैली अपनाउन थालेपछि विस्तारै सुगर सामान्य अवस्थामा फर्किदै गयो । तीन महिनासम्म अन्न, फलफूल र दश प्रकारका तरकारी बन्देज गर्नुभएको थियो डाक्टर कर्टले । सानो बालकझैँ अनुशासित भएर उहाँको सुझाव मान्दै गएँ ।

आँखा देख्न छोडेँ 
साउनको तेस्रो साता अकस्मात आँखा धमिलो भयो । राम्रोसँग देख्न छोडेँ । अक्षर केलाउनुपर्ने मेरो पेशामा ठूलो समस्या आयो । यो भन्दा अगाडि सुगरको समस्या देखिने बित्तिकै (असार ३० गते) आँखा जचाएको थिएँ कीर्तिपुर अस्पतालमा । समस्या केही छैन सामान्य छ । हरेक ६ महिनामा आँखा जचाउने गर्दा राम्रो  हुन्छ भन्नुभयो । अहिले तीन सातामै मेरो आँखामा के समस्या भएको होला म अचम्ममा परेँ । आँखाको बारेमा चार वर्ष अगाडि पनि यस्तै समस्या भएको थियो जुन अनौठो तरिकाले ठिक भएको थियो । त्यसका बारेमा पनि छुट्टै लेख्नु पर्ने आवश्यक देखेको छु । कहिले कहीँ मान्छेले सोच्दै नसोचेका र कल्पनामा पनि नआएको जीवन भोग्नुपर्ने हुन्छ जसलाई मैले जिन्दगीका विविध आयाम भनेर स्वीकार गर्ने गरेको छु ।

पहिलो फलोअप
पहिलो फलोअपका लागि केही शारीरिक जाँच गरेर एक सातामा बोलाउनुभएको थियो । त्यस अनुरुपको स्वास्थ्य जाँचको रिपोर्ट लिएर साउन १७ गते क्लिनिक गएँ । रिपोर्ट हेरेपछि भिटामिन डीको मात्रा १५ थियो, जुन ३० देखि सयसम्मलाई सामान्य मानिँदोरहेछ । मेरो परीक्षणमा भिटामिन डी ज्यादै कमजोर अवस्थामा थियो । सुगरको एचबिएवानसी परीक्षणमा १३ भन्दा बढी थियो जुन ६ भन्दा कम हुनुपर्ने थियो । मेरो त आवश्यकभन्दा शतप्रतिशत बढी थियो । डाक्टर कर्टले खानपिनको जीवनशैली सिकाएर चार सातापछि फलोअपमा आउन भन्नुभयो । मैले त्यसै गरेँ ।

साउन १ गतेदेखि नै अफिस छुट्टी लिएको थिएँ । १३ गतेको मिटिङमा केही समय गएँ र मिटिङ सकिएपछि पुनः घरमै बसेँ । कोरोना महामारीका कारण अफिसका साथीहरु पनि तितरवितर भएका थिए । थोरै कर्मचारीबाट कार्यसञ्चालन भइरहेको थियो । सञ्चारमाध्यम जस्तो संवेदनशील क्षेत्र हरसमय सूचना र समाचार सम्प्रेसन गर्नै पर्ने बाध्यता । घर बसिरहन पनि मनले मानेन । अफिसमा थोरै साथीहरुबाट काम भइरहेको थियो । म १८ गतेदेखि पुनः अफिस सुचारु गर्न थालेँ । शारीरिक रुपमा खासै समस्या भएन । तर कमजोरीले भने केही सतायो करिब तीन सातासम्म।

२० वर्षपछि मासु खान थालेँ 
म सानैदेखि साकाहारी थिएँ । माछा मासुप्रति कहिल्यै ध्यान गएन । किन खाइनँ ? त्यो म आफैलाई पनि थाहा छैन । दशैंमा कूल पूजा हुँदा कालो बोको बली दिनुपर्ने हाम्रो कूलको परम्परा छ । सानो हुँदा त्यही कूल देवीको प्रसादस्वरुप एक दुई पिस मासु खानुबाहेक अरुबेला मासु मुखमा परेको थिएन। घरमा प्रायः सबैजना मासु खानुहुन्छ । उहाँहरुले मासु खाँदा मलाई कहिल्यै खाउ जस्तो लागेन। परेको समयमा जाने अनुसार मासु पकाएर पनि खुवाउथेँ तर मलाई खान मन भने कहिल्यै लागेन र कहिल्यै खाइन पनि  अहिले सम्झिदा २०५८ सालमा मेरो मुखमा मासु परेको रहेछ। इन्टरमिडिएट पढ्दै गर्दा पत्रकारिता पनि सिक्दै थिएँ। कुनै एउटा निजी स्कुलको कार्यक्रममा खाना खानै पर्ने बाध्यता थियो जहाँ कुखुराको मासु र भात बाहेक अरु थिएन। त्यही मासुको झोलसँग भात खाएको थिएँ । त्यसपछि २०७८ को साउन ११ गते मुखमा मासु परेकाे थियाे ।

डाक्टर कर्टले मसँग भन्नुभयो, ‘संसारमा मासु र अण्डा जतिको राम्रो खानेकुरा अरु केही छैन ।’ उहाँले यसका बारेमा धेरै कुरा सम्झाउनुभयो । तर मासु खान कर भने गर्नुभएन । मैले सोचेँ खाएर हेरौं । त्यही दिन मासु खाएँ, मनमा केही असामान्य सोच आएपनि  ठिकै लाग्यो । वास्तवमा मासुको स्वाद लिएको त्यसै दिन थियो मैले । त्यसपछि हरेक दिन एकछाक मेरो खाना नै मासु हुन थाल्यो । बिहान अण्डा र तरकारीहरु । दिउँसो खाजा ओखर र चीज तथा बेलुकाको खाना प्रायः तीन सयदेखि पाँच सय ग्राम मासु ।

दोस्रो फलो अप
पहिलो फलो अपको दुई सातापछि अर्थात साउन ३१ गते दोस्रो फलो अपका लागि क्लिनिक गएँ । सुगरको रिपोर्ट सामान्य थियो । शुरुकै जीवनशैलीलाई निरन्तरता दिएर चार सातापछि भेट्न डा कर्टले भन्नुभयो । म फकिएँ र दैनिक जीवनशैलीलाई निरन्तरता दिन थालेँ ।

तेस्रो फलो अप
चार सातापछि भदौंको  २७ गते तेस्रो फलो अपमा पुगेँ । डाक्टर कर्टले खानपिन र शरीरमा भएको परिवर्तनबारे सोध्नुभयो मैले सबै कुरा सामान्य अवस्था भएको बताएँ । सुगर परीक्षणको रिपोर्ट हेर्नुभयो र खुशी हुँदै खानेकुरामा केही चीज (तामा, बोडी, कालो दाल, नरिवलको पानी, अमला र कागती) थप गरेर तीन सातापछि भेट्न भन्नुभयो । म घर फर्किएँ ।

शारीरिक रुपमा थप मजवुत भइसकेको थिएँ, मानसिक रुपमा भने म उत्तिकै मजवुद थिएँ शुरुदेखि नै । हरकुरामा सकारात्मक सोच लिइ नै  रहेँ र दैनिक १४ देखि १५ घण्टा काममा नै व्यस्त रहेँ । फुर्सदमा बस्दा विभिन्न अनावश्यक कुराको सोचविचार आउनसक्ने भएकाले दैनिक जीवन अति नै व्यस्त रहन थालेँ । राती ६ देखि सात घण्टा मस्त निदाएँ । बेलुका साँढे नौमा सुतेर बिहान साँढे चारमा उठ्ने मेरो पूरानै बानीलाई नै निरन्तरता दिएँ । हरेक बिहान स्वयम्भूनाथ पुग्ने पूरानै शैली अपनाएँ । डाक्टर कर्टकै सुझाव अनुसार दैनिक एक घण्टा घाममा बस्ने गरेँ ।

चौथो फलो अप
असोजको १७ गते चौथो फलो अपमा गएँ । डाक्टर कर्टले भने अनुसार परीक्षणको रिपोर्ट लिएर गएको थिएँ । अनुशासित जीवनशैलीका कारण मेरो स्वास्थ्य दिन प्रतिदिन सहज बन्दै गइरहेको थियो । रिपोर्टहरु हेरेर डा कर्टले जीवनशैलीलाई निरन्तरता दिँदै अर्को एक महिनापछि आउन भन्नुभयो । र खानेकुरामा कलेजो र माछा खान सुझाउनुभयो । डा कर्टलाई भेटेर फर्किदा मलाई ज्यान चङ्गा भइरहेको थियो । साउनको अन्तिमतिर देखिएको आँखाको समस्या पूरै हटिसकेको थियो । सामान्य पावर (टाढाको नदेख्ने) को चश्मा लागाएको करिब २० वर्षपछि मैले आँखाबाट चश्मा हटाउन सफल भएँ । अर्थात आँखालाई अब घाम र धुलोबाट बचाउनबाहेक मलाई चश्माको आवश्यकता महसुस भएन । आँखा प्रष्ट रुपमा देख्न सक्ने भएँ । त्यसपछि मैले चश्माको प्रयोग आँखा देख्नका लागि नभइ सुरक्षाको दृष्टिकोणबाट मात्र प्रयोग गर्न थाले । दुई महिनाको जीवनशैली परिवर्तबाट नै मैले आँखाको समस्या पनि दूर गराउन सफल भएँ ।

पाँचौ फलो अप
कात्तिक १४ गते पाँचौ फलो अपका लागि डा कर्डलाई भेटेँ । रिपोर्टहरु सामान्य थियो । शुरुदेखि नै बन्द गरिदिनुभएको केही फलफूल दिनुभयो र खाने तरिका सिकाइदिनुभयो । त्यसमा थप तीन महिनादेखि बन्द गरिएका अन्नहरु खान दिनुभयो । चामल, गहुँ, फापर, मकै तथा फलफूलहरु खाएर त्यसको परिणाम (सुगर जाँच) गरी दुई सातापछि भेट्न भन्नुभयो । मैले त्यसै गरेँ । तीन महिनादेखि बन्द भएका अन्न लगायत सबै खानेकुरा मेरो लागि खुला भएका थिए तर सिमित मात्रामा । यस अर्थमा  पनि मेरो लागि यी दुई साता महत्वपूर्ण थिए कि अन्न लगायत फलफूल खाँदा फेरि सुगर बढ्ने क्रम शुरुकै अवस्थामा पुग्छ या सामान्य अवस्थामा आउँछ । त्यसपछिका दुई साता मैले निकै सावधानीका साथा खानपानको व्यवस्था र सुगर जाँच गरेँ । कति र कसरी खानेकुराहरु खाँदा सुगरको मात्रा कति बढ्छ भन्ने कुरा पनि त्यो दुई सातामा मैले राम्रैसँग थाहा पाएँ । फरकफरक खानेकुरा खाएर सुगर जाँच गरेँ र डा कर्टले भन्नुभएको थप रिपोर्टहरु तयार गरेँ ।

छैटौँ फलो अप
कात्तिक २८ गते छैटौँ फलो अपका  लागि क्लिनिक गएँ । रिपोर्टहरु सामान्य थिए । डा कर्टले खानपिन र जीवनशैली यथावत् राख्न भन्नुभयो । सुगरको एचबिएवानसी, फास्टिङ, पीपीका साथै भिटामिन बी१२ र भिटामिन डीको पनि जाँच गरेर रिपोर्ट लिएर दुई सातापछि आउन उहाँले भन्नुभयो । मैले त्यसै गरेँ ।

सातौँ फलो अप
मंसिर १३ गते सातौँ फलो अपका लागि क्लिनिक गएँ । सुगरको एचबिएवानसी, फास्टिङ र पीपी तथा भिटामिन बी१२ र भिटामिन डीको पनि रिपोर्ट लिएर गएको थिएँ । सबैको रिपोर्ट सामान्य थियो । भिटामिन डी १५ बाट बढेर ३४ भन्दा बढी पुगेको थियो । भिटामिन बी१२ ३१४ थियो । सुगरको एचबिएवानसी नर्मल भइसकेको थियो, अर्थात एचबीएवानसी ५.८ थियो । सबै रिपोर्टहरु हेरिसकेपछि डा कर्टले खुशी हुँदै Reversed T2DM लेखिदिनुभयो । अर्थात मेरो शरीरमा देखा परेको टाइप टू डाइविटिजको समस्या समाधान भयो ।  त्याे क्षण अत्यन्तै शुखानुभूति महसुस भयाे मलाई । डाक्टर कर्टप्रति नतमस्तक बनेँ । मेराे परिपक्व उमेर नभइदिएकाे भए र समयकाे छालसँगै उतारचढाव नभाेगेकाे भए सायद त्यतिबेला मेराे भावुकताले सीमा नाघ्थ्याे हाेला । तर अनुहारमा कुनै भावुकताकाे लक्षण सामान्य अवस्थामै म डा कर्टकाे सुझाव सुनिरहेँ ।

त्यसपछि डा कर्टले शरीरमा देखा परेको सुगरको समस्या समाधान भएपनि सुगरको समस्याले शरीरका विभिन्न अङ्गमा गरेको हानि नोक्सानी पूर्ववत् अवस्थामा फर्किन १८ महिनादेखि २४ महिनाको समय लाग्ने भएकाले जीवनशैलीलाई निरन्तरता दिन र तीन महिनापछि भेट्न भन्नुभयो ।

मलाई आठौँ फलो अपका लागि फागुन १५ गतेका लागि समय दिनुभएको छ । अर्थात अबको केही दिनपछि म डा कर्टलाई भेट्न जाँदैछु ।

संकटका ती दिनहरु
कोरोना संक्रमणको दोस्रो लहरको समयमा मेरा हरेक पलहरु संकटपूर्ण रह्यो । जति पनि आफ्ना मान्छेहरुसँग फोनमा कुराकानी भयो अधिकांशमा कोरोनाको लक्षण देखिएको छ मात्रै भन्थे । हितैसी र शुभचिन्तकहरुले सचेत हुनु है भन्थे । म भने कसैलाई पनि आफ्नो समस्या भनिरहेको थिइनँ । मेरो समस्या भनेर किन पीर पार्नु ? यस्तै प्रश्न मेरो मनमा उठ्थ्यो । वैशाख, जेठ र असारका यी तीन महिना सबैका लागि कष्टकर थिए । मेरो मात्रै समस्या र संकट थिएन । म त केही समयदेखि एक्लो अवस्थामा थिएँ । सचेत थिएँ र भगवान भरोषा गर्दै सकारात्मक स्वास फेर्थेँ । जे हुन्छ राम्रैका लागि हुन्छ, सचेतनाका लागि हुन्छ अहिले किन अलमलिनु ! मेरो मनले यही भनिरहेको थियो ।

उखान छ नि ‘म ताक्छु मुडाे, बञ्चरो ताक्छ घुँडो’ त्यस्तै भएको थियो मलाई पनि । म कोरोना महामारीबाट बच्न सचेत हुँदै थिएँ । तर मलाई अर्कै समस्याले सताइसकेको थियाे जुन कुरा मैले ढिला थाहा पाएँ ।

मेरा थप दुई भगवान
भगवानको रुपमा मूर्तिमा पूजा गर्नु एउटा आस्था हो, यसमा मेरो कुनै विरोध वा कट्टर समर्थन छैन । तर जिवीत रुपमा माता पितालाई भगवानको रुपमा लिइन्छ जसले यो शरीरको निर्माण र अन्नपानका लागि योग्य बनाउँछन् । यी त प्राकृतिक र सामान्य कुरा नै भयो । तर जिन्दगी स्वाबलम्वी भइसकेपछि जीवन बचाउने थप भगवानहरु पनि हुन्छन् जसको सानो कोसिसले पनि मान्छेको ज्यान बचेको हुन्छ र यो संसारमा थप केही समय विचरण गरिरहेकका हुन्छन् ।

मेरो जीवनमा पनि जीवन र मृत्युको दोसाँधमा रहँदा भगवान रुपी तीन व्यक्ति प्रकट भए । एक जनाको बारेमा यहाँ उल्लेख नगरौँ तर मलाई पुनरजीवन दिने थप दुई भगवानमा मेरी श्रीमती सुष्मा र डा कर्ट हुन् जसले मेरो बाँच्ने चाहनालाई साकार पारिदिएका छन् ।

सायद त्यो दिन सुष्माले डाक्टर कर्टका बारेमा नबताएको भए म उहाँको सम्पर्कमा पुग्न सक्ने थिइनँ । सम्पर्कमै नपुगेको अवस्थामा उहाँले पुनरजीवन दिने कुरा पनि भएन । जब म डा कर्डको सम्पर्कमा पुगेँ त्यसपछि के के भयो मैले माथि सबै उल्लेख गरिसकेको छु । अहिले मेराे शरीरकाे ताैल ६० किलाेकाे वरिपरि छ र स्वस्थ महसुस गरिरहेकाे छ ।

अन्त्यमा, मानिसको जीवन रक्षक भनेको जीवनशैली हो, जीवनशैली अपनाउनका लागि अनुशासनको कवज पहिरिनु पर्छ । अनुशासित जीवनशैलीले जीवन स्वस्थ हुन्छ । स्वस्थ जीवनले कहिल्यै नकारात्मक कुरा सोच्दैन, सकारात्मक कुराको अनुशरण गर्छ र सार्थक जीवन व्यतित् गर्छ । जीवनशैलीकाे ख्याल नगर्दा झण्डै झण्डै अन्त्य हुन लागेकाे जीवन बचाउने डा कर्टलाई काेटीकाेटी नमन गर्दै म यही भन्छु, ‘थ्याङ्क यु डाक्टर कर्ट, यु सेभ माइ लाइफ।’

डाक्टर कर्टप्रति हार्दिक नमन गर्दै उहाँकै केही भनाइहरू :

-Human body was never designed for a SEDENTARY lifestyle, it was designed to hunt wild boars,    tigers and walk 40 miles a day
-One pound of  Saturated fat a day keeps the Doctor away
-Eat less Move more and get fat

डाक्टर कर्ट (दिलजान मनसुर) का साथमा

जनतासमाचारकाे २०७८ फागुन १२ गते बिहीबारकाे अङ्कबाट साभार

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्