News Portal

  • क्यानडाविरुद्ध नेपाल ‘ए’ दुई विकेटले विजयी

    जनभेट संवाददाता२०८० फाल्गुण ८
    ३५ पटक

    काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ दुई विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले दिएको २४१ रनको चुनौती नेपालले अन्तिम ओभरको पहिलो बलमा आठ विकेटको क्षतिमा पुरा गरेको हो ।

    नेपाल ‘ए’ का लागि कप्तान सन्दीप जोराले सर्वाधिक ६६ रन बनाउनुभयो । उहाँले ७४ बलमा सात चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै बसिर अहमदले अविजित ५२ रन बनाउनुभयो । उहाँले ७३ बलमा चार चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको थियो ।

    यस्तै रासिद खानले ४७, अर्जुन कुमाले ४० र किरण ठगुन्नाले १३ रन बनाउनुभयो । बलिङमा क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले दुई दुई तथा कप्तान सादबिन जफर र हर्ष ठेकरले एक एक विकेट लिनुभयो ।

    यसअघि क्यानडाले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय ४० रन बनाएको थियो । नेपालको जितमा कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेल्नुभयो । कप्तान जोरखाले ७४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाउनुभयो । अहमदले ७३ बलमा ५२ रन बनाउनुभयो ।

    क्यानडाका लागि श्रेयस मोम्भाले सर्वाधिक ६८ रन बनाउनुभयो । यस्तै नवनीत धलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, ओरोन जोनसनले ३६ र डिलोन हेलिगरले १६ रन जोड्नुभयो । बलिङमा नेपाल ‘ए’ का साहब आलम र रासिद खानले तीन/तीन विकेट लिनुभयो । शेर मल्लले दुई तथा सागर ढकाल र बसिर अहमद एक एक विकेट लिनुभयो ।

    तीन खेलको सिरिजअन्तर्गत नेपाल पहिलो खेलमा क्यानडासँग चार विकेटले पराजित भएको थियो । नेपालको आजको जितले सिरिजमा १–१ को बराबरी भएको छ ।

    प्रतिकृया दिनुहोस्