News Portal

जगदगुरू आदर्श संस्कृत गुरूकुलद्वारा कविता वाचन प्रतियाेगिता आयोजना

जनभेट संवाददाता२०८० चैत्र १
२५ पटक

काठमाडाैं । वसन्त पञ्चमीका अवसरमा जगद्गुरु आदर्श संस्कृत गुरूकुलद्वारा उपत्यकाव्यापी गुरुकुलुस्तरीय कथा तथा कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । ललितपुरको शंखमूलस्थित संस्कृत गुरुकुल नवौँ वार्षिकोत्सवका अवसरमा यो आयोजना गरिएको हो ।

प्रतियाेगितामा कवितातर्फ नैमिषारण्य संस्कृत गुरुकुलका श्री शिवप्रसाद घिमिरे प्रथम, नेपाल वेद विद्याश्रमका श्री महादेव पाण्डे द्वितीय, संस्कृत माध्यामिक विद्यालयबका सदृश सुवेदी तृतीय तथा श्री कान्तिभैरव गुरुकुलका पुसप खरेलले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका थिए ।

त्यस्तै, कथातर्फ नैमिषारण्य संस्कृत गुरुकुलका श्री स्वस्तिक पौडेलले उत्कृष्ट पुरस्कार प्राप्त गर्नुभएकाे थियाे भने ब्रह्मानन्द सरस्वती वैदिक गुरुकुलका श्री सुबोध घिमिरे र संस्कृत माध्यामिक विद्यालयका श्री उज्वल बुढाथोकीले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएकाे थियाे ।

कार्यक्रमको सभाध्यक्षाको भूमिका विद्यालयाध्यक्ष श्रीपृथ्वीमान सिंह बस्नेतज्यूले गर्नु भयो । कार्यक्रममा प्रतियोगिताकालागि १० ओटा गुरुकुल र संस्कृत विद्यालयहरुको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथिमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदी हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा आश्रम अध्यक्ष श्री टीकाराम अर्याल र डा नारायण गौतम रहनु भएको थियो ।

प्रतियाेगितामा नेपाल प्रज्ञा प्रतिष्ठानका प्रतिनिधि श्रीबाबा बस्नेत, ललितपुर महानगरपालिका शिक्षा शाखाका प्रतिनिधि श्रीकुमार चौलागाईं तथा सहप्राध्यापक डा बिनुबाबा अर्याल निर्णायकका रूपमा रहनुभएको थियो ।

संस्कृत भाषा परिष्कृत र काव्यात्मक छ । ज्ञानगुन विज्ञान, इतिहास दर्शन र सिर्जनाका अनेक रत्नले यो भाषा महासागरझैँ सम्पन्न छ। अनेकौं विद्या विशारद प्राप्त गर्न र अन्य भाषा पनि सजिलै सिक्नका लागि यसले सहयोग गर्छ भन्ने संस्कृतकाअध्येताको भनाइ छ।

संस्कृत गुरुकुलमा मूल रुपमा संस्कृत र अन्य भाषा पनि सँगसँगै सिकेका विद्यार्थी अध्ययनका हर क्षेत्रमा आफूहरुलाई अगाडि बढ्न सजिलो भएको बताउँछन् । वाग्देवी सरस्वतीको आराधना भनेकै वाणीको उत्तम प्रयोग र सुन्दर भाषिक सिर्जना गर्ने अभ्यास भएकाले भाषामा रचनात्मक र काव्यात्मक कर्म गर्नु नै विद्याकी देवीको पूजा मानिन्छ ।

विद्याका हर विधामा विशाल जानकारी दिने संस्कृत वाङमय पढ्न र यसको सीप सिकेर अन्य भाषाको पनि विकास गर्न सकिने हुँदा राज्यले पनि संस्कृतको अध्ययन अध्यापनमा प्राथमिकता दिनु पर्ने विज्ञहरु बताउँछन् ।

देशका विभिन्न दुर्गम क्षेत्रबाट समेत शंखमूलको आश्रममा आई आफै श्रम गरी ज्ञान आर्जनका लागि जुटेका विद्यार्थी खुशी छन्, उत्साहित देखिन्छन् । विद्याका हर क्षेत्रमा सफल भई सक्षम नागरिक बनेर देशोन्नति गर्ने आदर्श लिएका छन् ।

प्रतिकृया दिनुहोस्