
– प्रताप सुवेदी
एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास एक मात्र संक्रान्ति रहित शुक्लादि चान्द्रमासलाई मलमास भनिएको छ ।
ज्योतिषीय गणनाअनुसार हामीले काम काजका लागि प्रयोग गर्ने गते र तारिखहरु सूर्यको गतिको आधारमा गणना गरिन्छ । यही सूर्यको आधारमा नै ३६५ दिनमा हाम्रो एक वर्ष हुन्छ भने चन्द्रमाको अर्थात् तिथिको गणना अनुसार ३५४ दिनमा एक वर्ष हुन्छ । यसरी विचार गर्दा सूर्य र चन्द्रमाबीच एक वर्षको अवधीमा लगभग ११ दिनको फरक आउँछ । दुई वर्षमा सूर्य र चन्द्रमाबीच २२ दिन र तीन वर्षमा ३३ दिनको फरक पर्दछ । अधिकमास परेको तेश्रो वर्षमा सूर्यको गणना अनुसार १२ वटा मात्र महिना भए पनि चन्द्रमाका आधारमा भने १३ वटा महिना हुन जान्छ । यही सूर्य र चन्द्रमाको गति मिलाउन नै प्रत्येक तीनतीन वर्षमा मलमास पर्ने गर्दछ । दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेट लाग्छ । यसलाई कालको मल मानिएकाले पाप नाश गर्ने मास अर्थात महिना भनिन्छ । यसलाई अधिमास,क्षयमास,मलिम्लुच,संसर्प,अंहस्पति, पुरुषोत्तममास आदि नामबाट चिनिन्छ ।
श्रीमद्भागवत महापुराणमा पनि मलमासको बारेमा केही वर्णन गरिएको छ । यसको प्रसंग भगवान् नारायणको २४ अवतारमध्ये नृसिंह अवतारसँग जोडिन्छ । प्राचीन समयमा विष्णुका गुरु सनात र सनन्दन लाई द्वारमा रोक्दा विष्णुका पार्षदहरू जय र विजय नै राक्षस बन्नुपर्यो । महर्षि काश्यपको छोरा भएर यिनीहरुले जन्म लिए । हिरण्यकशिपु भगवान विष्णुसँग आफ्नो भाइ हिरण्याक्षको वध गरेको बदला लिन चाहन्थ्यो । त्यसकारण उसले ब्रह्माजीको तपस्या गर्यो । प्रसन्न भएका ब्रह्माजीसँग उसले धेरै वरदानका साथै कुनै पनि सालको १२ महिनामा नै आफ्नो मृत्यु नहुने वरदान प्राप्त गर्यो ।
ब्रह्माजीसँग वरदान पाएपछि उ निकै अत्याचारी भयो र धर्म र समाजमाथि प्रहार गर्न थाल्यो । त्यसैकारण उसको वध गर्न भगवान् विष्णुले नै अवतार लिनुपर्यो । टाउको सिंहको जस्तो र शरीर मानिसको जस्तो भएको भगवान् विष्णुको नरसिंह अवतार भयो । सबै वरदान त पूरा भयो, तर उसले सालको १२ महिनामा नै आफ्नो मृत्यु नहोस् भनेको हुनाले त्यही हिरण्यकशिपुलाई मार्न नै भगवान् विष्णुले तेह्रौँ महिना अर्थात् मलमासको सृष्टि गरी हिरण्यकशिपुको वध गर्नु भएको पुराणमा उल्लेख छ ।
अधिकमासको पुज्य देवता भगवान विष्णुबाट नै भएकोले यस महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ । यस समयमा भगवान् विष्णुको पूजा गरी पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने गरिन्छ । हिन्दू धर्म ग्रन्थहरूका अनुसार यो एक महिनाको समयमा कुनै पनि विशेष धार्मिक कार्यहरू गर्न नहुने मान्यता रहेको छ । त्यसकारण मलमासको अवधिभर नयाँ घर सर्ने, जग राख्ने, विवाह, ब्रतबन्ध, सप्ताह क्षयमासभन्दा पूर्ववर्ती संसर्पनामक अधिकमासमा मुण्डन, व्रतबन्ध, विवाह, अग्निको आधान, यज्ञोत्सव, महालय र राज्याभिषेक वर्जित हुन्छन् पहिले नगरेको व्रतको आरम्भ र समाप्ति जस्ता शुभकार्यहरू हुँदैन ।
ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ । ज्योतिष शास्त्र अनुसार विवाह गरेको एक वर्ष पूरा नभएका पतिपत्नी बीच अधिकमासमा यौनसम्पर्क भए पतिको आयु क्षीण हुने । यसको अर्थ पुराना दम्पतीलाई चाहिँ छुट छ भनिएको होइन । यो अवस्थामा समागम भएर गर्भ रहे सन्तान स्वस्थ जन्मँदैन । गर्भ रहेर बच्चा जन्मिए पनि आयु थोरै हुने भएकाले नयाँ जोडीहरुलाई मलमासभर एउटै घरमा बस्न नहुने र एउटै धाराको पानी पिउन नहुने शास्त्रीय मान्यता छ ।
तर यस अवधिभर केही धार्मिक कार्यहरू भने गर्न मिल्छ । जस्तै बालकहरूको न्वारन,अन्नप्रासन ,भजन तथा सत्संगहरू र ग्रहपूजा युगादि र मानिसको मृत्यु भएपछि गरिने कर्महरु गर्न मिल्छ । यसका साथै यो समयमा आफूले दैनिक गर्ने पूजा लगायतका नित्य कर्महरु पनि गर्न मिल्छ । साथै नैमित्तिक कर्महरूमध्ये रजोदोषको शान्ति,यज्ञको निभेको अग्निको प्रतिष्ठा, मन्दिर आदिको पुनः प्रतिष्ठाजस्ता कर्म मलमासमा गरिँदा दोष लाग्दैन ।
कालान्तरमा गर्ने हो भने शुद्धमासमा नै गर्नुपर्दछ । आग्रयण इष्टि पनि दुर्भिक्षको संकट छ भने मलमासमा नै गर्नुपर्दछ, अन्यथा शुद्धमासमा गर्नुपर्दछ । हाम्रो समाजमा कसैको जन्म मृत्यु अधिकमासमा भयो भने यसलाई राम्रो नमान्ने चलन छ । कसैको मृत्यु र जन्म हुनु स्वभाविक हो तर अधिक मासमा मृत्यु वा जन्मलाई वार्षिक रुपममा मनाउन समय केलाउनु पर्ने हुन्छ । यसै हुनाले पनि नराम्रो हो भन्ने मान्यता रहेको हो ।
‘तीथ्यर्धे प्रथमे पूर्वोऽपरस्मिन्नपरस्तथा, मासाविति बुधैश्चिन्त्यौ क्षयमासस्य मध्यगौ’ अधिकमासमा जन्म वा मृत्यु भएमा अधिक पक्षको जुन तिथि छ शुद्ध पक्षको त्यहि तिथि कायम हुने प्रमाण पाईन्छ । क्षयमासकालगि भने शुक्लपक्षको पहिलो महिना र कृष्णपक्षको पछिल्लो महिना गणना गरिन्छ । त्यसमा पनि तिथिमानलाई दुई भागमा गरी तिथिको पूर्वाद्धमा जन्म वा मृत्यु त्यसको जन्म दिन वा मरणतिथि पहिलो महिनाको सोहि तिथि तथा उत्तराद्धमा जन्म वा मृत्यु भएमा पछिल्लो महिनाको समानपक्षको सोहि तिथि त्यसका लागि जन्मतिथि वा मरणतिथि हुने शास्त्रिय प्रमाण पाईन्छ ।
मलमासमा ३३ वर्गका देवताहरूका लागि ३३ मालपुवा दान गर्नुपर्दछ । यसबाट भूमिदान गरेको फल प्राप्त हुन्छ । मलमासमा ३३ मालपूवा काँसको पात्रमा राखी सख्खर र घिउसहित दान गर्नुपर्दछ । त्यसबेला विष्णुका रूपमा सम्पूर्ण संसारमा व्याप्त हुनुभएका पापनाशक सूर्यनारायणको प्रार्थना गर्नुपर्दछ । दान गर्दा दाताले यो देश कुरुक्षेत्रसमान छ, यो समय पर्वसमान छ, यी ब्राह्मण नारायणसमान छन् र यो दान पृथ्वीसमान छ भन्ने भावना गर्नुपर्दछ । मलमासबाट उत्पन्न हुने मलको शुद्धि, पापको निवृत्ति र पुत्र-पौत्र आदिको वृद्धिका लागि म द्वजदम्पतीलाई मालपूवा दान गर्दैछु भनी दान दिने व्यक्ति निर्मल बन्दछ र त्यसका कामना परिपूर्ण हुन्छन् । अधिकमासमा धादिङ सल्यानटारको नरसिंहधाम, काठमाडौँको मच्छेनारायण आदि मन्दिरहरुमा मेला लाग्ने गर्दछ ।












