
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सबै दल सहभागी हुने स्पष्ट संकेत दिएका छन्। उनले सरकारले सुरक्षा अवस्था सुनिश्चित गर्नुपर्ने बताउँदै फागुन २१ गते हुने निर्वाचन गर्ने–नगर्ने अन्तिम जिम्मेवारी सरकारकै काँधमा रहेको सन्देश दिएका छन्।
यसैबीच नयाँ दलका नेताहरू आपसी सहकार्यसहित निर्वाचनमा जाने सम्झौतामा जुटिरहेका बेला यसलाई एउटा खतरनाक सिण्डिकेट मान्दै नेपाली कांग्रेसले यस्तो गल्ती दोहोरिन दिने छैन भने एक्लै निर्वाचनमा जाने निर्णायक बाटोमा अघि बढेको छ।
कांग्रेसले फागुन २१ गते हुने संघीय प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट नीति लिएको छ। यस निर्णयलाई थप पुष्टि गर्दै गगन थापा र शेखर कोइराला निकट मानिएका कांग्रेस बुद्धिजीवी युवराज बस्ताकोटीले सामाजिक सञ्जालमार्फत स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
‘आदरणीय गगन थापा, आदरणीय शेखर कोइराला लगायत नेताहरूले पटक–पटक स्पष्ट पार्नुभएको छ कि नेपाली कांग्रेस फागुन २१ को निर्वाचनमा भाग लिन्छ। सो निर्वाचन एक्लै लड्छ। कसैसँग गठबन्धन गरेर चुनावमा जाँदैन। निर्वाचनपछि सरकार बनाउने सन्दर्भमा भने गठबन्धन आवश्यक पर्न सक्छ।’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।
उनका अनुसार निर्वाचन अघि गरिने गठबन्धन लोकतन्त्रको मर्मविपरित हो।
‘निर्वाचन अगाडिको गठबन्धन एक किसिमको सिण्डिकेट हो। यस्तो अभ्यास गलत र अलोकतान्त्रिक हो। अघिल्लो निर्वाचनमा भएका केही गलत निर्णयहरू यो पटक सच्याउनुपर्छ ।’ बस्ताकोटीले उल्लेख गरेका छन्।
यद्यपि माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा भने परिस्थिति फरक हुने संकेत गरिएको छ। जनप्रतिनिधि नै मतदाता हुने प्रणालीका कारण त्यहाँ गठबन्धन बाध्यात्मक हुने उनीहरूको निष्कर्ष छ। विजय सुनिश्चित गर्न अन्य दलको सहयोग अपरिहार्य रहने बताइएको छ।
फागुन २१ नजिकिँदै गर्दा कांग्रेसको ‘एक्लै लड्ने’ निर्णयले नेपाली राजनीतिमा नयाँ तरंग सिर्जना गरेको छ।











