
लमजुङ । सञ्चारकर्मी राेजी ढकाल पराजुली र माेहनप्रसाद मैनाली सम्मानित भएका छन् । जन्मदिनमा वृक्षराेपण अभियान नेपालकाे साताैँ वार्षिक तथा पाँचाैँ स्थापना दिवसका अवसरमा सञ्चारकर्मी द्वय ढकाल र मैनाली पुरस्कृत भएका हुन् ।
बेसीशहरमा आयाेजित अभियानकाे विशेष कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले टेलिभिजन प्रस्ताेता राेजी ढकाल पराजुलीलाई जन्मदिनमा वृक्षराेपण अभियान प्रतापशाली-इश्वरी स्मृति काेषबाट नगद राशी पुरस्कारसहित सम्मान पत्रले सम्मान गर्नुभएकाे हाे ।

त्यस्तै, माउण्टेन टेलिभिजनका सम्पादक तथा जनभेट साप्ताहिक (जनभेट डट्कम) का प्रधानसम्पादक माेहनप्रसाद मैनालीलाई जन्मदिनमा वृक्षराेपण अभियान स्वर्गीय देवी खनियाँ स्मृति अक्षयकाेषबाट नगद पुस्कारसहित सम्मान पत्रले सम्मान गरिएकाे हाे।

जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं संस्थाका अध्यक्ष बासुदेव सेढाईँले जन्मदिनलाई व्यक्तिगत खुशीमा सीमित नराखी सत्कर्मसँग जोड्नु पर्ने बताउनुभयाे। हरेक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तिमा एउटा वृक्ष रोप्ने हो भने वातावरण संरक्षणमा ठूलो योगदान पुग्ने उहाँको भनाइ छ । पूर्वीय दर्शन र संस्कार अनुसार जन्मदिन मनाउने प्रचलन हराउँदै जान थालेपछि जन्मदिनलाई सभ्य र सतकर्मसँग जोडेर जन्मदिनमा वृक्षरोपण अभियान शुरु गरिएको अभियान्ता सेढाईँले बताउनुभयाे ।

जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भावी पुस्ताका लागि हरित वातावरण निर्माण गर्ने सन्देश दिएको संस्थाको भनाइ छ । कार्यक्रममा वृक्षरोपणले वातावरणमा पार्ने सकारात्मक प्रभावबारे विभिन्न गीत, नृत्य तथा भजनमार्फत् सन्देश दिइएको थियो ।

२०७५ मंसिर २९ गते लमजुङ जिल्लाबाट शुरु भएको जन्मदिनमा वृक्षरोपण अभियान हाल नेपालका ६५ जिल्ला तथा विश्वभर नौ वटा देशमा सञ्चालन भइरहेको संस्थाले जानकारी दिएको छ ।











