
-माेहनप्रसाद मैनाली
हरेक व्यक्तिको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोडेर वातावरण संरक्षणका लागि वृक्षरोपण गर्नुपर्नेमा अभियन्ताहरुले जोड दिएका छन् । जन्मदिनमा वृक्षरोपण अभियान नेपालको सातौँ वार्षिकोत्सव तथा पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अभियान्ताहरुले धर्तीका सम्पूर्ण प्राणीको हितका लागि वृक्षरोपण गरेर जन्मदिनलाई सार्थक बनाउनुपर्ने बताएका हुन् ।
जलवायु परिवर्तनका कारण पृथ्वीमा भइरहेको वायू, जमिन र जल प्रदूषणलाई न्यूनीकरण गर्ने उद्देश्यले शुरु भएको जन्मदिनमा वृक्षरोपण अभियानले आफ्नो सातौँ वार्षिकोत्सव तथा पाँचौँ स्थापना दिवस लमजुङको बेसीशहरमा विविध चेतनामूलक कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा वक्ताहरुले जन्मदिनमा वृक्षरोपण अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको बताए ।

हरेक व्यक्तिको जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्यका साथ सञ्चालन हुँदै आएको ‘जन्मदिनमा वृक्षरोपण अभियानका अभियान्ताहरूले वृक्षरोपणमार्फत् जन्मदिनलाई अर्थपूर्ण बनाउनु पर्नेमा जोड दिएका छन् । जलवायु परिवर्तनका कारण बढ्दो प्रदूषण र तापक्रम वृद्धिको चुनौतीलाई न्यूनीकरण गर्ने उद्देश्यसहित शुरु गरिएको अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको उनीहरुको भनाइ छ । कार्यक्रममा वक्ताहरूले हरेक जन्मदिनलाई उत्सवमा मात्र सीमित नराखी प्रकृतिको संरक्षणसँग जोड्न सके पृथ्वीका सम्पूर्ण प्राणि र वातावरण दुवैका लागि लाभदायक हुने बताए ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्यालले जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम निरन्तर बढिरहेको र यसको न्यूनीकरणका लागि वृक्षरोपण एक प्रभावकारी उपाय भएको बताए । जन्मदिनमा वृक्षरोपण अभियानले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउन सफल भएको उनको भनाइ छ ।

जन्मदिनमा वृक्षरोपण अभियानका परिकल्पनाकार एवं संस्थाका अध्यक्ष बासुदेव सेढाईँले जन्मदिनलाई व्यक्तिगत खुशीमा सीमित नराखी सत्कर्मसँग जोड्नु पर्ने बताए । हरेक व्यक्तिले आफ्नो जन्मदिनमा कम्तिमा एउटा वृक्ष रोप्ने हो भने वातावरण संरक्षणमा ठूलो योगदान पुग्ने उनको भनाइ छ । पूर्वीय दर्शन र संस्कार अनुसार जन्मदिन मनाउने प्रचलन हराउँदै जान थालेपछि जन्मदिनलाई सभ्य र सतकर्मसँग जोडेर जन्मदिनमा वृक्षरोपण अभियान शुरु गरिएको अभियान्ता सेढाईँले बताए ।

कार्यक्रममा सञ्चारमाध्यममार्फत् वातावरण संरक्षणका लागि महत्वपूर्ण योगदान पुर्याएका सञ्चारकर्मी, समाजसेवी तथा विभिन्न व्यक्तित्वहरूलाई कार्यक्रममा सम्मान गरिएको थियो । टेलिभिजन प्रस्तोता रोजी ढकाल पराजुलीलाई स्वर्गीय प्रतापशाली–ईश्वरी पन्त अक्षयकोषबाट नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

त्यस्तै, जन्मदिनमा वृक्षरोपण अभियान नेपाल, स्वर्गीय देवी खनियाँ स्मृति अक्षयकोषबाट माउन्टेन टेलिभिजनका सम्पादक मोहनप्रसाद मैनालीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

कार्यक्रममा लमजुङको चिती तिलाहारमा पचास वर्षअघि स्थापना भएको चिती वृक्षरोपण नर्सरीका संस्थापक एवं समाजसेवी स्वर्गीय प्रतापशाली पन्तको विशेष सहयोगीका रुपमा नर्सरीको हेरचाह तथा संरक्षण गर्नुभएका स्वर्गीय दामोदर रेग्मीलाई मरणोपरान्त सम्मान पत्रले सम्मानित गरिएको थियो ।

त्यस्तै, स्व. प्रतापशाली पन्त–ईश्वरी पन्त वृक्षरोपण स्मृति अक्षयकोषका प्रमुख ज्ञानशाली पन्तकी धर्मपत्नी स्वर्गीय रमाकुमारी (बिनु) पन्तको प्रथम वार्षिक स्मृतिमा स्वर्गीय रेग्मीकी धर्मपत्नी कमलादेवी रेग्मीलाई पाँच हजार पाँच सय ५५ रूपैयाँ नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

स्वर्गीय प्रतापशाली पन्तका सुपुत्र समाजसेवी एवं साहित्यकार ज्ञानशाली पन्तले आफ्ना स्वर्गीय माता–पिताको स्मृतिमा स्व.प्रतापशाली–ईश्वरी पन्त वृक्षरोपण अक्षयकोष स्थापना गर्नुभएको हो । वातावरण संरक्षणमा महत्वपूर्ण याेगदान पुर्याउने व्यक्तिलाई अक्षयकाेषबाट हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरिएकाे उहाँकाे भनाइ छ ।

जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै भावी पुस्ताका लागि हरित वातावरण निर्माण गर्ने सन्देश दिएको संस्थाको भनाइ छ । कार्यक्रममा वृक्षरोपणले वातावरणमा पार्ने सकारात्मक प्रभावबारे विभिन्न गीत, नृत्य तथा भजनमार्फत् सन्देश दिइएको थियो । २०७५ मंसिर २९ गते लमजुङ जिल्लाबाट शुरु भएको जन्मदिनमा वृक्षरोपण अभियान हाल नेपालका ६५ जिल्ला तथा विश्वभर नौ वटा देशमा सञ्चालन भइरहेको संस्थाले जानकारी दिएको छ ।


















