
ईश्वरी थापा
काठमाडौं । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट) आबद्ध राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन) मा करुणा पुरीको अध्यक्षतामा ११ सदस्यीय बागमती प्रदेश कार्यसमिति चयन भएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनले ११ सदस्यीय कार्यसमिति र तीन सदस्यीय सल्लाहकार समिति गठन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष पुरीले १३ वटै कमिटीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमले संगठनलाई मजबुत बनाउने बताउनुभयो । उहाँले संगठनको सहयोग भएमा ब्यूटिसियनहरुको स्कुल स्थापना गरी समाजमा योगदान पुराउने दृढ इच्छा आफूमा भएको बताउनुभयो ।

‘सामाजिक सुरक्षा र मर्यादित रोजगार, सौन्दर्यकर्मी श्रमिकको अधिकार’ नारासहित शुरु भएको कार्यक्रममा जिफन्ट उपाध्यक्ष जितेन्द्र श्रेष्ठ, फान केन्द्रीय सदस्य ईश्वरी थापा, नावुन केन्द्रीय अध्यक्ष पम्फा देवकोटा पहारी, सुनिता भण्डारी, प्रेमकला डागी, मीना गुरुङ, शान्ति श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
जिफन्ट उपाध्यक्ष श्रेष्ठले संगठन स्थापना कालको स्मरण गर्दै देशभरका सौन्दर्यकर्मीहरु एकजुट भएर लागेमा कुनैपनि काम असम्भव नहुने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले जिफन्ट नीति, श्रमिक खबरको राष्ट्रिय अन्तर्राष्ट्रिय सकारात्मक प्रभावबारे जानकारी दिनुभयो । जिफन्टले संख्यात्मक भन्दा गुणात्मक शक्तिलाई जोड दिँदै आएको उहाँको भनाइ छ ।

नाबुन केन्द्रीय अध्यक्ष पम्फा देवकोटा पहरीले सौन्दर्यकर्मीले सुरुवाती चरणमा समाजबाट भोगेका कठिनाइ अबको जेनेरेशनले भोग्न नपरोस् भन्ने कामना गर्नुभयो । समय अनुसार चल्न नेतृत्व विकासमा संगठनले भूमिका खेलेको तथा समाजको अवधारणामा परिवर्तित सोचको विकास भएको उहाँको भनाइ छ ।
त्यसैगरी, राष्ट्रिय सौन्दर्यकर्मी यूनियनको केन्द्रीय महासचिव सुजना जोशीले योगदानमा आधारित सामाजिक सुरक्षा, मर्यादित रोजगार, संगठन सुदृढीकरण तथा सदस्यता विस्तारमा सबैलाई जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा जिफन्ट बागमती प्रदेश महिला कमिटी सचिव सुनिता भण्डारीले शुभकामना तथा पूजा बस्नेत लामाले स्वागत मन्तव्य दिनुभएको थियो ।
टीका बज्राचार्यद्धारा सञ्चालित कार्यक्रममा संगठनमा विशिष्ट योगदान पुर्याउने ईश्वरी क्षेत्री तथा टीका बज्राचार्य श्रेष्ठलाई सम्मान गरिएको थियो ।











