भक्तपुर । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने गरी खेललाई व्यावसायिक बनाउनुपर्ने बताउनुभएको छ ।
अन्तर्राष्ट्रिय ब्याडमिन्टन विकास केन्द्रले आयोजना गरेको भक्तपुर जिल्लाव्यापी अन्तर वडाकप ब्याडमिन्टन प्रतियोगिताको लोकन्थलीमा उद्घाटन गर्दै मन्त्री श्रेष्ठले खेलाडीमा खेलेरै पनि जीविकोपार्जन गर्न सकिन्छ भन्ने विश्वास जगाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
मन्त्रालयले खेल क्षेत्रको नीतिगत सुधारका लागि आवश्यक कार्य अगाडि बढाएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले राम्रा एवं दक्ष खेलाडी उत्पादन हुने गरी खेल प्रतियोगिता आयोजना हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, क्लब मध्यपुरका सञ्चालक अष्ट कवेँलगायतले खेल क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्नेमा जोड दिनुभयो ।