सामान्यतया २० देखि ३० वर्ष पुगेका उमेर समूहलाई युवा भनेर चिनिन्छ। यो समय जोस, जाँगर, कौतुहलता र केही गर्नुपर्छ भन्ने हुटहुटी सहितको समय हो। आफ्नो पारिवारिक सम्बन्ध, साथी संगत र वर्तमान बजारको माग अनुसार युवाहरुमा पनि विविधता पाइन्छ।
यही उमेरमा कतिपय आफ्नो भविष्य उज्वल बनाउन तल्लिन रहन्छन् भने कतिपय कुलतमा फसिसकेका हुन्छन्। हाम्रो विकासाेन्मुख देशमा आफूले बजारमा देखेबमोजिम आफूलाई त्यस स्थानमा उभ्याउन अनेक उथलपुथल, बाधा अवरोध झेल्नु र सहनु पर्ने हुन्छ।
युवालाई ‘यो त काँचो छ, यस्ले सक्दैन, यस्लाई जिम्मेवारी सुम्पिन हुँदैन भन्ने अर्को तितो सत्य हो।’ परापूर्व कालदेखि नै हाम्रो समाजमा यो भनाइ प्रख्यात छ र यसले जरो गाडेर बसेको छ। यसलाई सरासर कुविचार भन्दा फरक नपर्ला।
विभिन्न कामका लागि जनशक्ति माग गर्दा यति वर्ष अनुभव भएको भनेर विज्ञापन गर्दा यो विषय सोचनीय छ। शुरुमा अवसर दिँदै गर्दा काँचो छ भन्ने अनि अनुभवी र दक्ष जनशक्ति खोज्ने चलन कति सही छ ? विभिन्न देशमा युवाहरुले ठूला ठूला जिम्मेवारी वहन गरेको सुन्दा र देख्दा हामीले हाम्रो युवावर्गलाई आलोकाँचो भनेर जिम्मेवारी विहीन र बेरोजगार बनाउने ?
यतिमात्र नभएर दक्ष जनशक्ति विदेश पलायन, आपराधिक क्रियाकलापमा संलग्न, लागुऔषध दुर्व्यसन र नाफाको अन्य छोटो बाटो हिँड्न बाध्य भएका छन्।
सर्वप्रथम हामीले कुनैपनि कामको थालनी गर्दा सोही विषयलाई आवश्यक पर्ने अपरिहार्य कुराहरुको अध्ययन गर्न जरुरी हुन्छ। नेतृत्व, प्रेरणा, सञ्चार, निर्णय क्षमता र रणनीति हरेक कुरा थालनी भएदेखि अन्तिमसम्म सदाबहार आवश्यक भइरहने तत्वहरू हुन्।
एउटा कुशल नेतृत्वले युवाको महत्व र उनीहरूलाई चाहिने आवश्यक मार्गदर्शन थाहा पाउन जरुरी छ।
त्यसैले, संवेदनशील, गतिशील, योग्य र उर्जावान वर्गलाई यो त काँचो छ, यसले काम बिगार्छ, यसलाई जिम्मेवारी सुम्पिन हुन्न भन्नु विडम्बना हो । यस्ताे गरिनु आर्थिक, सामाजिक र नैतिक हिसाबले पछाडि पर्नु/पारिनु हो।