News Portal

  • गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा, आरुघाटका ६ सय बढी लाभान्वित

    जनभेट संवाददाता२०८३ आषाढ ८
    ५० पटक

    ईश्वरी थापा
    काठमाडौं । गोरखाको आरुघाट गाउँपालिका–२ मान्बुमा आयोजित दुईदिने निःशुल्क एकीकृत स्वास्थ्य शिविरबाट ६ सयभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा पाएपछि स्थानीयवासी उत्साहित बनेका छन्।

    क्यान्सर काउन्सिल नेपाल र शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र को संयुक्त आयोजना तथा एभरेष्ट बैंक र आरुघाट गाउँपालिका को सहकार्यमा भवानी माध्यमिक विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको थियो।

    शिविरमा मुटु, मिर्गौला, कलेजोलगायत रोगको परीक्षण गरिएको थियो। आयोजकका अनुसार ११० जनाको इको तथा मुटु परीक्षण, २५० जनाको भिडियो एक्स–रे तथा सयौंको युरिन र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। आवश्यक बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो।

    मुटुरोग विशेषज्ञ डा. सचिन लामिछाने ले ग्रामीण क्षेत्रमा समयमै परीक्षण नहुँदा रोग ढिला पहिचान हुने भएकाले यस्ता स्वास्थ्य शिविरलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्ने बताए। चिकित्सक टोलीले परीक्षणका क्रममा धेरैमा उच्च रक्तचाप, मुटु, मिर्गौला तथा रक्तअल्पतासम्बन्धी समस्या पहिचान भएको जनाएको छ।

    स्थानीयवासीले यस्ता शिविरलाई निरन्तर सञ्चालन गर्न माग गरेका छन्। गाउँपालिका अध्यक्ष राजु गुरुङ ले शिविरले नागरिकलाई प्रत्यक्ष लाभ पुगेको भन्दै आयोजकप्रति आभार व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस्