विक्रम सम्वत् २०५४ साल जेठ ५ गते एफएम १०२.४ मेघाहर्जको ब्याण्डमा रेडियो प्रसारण गर्न रेडियो सगरमाथाले अनुमति पाएपश्चात २०५४ जेठ ९ गतेबाट वातावरण पत्रकार समूहका सदस्यहरु घमराज लुइँटेल, रघु मैनाली, संगिता मरहट्ठा लगायतले रेडियो सगरमाथाको प्रसारण शुरु गरेको पाइन्छ । रेडियो सगरमाथाको प्रसारण शुरु भएपछि रेडियो प्रसारणमा रेडियो नेपालको एकाधिकारको अन्त्य भएको देखिन्छ ।
–मोहनप्रसाद मैनाली
पृष्ठभूमि
सञ्चारका विभिन्न माध्यमहरू टेलिभिजन, टेलिफोन, पत्रपत्रिका, इन्टरनेट आदि मध्ये रेडियो एक महत्वपूर्ण माध्यम हो । रेडियोको माध्यमबाट आवाजमा विविध समाचार, जानकारी, सूचना तथा मनोरञ्जनात्मक सामग्रीहरू सुन्न सकिन्छ । रेडियोको माध्यमबाट धेरै टाढाका घटना परिघटनाहरूको जानकारी क्षणभरमै प्राप्त गर्न सकिन्छ । एक्काइँसौ शताब्दीको आजको युग सूचना र प्रविधिको युग मानिन्छ । सूचनाको लागि कुनै न कुनै प्रविधिको प्रयोग जरुरी हुन्छ र सूचना प्रदान गर्नकै लागि रेडियोको आविष्कार भएको मानिन्छ ।
इटलिका वैज्ञानिक मार्कोनीलाई रेडियो आविश्कारकको मुख्य श्रेय जाने गर्दछ । सन् १९०१ मा मार्कोनीले रेडियो सङ्केतलाई २१ सय माइल टाढा रहेका रेडियो सेटमार्फत सुन्न सकिने बनाएका थिए भनिन्छ । रेडियो प्रसारण सम्बन्धी सिद्धान्तको प्रतिपादन (सन् १८६०) चार दशकपछि मात्रै रेडियो प्रसारण हुन सकेको देखिन्छ । अनौपचारिक वा प्रविधि परिक्षणको दुई दशकपछि मात्रै विश्वमै पहिलो पटक अमेरिकाले औपचारिक रेडियो प्रसारण सन् १९२० मा गरेको पाईन्छ । तर यो भन्दा अगाडि विभिन्न परीक्षणका रुपमा अमेरिका र बेलायतमा धेरै रेडियो स्टेशनहरू स्थापना र प्रसारण भएको पाईन्छ । अमेरिका र बेलायतमा सन् १९२० देखि १९३० सम्म रेडियो प्रसारणले निकै ठूलो गति लिएको पाईन्छ । सन् १९२२ मा बेलायतमा स्थापना भएको ब्रिटिस ब्रोडकास्टिङ् कम्पनी (हाल ब्रिटिस ब्रोटकास्टिङ कर्पोरेशन) ले हाल अङ्ग्रेजी लगायत विश्वका विभिन्न भाषाका कार्यक्रम उत्पादन र प्रसारण गर्दै आइरहेको पाईन्छ । यस अन्तर्गत बीबीसी नेपाली सेवाको नामबाट हरेक दिन राती ८ : ४५ देखि ९ : १५ सम्म नेपाली भाषाको समाचार र सूचनामूलक कार्यक्रम प्रसारण भईरहेको पाईन्छ ।
रेडियो स्टेशनबाट सम्प्रेशन गरिएको आवाज रेडियो सेटसम्म पुग्नका लागि हावाको तरङ्ग प्रयोग भएको हुन्छ । एम्लिच्युड मोडुलेसन, सर्ट वेभ र फ्रिक्वेन्सी मोडुलेशन गरी तीन किसिमबाट रेडियो प्रसारण भएको पाइन्छ । पछिल्लो समयमा विश्वमा नै धेरै प्रचलित रेडियो ‘फ्रिक्वेन्सी मोडुलेसन’ हो ।
नेपालमा रेडियो
सन् १९२० मा अमेरिका र बेलायतबाट औपचाकिर प्रसारण शुरु भएको रेडियोको स्थापना नेपालमा भने सन् १९५० अर्थात विक्रम सम्वत् २००७ सालमा मात्र भएको पाईन्छ । रेडियो अर्थात सञ्चार माध्यमको विकासमा जुनसुकै देशमा पनि त्यस देशको राजनीतिक ब्यवस्थाले महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । जुन देशमा प्रजातान्त्रिक ब्यवस्था हुन्छ त्यस देशमा सूचना प्रविधिको विकास पनि छिटो भएको पाइन्छ । नेपालमा २००७ भन्दा अगाडि राणा वंशको एकतन्त्रीय शासन भएकाले विश्वमा धेरै विकास भइसकेको रेडियोको स्थापना नेपालमा हुन नसकेको मानिन्छ । विदेशबाट प्रशारण भएका कार्यक्रम सुन्नका लागि भने हुनेखाने विशेष गरी राणा परिवारका व्यक्तिहरूले रेडियो सेट खरिद गरेर ल्याएको पाइन्छ । त्यस्तै पहुँच हुने नेपाली जनताहरुले पनि राणा सरकारको अनुमति लिएर रेडियो सेट खरिद गरी विदेशबाट प्रसारण हुने कार्यक्रमहरू सुन्ने गरेको पाइन्छ भने सरकारी तवरबाट काठमाडौंको टुँडिखेलमा रेडियो सेट राखेर सर्वसाधारणका लागि दैनिक केही समय भजन सुन्ने व्यवस्था गरिएको पनि पाईन्छ ।
विक्रम सम्वत् १९९७ मा नेपालमा प्रजातन्त्र स्थापना हुनु पर्छ भनेर राजनीतिक आन्दोलन शुरु भएको पाईन्छ । नेपालमा प्रजातन्त्रको माग राखेर भएको राजनीतिक आन्दोलनका क्रममा विक्रम सम्वत् २००७ को मंसिर महिनामा तत्कालिन विद्रोही पक्षबाट प्रजातन्त्र रेडियोको नामबाट भोजपुर जिल्लाबाट रेडियोको प्रसारण शुरु गरेको पाइन्छ । त्यसको लगतै भोजपुरबाट रेडियो स्टेशन विराटनगरको जुटमिलमा स्थापना गरेर त्यहाँबाट प्रसारण गरेको पाइन्छ । अनौपचारिक वा अवैधानिक तरिकाले प्रसारण भए पनि यसलाई नै नेपालमा रेडियो प्रसारणको पहिलो खुड्किलो मानेको पाईन्छ ।
रेडियो नेपालको स्थापना
रेडियो नेपालको स्थापना २००७ साल चैत २० गते भएको पाइन्छ । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्रको स्थापना भए पश्चात प्रजातन्त्रका लागि आन्दोलन गरेका तत्कालीन विद्रोही पक्षहरू सत्तामा पुगेपछि प्रजातान्त्रिक योद्धाहरूले नै स्थापना गरेको प्रजातन्त्र रेडियोलाई नै रेडियो नेपालको रूपमा स्थापना गरी सिंहदरवारमा यसको स्टेशन स्थापना गरेको पाइन्छ । रेडियो नेपालको स्थापनाको शुरुवाती चरणमा रेडियो नेपाललाई नेपाल रेडियोको नामबाट नेपालमा चिनिएको र पछिसम्म जनस्तरमा नेपाल रेडियोकै नामबाट पुकारिने गरिएको पनि पाईन्छ । यसको स्थापनाकालमा रेडियो नेपालले बिहान, दिउँसो र साँझ गरी दैनिक चार घण्टा शिक्षा र सूचनामूलक कार्यक्रम प्रसारण गरेको पाइन्छ ।
रेडियो नेपालको प्रसारण कालखण्ड
तत्कालीन समयमा जनताद्वारा जनताकै लािग र जनताले नै सूचना, समाचार तथा मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गर्नका लागि अति नै उपयोगी मानिएको रेडियो नेपाल राजनीतिक कालखण्डसँगै यसको प्रसारणको तरिका पनि परिवर्तन भएका पाइन्छ । २०१७ सालको राजनीतिक परिवर्तन पश्चात २०४६ को अन्तिमसम्म करिव तीस वर्ष पञ्चायती व्यवस्थाका पक्षधरहरूका मात्र एकपक्षीय समाचारहरु प्रसारण गर्न प्रयोग भएको भनेर इतिहासमा लेखिएको पाइन्छ । तर रेडियोको विकासमा भने क्रमिक रुपमा टेवा पुग्दै गएको पनि देखिन्छ ।
स्थापनाकालमा दैनिक चार घण्टाबाट प्रसारण शुरु भएको रेडियो नेपालले आफ्नो प्रसारण अवधि बढाउँदै २०१७ सालमा पाँच घण्टा पुर्याएको देखिन्छ भने २०२५ सालमा १२ घण्टा, २०४१ सालमा १३ घण्टा, २०५८ सालमा १८ घण्टा तथा २०७३ भदौ १ गतेदेखि चौबिसै घण्टा प्रसारण गरिरहेको देखिन्छ । हाल नेपालमा रेडियो प्रसारणको सङ्ख्या धेरै रहेको पाईन्छ तर पनि रेडियो नेपालले आफ्नो अलग पहिचान र अस्तितव कायम राख्न सफल रहेको पाईन्छ । रेडियो नेपालको स्थापना पश्चात यसको प्रसारण काल हेर्दा मुख्यतया तीन कालखण्डमा विभाजन गर्न सकिन्छ ।
क) २००७ देखि २०१७ सम्म
विक्रम सम्वत् २००७ सालमा ‘रेडियो नेपाल’ को स्थापना भएपश्चात यसले जनताका लागि सूचना र जानकारी तथा मनोरञ्जनका कार्यक्रम विशेष गरी भजनहरू प्रशारण गरेको पाइन्छ । दैनिक ४ घण्टा प्रशारण हुने गरेको रेडियो कार्यक्रम जनतामा निकै चर्चित थियो भनेर जेष्ठ नागरिकहरूले अहिले पनि भन्ने गरेको पाइन्छ । २००७ देखि ०१७ सम्म दश वर्षको अवधिमा रेडियो नेपालले आफ्नो प्रसारण तथा कार्यक्रमहरूको जग बसाल्ने कार्यमै समय खर्चिनु पर्दा विशेष स्तरीय कार्यक्रमहरू उत्पादन तथा प्रसारण गर्न नसकेको जस्तो देखिन्छ ।
ख) २०१७ देखि २०४६ सम्म
२०१७ साल पुस १ गते बहुदलिय प्रजातान्त्रिक राजनीतिक व्यवस्था परिवर्तन भई निर्दलिय पञ्चायती व्यवस्था शुरु भए पश्चात पनि रेडियो नेपालको प्रसारण र कार्यक्रम उत्पादनहरूको विकास नै भएको पाइन्छ । दैनिक ४ घण्टा प्रसारण भइरहेको रेडियो नेपालले २०१७ सालबाट दैनिक ५ घण्टा प्रसारण गरेको पाइन्छ । २०१७ सालसम्म राष्ट्रिय समाचार मात्र प्रशारण गरिरहेकोमा २०१८ सालमा राष्ट्रिय समाचार समितिको स्थापना र पी.टी.आई. तथा ए.एफ.पी. जस्ता विदेशी समाचार एजेन्सीहरूसँग सहकार्य गरी विदेशी समाचार पनि प्रसारण गरेको देखिन्छ ।
तत्कालिन पञ्चायती व्यवस्थाको सरकारले ‘विकासका लागि सञ्चार’ भन्ने नाराका साथ राष्ट्रिय सञ्चार नीति लागू गरी २०२८ सालदेखि पञ्चायती व्यवस्थाअनुरुपका कार्यक्रमहरु उत्पादन र प्रसारण गर्दै रेडियो नेपालले नेपालीहरूको मन जित्न सफल भएको पाइन्छ । त्यस्तै २०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति गठन भएर रेडियो प्रसारणलाई अझै व्यवस्थित तरिकाले अघि बढाउँदा १३ घण्टा प्रशारण भइरहेकोमा साँढे १३ घण्टा पुर्याएको पाइन्छ । २०४१ सालदेखि २०४६ सम्म रेडियो नेपालको खास परिवर्तन वा विकास भएको पाईदैन ।
ग) २०४७ देखि हालसम्म
विक्रम सम्वत् २०४६ को अन्तिमतिर नेपालमा पञ्चायत व्यवस्थाको अन्त्य भइ पुनः बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि रेडियो नेपालको विकास तीव्र गतिमा भएको पाइन्छ । २०४९ सालमा रेडियो प्रसारणका लागि सरकारले रेडियो नीति जारी गरेको पाइन्छ । जसमा प्रशारण ऐन अन्तर्गत रही निजी क्षेत्रलाई पनि फ्रिक्वेन्सी मोडुलेसन (FM) प्रविधिमा शिक्षाप्रद र मनोरञ्जनसम्बन्धी कार्यक्रम प्रसारण गर्न दिने भन्ने रहेको पाइन्छ । रेडियो नेपालको नीति अनुरुप नै २०५० सालदेखि क्षेत्रीय प्रसारण शुरु गरेर सबै नेपालीको पहुँचमा रेडियो नेपाल पुर्याउने प्रयासको थालनी गरेको पाइन्छ ।
नेपालमा बोलिने सबै भाषा र संस्कृतिको प्रवद्र्धन गर्ने रेडियो नीति अनुरुप २०५१ देखि राई, बान्तवा, तामाङ, थारु, अवधी लगायतका भाषामा पनि समाचार सम्प्रेसण भएको पाइन्छ । हाल देशभरका ६ स्थानमा क्षेत्रिय प्रशारण मार्फत विभिन्न भाषाका कार्यक्रमहरू उत्पादन र प्रसारण भइरहेको पाइन्छ । प्रविधिको विकाससँगै आविश्कार भएको इन्टरनेट प्रविधिलाई पनि आत्मसाथ गरी रेडियो नेपालले २०५६ भदौ १० गते इन्टरनेटको माध्यमबाट विश्वब्यापी तरङ्ग www.radionepal.gov.np मार्फत विश्वभर सुन्न सकिने अवस्थामा रहेको पाइन्छ । त्यस्तै विक्रम सम्वत् २०५८ सालदेखि रेडियो नेपाल भि–स्याटबाट स्याटलाइटमार्फत प्रसारण भई आफ्नो प्रसारणको गुणस्तर वृद्धि गरिरहेको पाइन्छ । जसबाट नेपालको अधिकाम्स भूभागमा रेडियो प्रसारण पुगेको पाईन्छ।
नेपालमा एफएम रेडियोको सुरुवात
निजीक्षेत्रलाई पनि एफ.एम. (फ्रिक्वेन्सी मोडुलेसन) प्रविधिमा रेडियो प्रसारण गर्न दिने भन्ने रेडियो प्रसारण नीति, २०४९ अनुसार नेपाल वातावरण पत्रकार समूहले रेडियो प्रसारण अनुमतिका लागि सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन पेश गरेको पाइन्छ । तर नियमावली नबनेको अवस्थामा मन्त्रालयले तत्काल अनुमति दिन सकेन र २०५२ मा राष्ट्रिय नियामावली जारी गरेको पाइन्छ । राष्ट्रिया नियामावली जारी भएपश्चात रेडियो नेपालले नै फ्रिक्वेन्सी मोडुलेसनको १०० मेघाहर्ज मिटर ब्याण्डमा एफएम प्रसारण शुरु गरेको पाइन्छ ।
विक्रम सम्वत् २०५२ सालमा राष्ट्रिय नियमावली जारी भएको तथा रेडियो नेपालले एफ.एम. रेडियो प्रसारण शुरु गरेपश्चात विभिन्न निजी क्षेत्रका समुह र व्यक्तिहरूले पनि एफएम रेडियो सञ्चालनका लागि अनुमति लिन शुरु गरेको पाइन्छ । विक्रम सम्वत् २०५४ साल जेठ ५ गते एफएम १०२.४ मेघाहर्जको ब्याण्डमा रेडियो प्रसारण गर्न रेडियो सगरमाथाले अनुमति पाएपश्चात २०५४ जेठ ९ गतेबाट वातावरण पत्रकार समूहका सदस्यहरु घमराज लुइँटेल, रघु मैनाली, संगिता मरहट्ठा लगायतले रेडियो सगरमाथाको प्रसारण शुरु गरेको पाइन्छ । रेडियो सगरमाथाको प्रसारण शुरु भएपछि रेडियो प्रसारणमा रेडियो नेपालको एकाधिकारको अन्त्य भएको देखिन्छ ।
नेपाल वतावरण पत्रकार समूहको सामुदायिक प्रसारण रेडियो सगरमाथाको प्रसारण शुरु भएपश्चात कान्तिपुर एफ.एम., ईमेज एफ.एम., क्लासिक एफ.एम आदिले सरकारबाट अनुमति लिई एफ.एम. रेडियो प्रसारण गरेको पाइन्छ । २०५४ मा शुरु भएको निजी क्षेत्रको एफ.एम. प्रसारणले २०६० पछि निकै ठूलो फड्को मारेको पाइन्छ । २०५४ देखि २०८० असार मसान्तसम्म नेपालभर एफ.एम. रेडियो प्रसारणका लागि अुनमति लिने एफ.एम. रेडियोको संख्या एक हजार एक सयभन्दा बढी रहेको पाइन्छ । स्थानीयस्तरमा प्रसारण भइरहेका निजी क्षेत्रका एफ.एम. रेडियोहरूले ब्यापक क्षेत्र समेटेर कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको पाइन्छ जसमा विविभ भाषा, धर्म, संस्कार लगायत कृषी, उद्योग, मनोरञ्जन तथा समाचारमूलक जानकारीहरू पाइन्छन् । विक्रम सम्वत् २०५४ सालदेखि नेपालमा रेडियो प्रसारणमा क्रान्ति नै आएको पाइन्छ ।
निश्कर्ष
विक्रम सम्वत् २००७ सालमा भूमिगत रुपमा राजनीतिक विद्रोही पक्षले स्थापना गरी शुरु भएको रेडियो प्रसारण सेवाले ७४ वर्ष पूरा गरेको देखिन्छ । रेडियो प्रसारणको झण्डै सात दशकको इतिहास पार गरेको रेडियो नेपालले विविध कालखण्ड पार गर्दै हाल व्यवस्थित र विश्वव्यापी प्रसारण गरिरहेको पाइयो । एम्लिच्युड मोडुलेसन प्रविधिमा प्रसारण शुरु गरेको रेडियो नेपालले सर्ट वेभ हुँदै हाल फ्रिक्वेन्सी मोडुलेशन तथा सञ्चारको नविनत्तम प्रविधि विश्वब्यापी वेभ इन्टरनेटमार्फत विश्वभर प्रत्यक्ष सुन्न सकिने गरि प्रसारण गरिरहेको पाइयो । त्यस्तै निजी क्षेत्रबाट पनि एफ.एम. रेडियोहरू प्रसारण भइरहेको पाइयो । नेपालमा रेडियो प्रसारणमा अवरोध र निकास मुख्यतया राजनीतिक व्यवस्थाकै कारण रहेको पाइयो । रेडियो नेपालले आफ्नो स्थापनाकालदेखि नै जनताका लागि विशेष कार्यक्रम तथा समाचारहरु प्रसारण गरेर मन जित्न सफल भएको पाइयो । वर्तमान अवस्थामा नेपालमा रेडियो स्टेशनहरू धेरै रहेको पाइयो । निजी तथा सामुदयिक स्तरबाट एफ.एम. ब्यान्डमा प्रसारण भइरहेका व्यवसायिक रेडियो तथा सरकारी स्तरबाट प्रसारण भइरहेको रेडियो नेपाल सबैले आआफ्नै स्तर र गुणस्तरमा सामग्री प्रसारण गरेको पाइयो । यद्यपी रेडियो नेपालले व्यवसायिक भन्दा पनि जनहितका कार्यक्रमहरू धेरै प्रसारण गरेको पाइयो ।
सन्दर्भ सामग्री
१. अचार्य, भानुभक्त (२०७३), आमसञ्चार र पत्रकारिता अध्ययन, निमा पुस्तक प्रकाशन, काठमाडौं ।
२. खनाल, श्रीराम (२०७१), मिडिया नीतिशास्त्र र कानुन, विद्यार्थी पुस्तक भण्डार, काठमाडौं ।
३. मिडिया डाइरेक्टरी २०७५, नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा
प्रसारण विभाग, सञ्चारग्राम, काठमाडौं ।
४. मिडिया व्यवस्थापन चुनौती र अवसर, इक्वेल एक्सेस नेपाल ।
५. www.radionepal.gov.np रेडियो नेपालको वेब साइट ।