News Portal

उपनिर्वाचन : नयाँ सत्ता समीकरणले एमालेलाई सहज

जनभेट संवाददाता२०८० चैत्र १०
३७ पटक

इलाम । आगामी वैशाख १५ गते हुन लागिरहेको इलाम क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि चुनावी चहलपहल बढेको छ । उपनिर्वाचनमा उम्मेदवार बन्नेको लर्को लागेको छ । उम्मेदवार टुङ्गो लागेका स्वतन्त्रहरू जनताको घर पुग्न थालेका छन् भने उम्मेदवार टुङ्गिन बाँकी राजनीतिक दलका नेताहरूसमेत निर्वाचन क्षेत्र केन्द्रित हुन थालेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू औपचारिक चुनावी अभियान सुरुआत गरी जनताको घर–घर पुग्न थालेका हुन् । दलका नेताहरू भने टिकट प्राप्त गर्नका लागि लबिङ गरिरहेका छन् ।

गत वर्षको निर्वाचनमा पार्टीले पाएको समानुपातिक मत विश्लेषण गर्दा यसपटकको इलाम–२ उपनिर्वाचनमा जितका लागि नयाँ सत्ता समीकरणले एमालेलाई सहज भएको छ । विसं २०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा सदर मतमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)ले २६ हजार पाँच सय ६२ मत पाएको थियो । त्यसपछि नेपाली कांग्रेसले २२ हजार तीन सय ३३, माओवादी केन्द्रले पाँच हजार एक सय ५३, राष्ट्रिय स्वतन्त्र पार्टीले चार हजार छ सय ६८, मङ्गोल नेशनल अर्गनाइजेशनले एक हजार छ सय ६१, राष्ट्रिय जनमुक्ति पार्टीले एक हजार चार सय १३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले एक हजार तीन सय २९, राष्ट्रिय प्रजातन्त्र पार्टीले एक हजार एक सय ९१ र जनता समाजवादी पार्टीले नौ सय छ मत प्राप्त गरेको थियो । अन्य साना पार्टीहरूले नौ सय मत कटाएनन् ।

निर्वाचनमा माओवादी केन्द्रले समर्थनमा कांग्रेसका उम्मेदवार खड्का एमालेका उम्मेदवार स्वर्गीय नेम्वाङसँग एक सय चार मतले मात्र पराजित हुनुभएको थियो । नेम्वाङले ३० हजार २० मत ल्याउँदा खड्काले २९ हजार नौ सय छ मत पाउनुभएको थियो । नयाँ सत्ता समीकरणसँगै यसपटक माओवादीको मत एमालेले पाउने भएपछि जितमा सहज हुने एमालेको विश्वास छ । तर कोशी प्रदेश नामकरणसहित एमालेलाई पहिचान विरोधीको ट्याग लागेको छ । पछिल्लो समय उदाएका नयाँ पार्टी, पहिचानको आन्दोलन तथा उनीहरुको साझा उम्मेदवार र अन्य स्वतन्त्र उम्मेदवारका कारण एमालेलाई पनि यो निर्वाचन जित्न त्यति सहज भने छैन ।

गत वर्षको निर्वाचनमा इलाम–२ को मतदाता एक लाख १५ हजार तीन सय ४२ रहेकामा ६९ हजार चार सय ८१ मत खसेको थियो । खसेको मतमध्ये ६६ हजार आठ सय ८५ मत सदर र दुई हजार पाच सय ९६ मत बदर भएको थियो ।

प्रतिकृया दिनुहोस्