काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसले महासमितिको बैठक तेस्रो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले महासमितिको बैठक आगामी फागुन ७ गतेदेखि १० गतेसम्म सार्ने निर्णय गरेको हो ।
बैठकपछि निर्णय सुनाउँदै नेता मिनबहादुर विश्वकर्माले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गोदावरीको हलमा गर्ने निर्णय भएको बताउनुभयाे । यसअघि पहिलो पटक मंसिर २९ देखि पुस २ सम्म महासमिति बैठक गर्ने केन्द्रीय समितिले निर्णय गरेको थियो । तर सो मितिमा गर्न नसकिने भन्दै बैठक सारेर पुस १६ देखि १९ गते सम्म पुर्याएको थियो ।
बैठक सार्नुको कारण राष्ट्रियसभाको निर्वाचन रहेको काँग्रेसको निस्कर्ष रहेको नेता विश्वकर्माकाे भनाइ छ । उहाँले राष्ट्रियसभाको निर्वाचनमा पार्टीको तर्फबाट भाग लिनका लागि दल दर्ता गर्ने निर्णय भएको र उम्मेदवार चयन गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिइएको बताउनुभयाे ।
त्यस्तै बैठकले केन्द्रीय कार्यसमितिको बैठक पुस १२ गते बस्ने र विधानका केही व्यवस्थाहरु महासमितिमा सिफारिस गर्ने निर्णय भएको उहाँकाे भनाइ छ । भूकम्पपीडितलाई सरकारबाट घोषणा गरिएको ५० हजार रुपैयाँ दिन अझै नसकेको बारे सरकारको ध्यानार्षण गराउने र अस्थायी टहरा निर्माणका लागि सरकारलाई दबाब दिने निर्णय भएको पनि बता विश्वकर्माले बताउनुभयाे ।
नेता विश्वकर्माले बैठकले पुस १६ देखि माघ १६ सम्म पार्टीको विशेष आन्तरिक अभियान सञ्चालन गर्ने निर्णय भएको पनि बताउनुभयाे।