News Portal

  • सावर्णी मन्वन्तरको गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न

    जनभेट संवाददाता२०८३ आषाढ १८
    ३८ पटक

    ईश्वरी थापा
    ललितपुर । पर्वसमय सुधार राष्ट्रिय समाज नेपालद्वारा आयोजित ‘सावर्णी मन्वन्तरको गुरु पूर्णिमा तथा गुरु सम्मान कार्यक्रम’ सोमबार ललितपुरको ऐतिहासिक मंगलबजारस्थित पाटन दरबार स्क्वायरमा भव्य रूपमा सम्पन्न भएको छ।

    ‘मन्वन्तर सुधार राष्ट्रिय अभियान सफल पारौँ’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा ज्योतिष, धर्म, शिक्षा, संस्कृति तथा सामाजिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। वक्ताहरूले पर्वसमय सुधार अभियानको आवश्यकता, यसको धार्मिक, ऐतिहासिक, वैज्ञानिक तथा सांस्कृतिक पक्षबारे आ–आफ्ना धारणा राख्दै अभियानलाई राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा आयोजक संस्थाले अभियानको औचित्य, संस्थाका उद्देश्य, हालसम्म सञ्चालन गरिएका गतिविधि तथा आगामी योजनाबारे जानकारी गराएको थियो। साथै अभियानसम्बन्धी जानकारीमूलक पुस्तिका, क्यालेन्डर तथा प्रचार–प्रसार सामग्री समेत सहभागीहरूलाई वितरण गरिएको थियो।

    समाजका अध्यक्ष प्राध्यापक जयन्त आचार्यको सभापतित्व तथा डा. मोहनप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्जिनियर हरिनारायण मल्ल, प्राध्यापक डा. रामप्रसाद उपाध्याय, प्राध्यापक रत्नकमल वैद्य, प्राध्यापक डा. सुन्दरकृष्ण जोशी लगायतका वक्ताहरूले पर्वसमय सुधार अभियानले नेपाली समाजमा विद्यमान पर्व तथा तिथिमितिसम्बन्धी अन्योल हटाई वैज्ञानिक, धार्मिक र सांस्कृतिक दृष्टिले एकरूपता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। उनीहरूले अभियानलाई व्यापक जनसहभागितासहित अगाडि बढाउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा पनि राखे।

    महासचिव बलराम श्रेष्ठले सञ्चालन गरेको तथा कीर्तिकिरण जोशीले सहजीकरण गरेको कार्यक्रममा ज्योतिष, शिक्षा, सञ्चार, स्वास्थ्य, सामाजिक सेवा तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका दुई दर्जनभन्दा बढी विशिष्ट व्यक्तित्वलाई ‘गुरु सम्मान’ प्रदान गरिएको थियो।

    सम्मानित हुनेहरूमा स्टार एक्सप्रेस साप्ताहिकका सम्पादक प्रवीण जोशी, नारायण गिरी, सूर्यप्रकाश जमरकट्टेल, डा. कपिल अज्ञात, प्रा. डा. रामप्रसाद उपाध्याय, प्रा. रामहरि दाहाल, शान्तप्रकाश श्रेष्ठ, पुण्यप्रसाद पोखरेल, भरतप्रसाद रिजाल, दीपक गैरे, प्रा. डा. सुन्दरकृष्ण जोशी, सुदर्शन बस्न्यात लगायतका व्यक्तित्व रहेका थिए।

    कार्यक्रममा समाजका आजीवन तथा मानार्थ सदस्य, पर्वसमय सुधार अभियानमा सक्रिय समाजसेवी, सञ्चारकर्मी, बुद्धिजीवी, पत्रकार तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले गुरु परम्पराको सम्मानसँगै पर्वसमय सुधार अभियानलाई राष्ट्रिय बहसको विषय बनाउँदै यसको उद्देश्यलाई जनस्तरसम्म पुर्‍याउन यस्ता कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

    कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले पर्वसमय सुधार अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै सम्बन्धित निकाय, विद्वत् वर्ग र आम नागरिकबीच व्यापक छलफल तथा सहकार्यलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरेको थियो।

    प्रतिकृया दिनुहोस्