
-कृष्ण आले
लमजुङ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती बेसीशहरमा साहित्यिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ । लिस्नो साहित्यिक मञ्च नेपाल र प्रकृति नारी समाजको संयुक्त आयोजनामा बेसीशहरमा सम्पन्न भएको हो ।
कार्यक्रममा आदिकविको जीवन, योगदान र नेपाली भाषा साहित्यमा पुर्याएको भूमिकासम्बन्धी चर्चा गरिनुका साथै भानुभक्तको काव्य परम्परालाई सम्मान गर्दै समसामयिक सन्दर्भमा लेखिएका कविता वाचन गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा नेपाली साहित्यका ज्ञाता अंगराज घिमिरेले भानुभक्तलाई नेपाली साहित्यको स्तम्भ भन्दै उनको योगदानलाई युगीन र कालजयी भएकाे बताए ।
कार्यक्रममा माधव थापा, नोर्देन तामाङ, दीपक पाण्डेय, भरत घिमिरे, बासुदेव थापा, बसन्त अधीर, विनिता देवकोटा, कमला दनाई, रमराज खनिया, कमला केसी, अजित बहादुर अधिकारी, कल्पना सेढाई, देवीदास बराल, कृष्ण आले र सोहन परियारलगायत स्रष्टाहरूले कविता वाचन गरेका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न स्थानबाट आएका साहित्यानुरागीहरू साथै सरस्वती आमा समूह, ह्यल्मो आमा समूह, कर्पुरेश्वर आमा समूह र बाबा आमा समूहका पदाधिकारी तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता प्रकृति नारी समाजकी अध्यक्ष अतिरुपा सेढाईले गरेकी थिइन् भने स्वागत मन्तव्य लिस्नो साहित्यिक मञ्च नेपालका संस्थापक अध्यक्ष बसन्त अधिकारीले राखेका थिए । कार्यक्रमको सञ्चालन मञ्चका उपाध्यक्ष बासुदेव सेढाईले गरेका थिए ।
भानुभक्त आचार्यको जन्म वि.सं. १८७१ साल असार २९ गते तनहुँ जिल्लाको चुँदीराम्घामा भएको थियो । संस्कृत भाषाको रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा र साहित्यमा ऐतिहासिक योगदान दिएका भानुभक्तका भक्तमाला, रामगीता, प्रश्नोत्तर लगायतका काव्य कृति आज पनि जनमानसमा जीवित छन् । उनका काव्यकृति तथा पाण्डुलिपिहरूलाई मोतिराम भट्टले संग्रह र प्रकाशन गरेपछि भानुभक्त नेपाली साहित्यमा एक ऐतिहासिक व्यक्तित्वका रूपमा स्थापित भएका हुन् ।
नेपालसँगै भारतकाे दार्जिलिङ, सिक्किम, असामलगायत स्थानहरूमा पनि भानुभक्तको जन्मजयन्तीमा विशेष कविता वाचन तथा श्रद्धाञ्जली कार्यक्रमहरू आयोजना गर्ने गरिन्छ।










