News Portal

  • गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदै

    जनभेट संवाददाता२०८२ आषाढ २६
    २८६ पटक

    -प्रताप सुवेदी
    आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवम् सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

    गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
    गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः ॥

    बालकको पहिलो गुरू उसका आमाबाबा र परिवार हुन्छन् । परिवारले जस्तो शिक्षा दिन्छन् त्यस्तै ज्ञान उ बाँचुञ्जेल अनौपचारिक शिक्षा हासिल गर्दछन् । जब तोते बोली बोल्न थाल्छ उसको पहिलो गुरू उसकी आमा हुन्छिन् । औपचारिक शिक्षा जब शुरू हुन्छ, ‘क’ देखि ज्ञ र शून्यदेखि नाैसम्म सिकाउने उसको पहिलो गुरू हुन्छन् ।

    अज्ञान तिमिरान्धस्य ज्ञानाञ्जन शलाकया ।
    चक्षुरुन्मीलितं येन तस्मै श्री गुरवे नमः ॥

    विस्तारै प्रावि, मावि, विश्वविद्यालय हुँदै विद्यावारी गर्दासम्म अनेकौ गुरू र उहाँहरूबाट अनेकौँ शिक्षा हासिल गरी यो अन्धकाररूपी संसारमा ज्ञानको ज्योति प्राप्त गरेका हुन्छाैँ।

    अखण्डमण्डलाकारं व्याप्तं येन चराचरम् ।
    तत् पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः ।।

    भगवान दत्तात्रेयले अप्रत्यक्षरुपमा २४ गुरू बनाउनु भएको थियो । पृथ्वी, वायु, आकाश, जल, अग्नि, चन्द्रमा, सूर्य, परेवा, अजिङ्गर, समुद्र, पतङ्ग, भ्रमरा, हात्ती, मधुहारी, हरिण, माछा, पिङ्गला वेश्या, न्याउली चरी, बालककुमारी कन्या, बाण बनाउने, सर्प, माकुरा र कुमालकोटीबाट व्यवहार आचरण गाह्य/अग्राह्य विषयको शिक्षा ग्रहण गर्नु भएको थियो।

    ‘गु’ को अर्थ हो (अन्धकार एवं ‘रु’ को अर्थ हो प्रकाश ‘गिरति अज्ञानं इति गुरूः’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ । तसर्थ आज गुरूपूर्णिमाका दिन हामीले कस्तो गुरूको पूजा गर्नुपर्ने र कस्तो गुरूलाई तिरस्कार गर्ने हो सोच्नुपर्छ । गुरूलाई ब्रह्मा भन्नुको अर्थ हो, बालबालिकाको सर्वाङ्गीण विकासमा सिर्जनात्मक शक्तिको विकास गर्नु तथा विष्णुले जस्तै हेरचाह, रेखदेख, पालनपोषण गर्नु तथा महेश्वरले जस्तै अज्ञान, कुमार्ग, कुविचारको नाश गर्नु । दक्ष भान्छेको अभावमा भान्छाको सामानको प्रचुरताले सुस्वादका परिकार सम्भव नभए जस्तै असल गुरूको अभावमा एउटा शिष्यको भविष्य उज्वल हुन सक्दैन ।

    व्यास जयन्ती
    आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

    व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–
    ‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
    परोपकार पुण्याय, पापाय परपीडनम्  ।

    अर्थात् अरूको उपकार गरे धर्म हुन्छ, अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो । यस अवसरमा आज देशभरका विभिन्न गुरुकुल, शिक्षालय एवं सङ्घ संस्थाले पनि गुरु पूर्णिमा पर्व मनाउने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्