News Portal

सामुदायिक क्याम्पसलाई सहयोग गर्ने व्यक्तित्वहरू सम्मानित

जनभेट संवाददाता२०८१ पौष १४
८४ पटक

सप्तरी । समुदायद्वारा सञ्चालित रूपनगर क्याम्पसलाई सहयोग गर्ने दाता तथा समाजसेवीहरूलाई एउटा विशेष समारोह आयोजना गरेर सम्मानित गरिएको छ। सप्तरीको रूपनगरमा रहेको सो क्याम्पस स्थापना कालदेखि आर्थिक, भौतिक, प्राज्ञिक तथा अन्य सहयोग गर्ने २६ जना व्यक्तिहरूलाई सम्मानपत्रसहित आभार व्यक्त गरिएको हो।

सो अवसरमा रूपनगर नन्दराज संग्रौला क्याम्पसले ६ वटा सरकारी विद्यालयका १२ कक्षामा अध्ययनरत् ६६ जना विद्यार्थीहरूलाई दिएको विशेष वित्तीय साक्षरता तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको जानकारी क्याम्पसले दिएको छ।

त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले जीवन उपयोगी शीप सिकाउने उद्देश्यले १२ कक्षाका छात्र-छात्राहरूका लागि तालिम आयोजना गरेको हो। तालिमले विद्यार्थीहरूको व्यवहारिक ज्ञानमा वृद्धि गर्ने र तिनीहरूलाई आर्थिक रूपमा सचेत र सक्षम बनाउने विश्वास क्याम्पसले राखेको बताइएको छ।

पूर्व प्रधानाध्यापक शम्भु प्रसाद घिमिरेको प्रमुख आतिथ्यमा सञ्चालित समारोहमा क्याम्पसले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्रद्वारा सम्मानित गरिएको जानकारी क्याम्पस प्रमुख प्राध्यापक दीपक कुमार गजुरेलले दिनु भयो।

रूपनगर नन्दराज संग्रौला क्याम्पसका ‘वित्तीय साक्षरता’ को तालिम पाएका १२ जना विद्यार्थीलाई आम नागरिकहरूमा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षणमा खटाइने जानकारी समाजसेवी तथा अवलोकित दैनिक पत्रिकाका सम्पादक भोला पासवानले सो अवसरमा दिनुभयो। दलित सरोकार मञ्च नेपालका कार्यकारी निर्देशक पासवानले भन्नुभयो, ‘यस क्याम्पसका दक्ष विद्यार्थीहरूलाई गाउँगाउँमा सर्वसाधारणलाई समेत वित्तीय साक्षरताबारे प्रशिक्षण दिने योजनामा छौँ।’

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गिरिराज संग्रौलाको सभापतित्व तथा कञ्चनरूप-१२ का वडाध्यक्ष देवि वहादुर खत्रीको विशिष्ट आतिथ्यमा सञ्चालित कार्यक्रम सञ्चालन क्याम्पस प्रमुख प्राध्यापक गजुरेलले गर्नु भएको थियो।

समाचार स्रोत : रूनगर क्याम्पस फिचर सेवा

प्रतिकृया दिनुहोस्