News Portal

  • साहसिक खेल प्रतियोगिता ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ’ जेठ १४ र १५ गते हुने

    जनभेट संवाददाता२०८३ जेठ १३
    ३५ पटक

    काठमाडौं । “तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता” को तेस्रो संस्करण यही जेठ १४ र १५ गते काठमाडौंमा हुने भएको छ । नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने र प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेल प्रतियोगितामध्ये एकका रूपमा लिएको छ ।

    प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेल को प्रवर्द्धन गर्नुका साथै विश्व प्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिँदै आएको हो ।

    प्रतियाेगितामा नेपाली तथा विदेशी आरोहीहरूले सहभागिता जनाउने आयोजककाे भनाइ छ ।

    प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ । दुबै विधाका विजेताले प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

    नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ का अध्यक्ष तुल सिङ गुरुङका अनुसार जेठ १४ गतेका दिन बिहान ९ बजेदेखि शुरु हुने उद्घाटन कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्रमुख अतिथि रहनु हुनेछ। यस्तै, मे १५ गतेमा हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थिति रहनेछ ।

    “यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा आरोहीहरुले प्रतिस्पर्धा गर्ने छन्,” गुरुङले भने, “अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए ।”

    तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा शुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना आएको आयोजकले जनाएको छ ।

    गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रूपमा मे २९ तारिखमा आयोजना गरिएको हो । सगरमाथा आरोहणसँग जोडिएको ऐतिहासिक दिनमा साहसिक खेलसम्बन्धी कार्यक्रम कमै आयोजना हुने भएकाले प्रतियोगितालाई अझ विशेष बनाइएको उनले बताए ।

    “हालसम्म मे २९ तारिखलाई मुख्यतः र्याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइँदै आएको छ । यस ऐतिहासिक दिनमा प्राविधिक साहसिक खेलसम्बन्धी कार्यक्रमहरू निकै कम हुने गरेका छन् । यस वर्ष पहिलो पटक नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगितालाई अझ प्राविधिक रूपमा आयोजना गर्न लागिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्याउने हाम्रो अपेक्षा छ । यस दिन प्राविधिक खेलकुदका कार्यक्रमहरू कमै हुने भएकाले प्रतियोगिता अझ अर्थपूर्ण बनेको हो,” गुरुङले भने ।

    “इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान हो,” गुरुङले थपे ।

    प्रतियोगिताले नेपालमा विकसित हुँदै गएको साहसिक आरोहण खेल संस्कृतिलाई थप प्रवर्द्धन गर्नुका साथै युवा पुस्तालाई साहसिक खेल तथा पर्वतारोहणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्