
ईश्वरी थापा
काठमाडौं । तारकेश्वर नगरपालिकाका प्रमुखद्वारा नेपाल स्वास्थ स्वयंसेवी संघ (नेभा) का प्रतिनिधिहरुमाथि गरिएको अपमानित व्यवहारप्रति विज्ञप्तिमार्फत् गम्भीर आपत्ति जनाएको छ ।
नेपाल स्वास्थ स्वयंसेवी संघ (नेभा) अध्यक्ष गीता पौडेल थिङको नेतृत्वमा असार ९ गते तारकेश्वर नगरपालिकामा स्वास्थ स्वयं सेविकाहरुको हक अधिकार तथा सेवा सुविधा सम्बन्धी मागपत्र बुझाउन गएको थियो । यसै क्रममा नगर प्रमुख कृष्णहरी महर्जनद्वारा संगठनका प्रतिनिधिहरुप्रति अपमानजनक व्यवहार गरेकोमा नेभा केन्द्रीय कमिटीले घोर आपत्ति प्रकट गरेको हो।
नगर प्रमुख कृष्णहरि महर्जनले स्वयंसेबिका भएर राजनीति गर्ने भन्दै ट्रेड युनियनलाई नगरपालिकाले नचिन्ने र चिन्नु पर्ने पनि छैन भन्दै अपमानजनक शब्द प्रयोग गरी स्वास्थ स्वयंसेवी प्रतिनिधिहरुलाई जबर्जस्ती कार्यकक्षबाट बाहिर निकालेको थियो ।
यस्ता घटनाले लोकतान्त्रिक मूल्य मान्यता, महिला स्वयंसेवी प्रतिको अपमान, श्रमिक अधिकारको गम्भीर विषय मात्र नभइ संविधानको धारा ३४ को अवमूल्यन गर्नु पनि हो ।
श्रमिकको हक तथा ट्रेड युनियन ऐनबाट प्रदत्त मौलिक मानव अधिकारको खिल्ली उडाउदै जनताको सेवामा समर्पित स्वयंसेवीमाथि हेपाहा प्रवृत्ति हाबी भएकोमा घोर भत्सर्ना गरेको छ ।
नागरिकलाई मौलिक हक, मानव अधिकारको सम्मानजनक व्यवहार गर्न, स्वास्थ स्वयंसेवीहरुको सेवा सुबिधा सम्बन्धी छुट्टै कार्यबिधि बनाइ मर्यादित काम र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्न नेपाल स्वास्थ स्वयंसेवी संघ (नेभा) ले जोड्दार माग गरेको छ ।












