News Portal

उत्साह र उमङ्ग थप्ने घ्याङस्वारा

सुस्मा पन्त मैनाली२०८१ माघ ५
१६१ पटक

–सुस्मा पन्त मैनाली
विभिन्न ठाउँको रमणीय यात्राले मानिसकाे विगतका दुःखलाई भुलाएर वर्तमान र भविष्यमा उत्साह, उमङ्ग र खुसी थपिदिन्छ । त्यसैले होला म नयाँ-नयाँ ठाउँको यात्राका लागि अत्यन्त उत्साहित हुने गर्छु। मलाई मिठो-मिठो परिकार खानमा भन्दा नयाँ नयाँ ठाउँ घुम्न बढी निको लाग्छ । मेरा सहकर्मी साथीहरु पनि नयाँ ठाउँ घुम्नका लागि सँधै अत्यन्त उत्साहित देखिनु हुन्छ ।

यसै शिलशिलामा हामी (श्री मंगलादेवी माध्यमिक विद्यालय सूर्यगढी-१, छाप,नुवाकोट) का सहकर्मी शिक्षक साथीहरु मिलेर वनभोज जाने निर्णय गर्यौँ । वनभोज जाने विषयमा साथीहरुबीच निकै अघिदेखि कुरा उठेको थियो । सबै साथीहरुको समयानुकूल नमिलेकाले वनभोज जाने मिति तय हुन सकेको थिएन । हामी सबैको समय अनुकूल मिलेपछि सबै साथीहरुको सल्लाहमा नुवाकोट कै पञ्चकन्या गाउँपालिका वडा नं चारस्थित प्राकृतिक सुन्दरताले परिपूर्ण ‘घ्याङस्वारा’ जाने सहमति भयो । हामीले घ्याङस्वाराका विषयमा विभिन्न सामाजिक सञ्जाल तथा युट्युवमार्फत फोटो तथा भिडियोहरु देखेका थियौं । पछिल्लो समय उक्त ठाउँ आन्तरिक पर्यटनको लागि अत्यन्त उत्कृष्ट गन्तव्य बनेको कुरा सुन्न र देख्न पाइन्छ । हामी पनि घ्याङस्वारा जान उत्तिकै उत्साहित थियौँ।

वनभोज जाने मिति तय भएकै दिन अपराह्न ४ बजेतिर मौसममा परिवर्तन आई एक्कासी असिनापानीसहित हल्का वर्षा भयो । पुस महिनाको थन्नी त्यसमाथि असिना परेपछि अत्यन्त चिसो बढ्यो र मेरो शारीरिक स्वस्थ्य बिग्रियो । बिस्तारै म मानसिक रूपमा पनि अस्वस्थ भएँ । त्यसपछि ममा वनभोज जाने उत्साह स्वाट्टै घट्यो, मन कमजोर भयो । भोलिपल्ट मैले मेरा सहकर्मी मित्रहरूलाई आफ्नो समस्या बताउँदै वनभोज जान असमर्थ रहेको कुरा व्यक्त गरे। म वनभोज नजाने सुनेर सबै साथीहरुले खिन्नता प्रकट गर्दै भन्नुभयो, “नयाँ ठाउँको यात्राले शारीरिक र मानसिक स्फूर्ति बढाउँछ, हजुरलाई उचित बसाई व्यवस्थानपन गरौँला म्याम आफ्नो मनलाई बलियो बनाउनुस् नजाने कुरा नगर्नुस् ।” थप आँट र भरोसा दिँदै उहाँहरूले मलाई वनभोज जानका लागि अनुरोध गर्नुभयो । म मौन रहे । मेरा प्राय सबै साथीहरु सहयोगी र मिलनसार हुनुहुन्छ । प्रायः हामी सबै एकअर्काका दुःख र अप्ठ्यारा परिस्थितिलाई महसुस गर्न सक्छौं । उहाँहरूको कुरालाई चिन्तन मनन गर्दै मैले मेरो मनलाई बलियो बनाएँ र आफूमा भएको सकारात्मक भावलाई जागृत गराई बनभोजमा आफूलाई नछुटाउने निधो गरेँ ।

योजना अनुसार मिति २०८१/०९र२६ गते शनिवारका दिन बिहान ६ बजे हामी सबै साथीहरु विद्यालयको प्राङ्गणमा भेला भयौँ । प्रधानाध्यापक सरले विद्यालयसँगै रहेको मंगलादेवी मन्दिरको पूजा गरी सबै शिक्षक साथीहरूलाई शुभयात्रको कामना गर्दै टीका लगाई दिनुभयो । बिहानको ६ बजे विद्यालयमा उपस्थित हुने निर्देशन भए पनि हाम्रो गाडी  ७ : ३० बजेमात्र आइपुग्यो । सामानहरू फटाफट लोड गरेपछि अविलम्ब नगरी करिब ८ बजे हाम्रो यात्रा गन्तव्यतर्फ अघि बढ्यो । मंगलादेवी माध्यमिक विद्यालयबाट मर्थुम भञ्ज्याङ, नर्जा हुँदै हाम्रो यात्रा बिस्तारै ओरालो लाग्यो । साथीहरु सबै उत्साहित हुँदै गीत गाउँने रमाइलो गर्ने गर्दै हुनुहुन्थ्यो । स्वास्थ्य प्रतिकुलताका कारण म अगाडिको सिटमा बडो संयमताका साथ बसेकी थिए । तिब्र इच्छा हुँदाहुँदै पनि साथीहरुको रमाइलोमा म सहभागी हुन सकिन । करिब एक घण्टाको यात्रापछि ९ बजेतिर हामी बाउनबेसी पुग्यौं । छुटपुट समान किनेर त्यहाँदेखि तादी खोलाको पक्की पुल पार गर्दै हाम्रो यात्रा आप्रह बजारदेखि दक्षिणतर्फ उकालो लाग्यो । त्यहाँदेखि हाम्रो गन्तव्यक्सम्मको मोटर बाटोका बारेमा हाम्रा चालक दाजु पनि अनभिज्ञ हुनुहुँदो रहेछ । त्यसैले पञ्चकन्या कै स्थानीय बासिन्दा हाम्रै विद्यालयमा कार्यरत हाम्री सरस्वती श्रेष्ठ म्याम अगाडि बसेर चालक दाईलाई बाटो देखाउँदै हामी अगाडि बढ्यौं । कच्ची बाटो त्यसमाथि उकालो, हाम्रो यात्रा त्यति सहज थिएन । बिहानको चिया नास्ता गन्तव्य मै पुगेर खाने सल्लाह अनुसार हामी सबैले पानी बाहेक केही खाएका थिएनौँ ।हामी सबैलाई बिस्तारै भोक लाग्न थालिसकेको थियो ।

करिब १० बजेतिर हामी कविलासमा पुग्यौँ। त्यहाँ एउटा सुन्दर र आकर्षक सामुदायिक विद्यालयको भवन देखियो। मैले सरस्वती म्यामलाई विद्यालयको बारेमा सोधेँ। विद्यालयको नाम श्री राष्ट्रिय माध्यमिक विद्यालय रहेको उक्त विद्यालयका प्रधानाध्यापक, शिक्षक कर्मचारीलगायत विद्यार्थीहरू पनि कर्तव्यनिष्ठ, अनुशासित भएको, विद्यार्थी सङ्ख्या तथा पढाइको गुणस्तर पनि उत्तिकै अब्बल रहेको कुरा उहाँले बताउनु भयो । यो कुराले म खुसी भएँ । राष्ट्रिय माविमा जस्तै सबै पक्षको तालमेल मिलाउन सके हाम्रो नेपालका सबै सामुदायिक विद्यालयहरू राष्ट्रिय मावि जस्तै अब्बल हुने थिए भन्ने लाग्यो । राष्ट्रिय माबिदेखि थोरै घुम्ति पार गरेपछि हामी कविलासको उच्च समस्थलीस्थित कालिकास्थान मन्दिर पुग्यौँ । जहाँबाट नुवाकोट जिल्लाको भूगोललाई ३६० डिग्रीको एङ्गलबाट नियाल्न सकिन्थ्यो । दक्षिणतर्फ छहरे बजार, छहरे फाँटदेखि शिवपुरी राष्ट्रिय निकुञ्जसम्मको मनोरम दृश्य देखिन्थ्यो । पश्चिमतर्फ कविलास डाँडाको उच्च शिखर जंगलको बीचमा अवस्थित अत्यन्तै सुन्दर नाट्यश्वरी शिवको मन्दिरको दृश्य हेर्न लायक देखिन्थ्यो भने उत्तरतर्फ आप्रह बजार, बाउनबेसि नर्जासँगै तरेलिपरेका सुन्दर नागबेली पहाड शृङ्खलाबद्ध ढङ्गमा मिलेर बसेको देखिन्थ्यो । उत्तरतर्फ देखिएको हिमशृङ्खलाको मन्द मुस्कानले हाम्रो थकाइ र भोकलाई पनि मेटाइएको थियो । झण्डै पूर्वतर्फको हाम्रो गन्तव्यलाई बिर्सने क्रममा हामी अगाडि बढ्यो। अब करिब १० किलोमिटर हाम्रो गाडी गुड्नै थियो । अबको बाटो अलि सहज पनि थियो । जाँदै गर्दा बाटोमै पञ्चकन्या गाउँपालिकाको सुन्दर भवन हुँदै अगाडि बढ्दै जाँदा केही समयको उकालो घुम्ति चढेर हामी हाम्रो गन्तव्यमा पुग्यौँ ।

शनिबारको दिन परेकाले त्यसदिन त्यहाँ पिकनिक जानेहरुको भीड नै लागिसकेको रहेछ । जाँदाजाँदै ठूलो खेल मैदान रहेछ । साना तथा ठूला गरी २० भन्दा बढी गाडीहरुको पार्क त्यस्तै मान्छेको भीड लागेको पिकनिक स्पटहरु कुनै खाली रहेनछ । हितलाल तामाङ लगायतका सरहरुले त्यहाँका सम्बन्धित मान्छेसँग भेटी पिकनिक स्पटका लागि ठाउँ मिलाइदिन आग्रह गरेपछि हामीलाई अत्यन्त उत्कृष्ट स्पट मिल्यो । हामीले सुरुमा चिया नास्ता गर्यौ । त्यसपछि सबै साथीहरु मिलेर अन्य खानेकुरा बनाइयो ।

डाँडाको उचाई चारैतिर पहाडका तरेली तिनलाई सुरक्षा दिन उभिएका स्वाभिमानी हिमश्रृङ्खला त्यो सबै देखेर मेरो मन छमछम नाच्यो एकैछिन भएपनि नेपाली हुनुमा आफूलाई गर्व महसुस गरे मैले । मेरो अस्वस्थ तन मन खुसीले फुरुङ्ग भयो । मैले सोचे साच्चै नेपाल विश्वको स्वर्गीय भूमि नै हो । जलसम्पदामा विश्वको दोस्रो धनी देश सानो भएर पनि भौगोलिक विविधता हिमाल, पहाड र तराईको सङ्गम स्थल तर पनि नेपाल किन विश्वमा यति पछाडि छ ।

त्यहाँ वरिपरिको माहोलको झन कसरी बयान गरु । खुसी खोज्दै बहलाउन काठमाडौँ लगायत नुवाकोटका विभिन्न क्षेत्रबाट गएका शिक्षक, कर्मचारी, आमा समूह, सांस्कृतिक समूह, सहकारीका हजारौँ मानिसको भीडमा कतै पञ्चेबाजाको धुन, कतै लोकदोहोरीको रमाइलोले हाम्रो मन अत्यन्त पुलकित भइरहेको थियो । १ बजेतिर खाजा खाएर नाचगान रमाइलो गरेपछि हामी सबै घ्याङस्वरा पार्क घुम्न निस्कियौँ। पार्क ठूलो क्षेत्रमा फैलिएको रहेछ । हाम्रो पिकनिक स्पटदेखि लगभग ५०० मिटर उचाइको परिसरमा सुन्दर सिँढी उक्लदै विभिन्न फोटो स्टेशनहरुमा फोटो भिडियो खिच्दै हामी रमायौँ । त्यहाँ हामीले सामुहिक रूपमा ठडिएको सुन्दर र आकर्षक सालिक पनि देख्यौँ । त्यो सालिक पञ्चकन्या गाउँपालिका भित्रका विभिन्न जन आन्दोलनहरुमा ज्यान गुमाएका सहिदहरुको रहेछ । १७५० मिटरको उचाइमा रहेको त्यस ठाउँ वरिपरि हजारौंको संख्यामा चिया खेती पनि गरिएको रहेछ । पलिकाकै श्रम दाताको सहयोगमा सो कार्य सम्पन्न भएको रहेछ । बाल्यावस्थामा रहेका ति चियाका मुनाहरु बस्यक हुँदा त्यो ठाउँको सुन्दरता अझैँ परिपक्व हुने देखिन्छ । पार्कमा अहिले पनि निर्माण कार्य बाँकी रहेछ । मानिसको संख्याको तुलनामा शौचालय र पिकनिक स्पट अझै थप्नु पर्ने देखिन्छ ।

मेरो गृहजिल्ला नुवाकोट नभएकाले त्यहाँका जनप्रतिनिधिहरुलाई म चिन्दिन र उहाँहरू कुन राजनीतिक दलबाट हुनुहुन्छ त्यसमा पनि म अनभिज्ञ छु । तर उहाँहरुले आफ्नो पालिकामा गर्नुभएको विकास योजना प्रशंसनिय छ । सबै गाउँपालिकामा उचित स्थान चयन गरी यस्ता पार्कको निर्माण गरिने हो भने आन्तरिक पर्यटनमा प्रवद्र्धन हुने कुरामा दुईमत रहँदैन । पार्कको उच्च समस्थलीमा शिवको सानो मन्दिर र टेलिफोनको टावर पनि रहेछ । त्यसदिनको मौसम पनि सफा थियो । सो ठाउँबाट दक्षिणतिर शिवपुरी राष्ट्रिय निकुञ्जदेखि उत्तरतर्फ लाङटाङ राष्ट्रिय निकुञ्जसम्मलाई निहाल्न सकिन्थ्यो। त्यहाँबाट देखिने नुवाकोटको चारैतिरको दृश्यले हामीलाई मन्त्रमुक्त बनायो । यसैबीच दैलेखका दीपेन्द्र दाहाल र अछामका शुशिल एडी सरले हामी सबैलाई मार्मिक देउडा गीत पनि सुनाउनु भयो । करिब २ घण्टा पार्कको चौतर्फी अवलोकन गरेपछि हामी तल ओर्लियौ । दिन ढल्केर अपरान्हकाे ३ बजिसकेको थियो । फेरि हामी सबै मिलेर फटाफट बेलुकीको खानेकुरा तयार पार्यौ । फेरि सबै मिलेर नाचगान गरियो । खाना खाइसक्दा करिब बेलुकीको ५ : ३० भइसकेको थियो । बिहान ढिलो पुगेकाले होला हामी फर्किने समयमा सबै मानिसहरू लगभग रितिसकेका थिए। आफ्नो समान लोड गरेर घ्याङस्वार पार्कको मिठो सम्झना सँगालेर हामी फर्कियौँ।
जाँदाभन्दा फर्किदा हामीलाई धेरै सहज महसुस भयो । साथीहरुले गीत गाउने, सायरी वचन गर्ने आदि आदि रमाइलो गर्नुभयो । बेलुका करिब १० बजे हामी सुरक्षितसँग विद्यालय पुग्यौँ । आजको यात्रा सहज बनाइदिएकोमा मंगलादेवी माता साथै चालक दाईलाई हामी सबैले धन्यवाद दिँदै आफ्नो आफ्नो घरतिर लाग्यौँ ।

यसरी दैनिक जीवनको भागदौडलाई थाती राखी समय अनुकूल मिलाएर विभिन्न ठाउँको यात्रा गर्नुपर्छ। समय समयमा गरिने यस्ता यात्राले हाम्रा शारीरिक र मानसिक थकानलाई मेटाउँदै हामीमा थप जोश, जागर र हौसला प्रदान गरी हाम्रो मस्तिष्कमा पुनार्तागजी प्रदान गर्ने गर्छ। घ्याङस्वाराको हाम्रो रमणीय यात्राले मलगायत हाम्रा सहकर्मी मित्रहरुमा अझ उत्साह, उमङ्ग र खुसी थपिदिएको छ । उक्त यात्राबाट हामीले मनोरञ्जनका साथै नुवाकोट जिल्लाको भौलोलिक बनावट, प्राकृतिक सुन्दरतालाई उचाईबाट नियाल्ने मौका पायौं । घ्याङस्वाराको यो यात्रा हाम्रो मानसपटलमा सदाका लागि अविस्मरणीय रही रहनेछ ।

प्रतिकृया दिनुहोस्