-खुशराज लामा
जुन देशमा युवा जागेका छन्, विकृति, विसंगति, अन्याय र अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन् । त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ । अनि जुन देशका युवाहरु काँधमा काँध मिलाएर, हातमा हात मिलाएर विकासमा जुटेका छन्, त्यो देशमा मरुभूमिमा पनि पानीको मूल फुटेको छ । पहाड मैदान भएका छन् । बाँझा जमिनहरुमा अमृत समान खाद्यान्न लहलह झुलेको छ । उजाड उजाड पत्थरिलो जमिनमा सुन्दर, शक्तिशाली भव्य भवन, विद्यालय, अस्पताल, आवासगृह, उद्योग धन्धा, कलकारखाना, खुलेका छन् ।
भंयकर ठुला नदी, ताल, समुद्र, पहरामा समेत चिप्ला सडक बनेर मोटर कार सललल बगेका छन् । अन्धकार ठाउँहरुमा पनि झिलिमिली उज्यालो छाएको छ । कोही भोकभोकै मर्नु परेको छैन । कोही उपचार नपाएर अकालमा ज्यान गुमाउनु परेको छैन । कोही पढ्न नपाएर भारीले किचिएर हिड्नु परेको छैन । हेर्दा र पुग्दा लाग्छ मानिसहरुले दन्त्य र पौराणिक कथामा पढ्दै र सुन्दै आएकाे स्वर्गको टुक्रा यही नै हो भनेर ।
हरेक देश र नागरिकको सपना हुन्छ, आफ्नो जन्मभूमि स्वर्गजस्तो सुन्दर, शान्ति, भव्य होस्, जिन्दगीमा कहिल्यै पनि भोक, रोग, शोक, दुःख, कष्ट, पीडा र रोगव्याधिको सामना गर्नु नपरोस् । त्यसैले जुनसुकै देश, दल, परिवार, संघसंस्थाले आफ्नो योजना बनाउँदा विकास, समृद्धिलाई प्रमुख लक्ष्य बनाएका हुन्छन् ।
यो देशलाई माया गर्ने र जीबिकोपार्जनकै लागि बाध्यात्मक अवस्थामा विदेशिनेहरुको हकमा सबैले सम्मान गर्नै पर्छ। ती श्रमजीबी नेपालीलाई स्वदेश जिउने आधारको निर्माण राज्यले गर्नै पर्छ। साँच्ची कै भन्नु पर्दा अनेक पीडा सहेर पनि रगतसँग पैसा पठाउने श्रमजीबीले गर्व गर्नै पर्छ। नेपाल यिनैको रगत पसिनाले चलेको छ।
सुकिला मुकिला होनहार युवा नेपालमै बसेर भ्रष्ट तह लगाउँछु। देशमै सुशासनका लागि लड्छु। यो देशलाई समुन्नत बनाउँछु, र देशमै मर्छु भन्ने आँट छैन।अमेरिका छिर्न ५० लाख तिर्नेहरु आफूलाई देश भक्त ठान्दछन्।
नेपाली युवायुवतीहरु घाइते हुने, अंगभंग भएर मृत्यु हुने गर्दछ । अहिले दैनिक जस्तो पाच वटा शव त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट आउने गरेको दु:खद् पक्ष हाम्रो सामु नै छ । युबा कै सक्रियतामा येस्ता मानसिकतालाई चिर्न सकेमा समृद्ध नेपाल निर्माण गर्न असम्भव पनि होइन र दैनिकजसो लाखौँ युवा विदेशिने पीडा पनि कम गर्न सकिन्छ ।
राजनीतिलाई फोहोरी खेल भनेर येसबाट पन्छिन खोज्ने युवाको जमात पनि बढ्दो छ नेपालमा । यो मानसिकतालाई तोडेर हरेक क्षेत्रमा युवा नेतृत्वको आवस्यकता छ र मुलुककै नेतृत्व गर्न आफूलाई विकास गर्दै नयाँ सोच र उर्जाशिल भएर लाग्नु जरुरी छ । राष्ट्र निर्माणमा आवश्यकता छ त केवल युवाको अनुसन्धानको, सृजनशिलताको, उध्यमशिलताको र युवाकै नैतिक नेतृत्वको । राष्ट्र निर्माणक लागि आधुनिक समयको माग अनुसारको प्राविधियुक्त जनशक्ति पहिलो शर्त हो ।
मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका हरेक क्षेत्रमा युवाले नै नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नु आज को आवस्यकता हो । त्यसैले जीवनको सबैभन्दा उर्जाशिल र सम्भावना बोकेका युवाहरुलाई उनीहरुको दक्षता र अग्रसरतालाई ध्यान दिइ राज्य सञ्चालनका तहहरुमा तथा विकास निर्माणका प्रक्रियाहरुमा उनीहरुको अर्थपूर्ण सहभागितालाई सुनिश्चित गरि देश विकासको खाका बनाउनुको विकल्प छैन । प्राविधिक र व्यावहारिक शिक्षा प्रदान, रोजगारीका अवसरहरु सिर्जना, युवा जनशक्तिको माग अनुसारको शिक्षा, युवामा भएका ज्ञान, सीप, दक्षताको उचित व्यवस्थापन गरी युवाको सम्मान गर्नु राज्यको दायित्व र कर्तव्य पनि हो ।