
लमजुङ । जन्मदिनमा वृक्षरोपण अभियान नेपाल पवित्र संस्थाले दुई जना पत्रकारलाई पुरस्कारसहित सम्मान गर्ने भएकाे छ ।
स्वतन्त्र शक्ति साप्ताहिकका सम्पादक एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखा लमजुङका निवर्तमान उपाध्यक्षमा कृष्णबहादुर आलेलाई स्व. प्रतापशाली ईश्वरी पन्त वृक्षरोपण स्मृति पुरस्कार र नयाँ दिप डटकम कि सम्पादक सिर्जना घिमिरे बराललाई स्व. देवी खनियाँ वृक्षरोपण स्मृति पुरस्कार बाट पुरस्कृत गर्ने भएको हाे ।
वार्षिकाेत्सवकाे पूर्वसन्ध्यामा २०८१ मंसिर २५ गते बसेकाे केन्द्रीय समितिकाे बैठकले बेसीशहर ८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा २०८१ मंसिर २९ गते अभियानकाे छैटौं वार्षिकाेत्सव तथा चाैथाे स्थापना दिवसका अवसरमा उहाँहरुलाई पुरस्कारका साथ सम्मान गरिने जानकारी जन्मदिनमा वृक्षरोपण अभियान नेपालका परिकल्पनाकार एवं अध्यक्ष बासुदेव सेढाईले जानकारी दिनुभयाे ।
अभियान सुरुवात भएबाट पवित्र भावनाका साथ मन वचन कर्मले अभियानकाे सधैँ भलाे चिताएर प्रचारप्रसार गर्दै यहाँसम्म ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएकाले उहाँहरूलाई सम्मान गर्न लागिएको अध्यक्ष सेढाईँकाे भनाइ छ।
प्रकृति वातावरण संरक्षण, प्राणी जगतको रक्षा, आर्थिक उन्नति, असल र सभ्य संस्कारको विकास र सर्वगुण सम्पन्न मानवको परिकल्पना गर्दै लमजुङबाट सुरुवात भएको अभियान राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।
२०८१ मंसिर २९ गते अभियानले विविध साहित्यिक, सांस्कृतिक र सांगीतिक कार्यक्रमका साथ जागरण कार्यक्रम सभ्य र भव्यरूपमा सम्पन्न गर्ने तयारी गरेको अध्यक्ष सेढाईँले जानकारी दिनुभयाे ।













