News Portal

  • इन्जाको छैठौँ सम्मेलन जापानमा सम्पन्न, लुइँटेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन

    जनभेट संवाददाता२०८० चैत्र २
    २९ पटक

    टोकियो (जापान) । नेपाली पत्रकारहरुको अन्तर्राष्टिय सञ्जाल (इन्जा) को अन्तर्राष्टिय टोकियो सम्मेलन गुणराज लुइँटेलको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

    कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विष्णु शीतल, उपाध्यक्षत्रयमा टंक पन्त, किशोर सापकोटा र ददि सापकोटा, महासचिवमा दीपक रिजाल र सचिवमा आनन्द कोइराला निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगरी, रीता सापकोटा, कमल ढकाल, ध्रुव पौडेल, विष्णु शर्मा, डावा ढकाल, विनेश खनाल, विजय थापा र खेम भट्टचन कार्यसमितिको सदस्यमा चयन हुनुभएको छ ।

    वरिष्ठ पत्रकार भूषण घिमिरेको संयोजकत्वमा पत्रकारद्वय कृष्णा पौडेल र सिर्जना ढकाल रहनुभएको निर्वाचन कमिटीले उहाँहरु निर्वाचित भएको घोषणा गर्नुभएको थियो ।

    यसअघि आयोजित इन्जा डेका अवसरमा आयोजित अन्तरक्रियामा टोकियोस्थित नेपाली दूतावासका नियोग उपप्रमुख एवम् काउन्सुलर अम्बिकाप्रसाद जोशीले विश्वभरि छारिएर बसेका सबै नेपालीहरु आपसमा ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नका इन्जाले ब्रेन सर्कुलेशनका कार्यक्रमहरु प्रबद्र्धन गर्न सुझाव दिनुभयो । उहाँले बस्तुनिष्ठ र सामाजिक उत्तरदायित्वका हिसाबले सकरात्मक समाचार प्रवाह गर्न विदेशमा रहेका पत्रकारहरु सक्षम हुने बिश्वास व्यक्त गर्नुभयो ।

    इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले व्यक्ति विशेषले कुनै लाभ प्राप्तिका लागि सामाजिक सञ्जालका माध्यमबाट प्रसारण गरेका सबै सामग्रीलाई पत्रकारिताका रुपमा बुझिदिँदा समाजमा द्विविधा उत्पन्न भएको बताउँदै सत्य तथ्यमा आधारित विषयबस्तु जनमानसमा सही तरिकाले पुर्याउन पत्रकारले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।  इन्जाले विभिन्न देशमा रहेका नेपाली नियोगहरुसँग नजिक रहेर सहकार्य गर्न संस्था तयार रहेको उहाँले बताउनुभयो ।

    संस्थाका उपाध्यक्ष टंक पन्तले इन्जाको उद्देश्यअनुरुप संकटमा रहेका नेपाली सञ्चारकर्मीलाई गरिदैँ आएको सहयोगको बारेमा इन्जा केन्द्रित रहने बताउनुभयो ।

    एभरेष्ट इन्टरनेशनल स्कूलका प्राचार्य विष्णुप्रसाद भट्टले सामाजिक रुपपान्तरणमा मिडियाको महत्त्वपूर्ण भूमिका रहने बताउँदै नेपाली वेशभूषा, कला, संस्कृतिलाई अन्तरारराष्टिय समुदायमा पुर्याउन आफ्नो विद्यालयले गरेको योगदान उजागर गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

    सो अवसरमा एनआरएन ग्लोबलका वरिष्ठ उपाध्यक्ष रविन शेरचन, महिला विभागकी प्रमुख अनिता गुरुङ, साहित्यकार मञ्जु गिरी, पत्रकार मनिषा चौलागाईँ र दीपक गौतमले प्रवासमा रहेका नेपालीका समस्या र समाधान गर्न चालिनुपर्ने कदमबारे रायसुझाव दिनुभएको थियो ।

    सन् २०१८ मार्च १ तारिखमा स्थापना भएको इन्जाको अमेरिकामा मुख्यालय छ भने एशिया, यूरोप र अफ्रिकामा शाखा रहेका छन् ।

     

    प्रतिकृया दिनुहोस्