News Portal

  • कोशी प्रदेश सभाको विशेष अधिवेशन बैशाख ६ गतेका लागि आह्वान

    जनभेट संवाददाता२०८० चैत्र २९
    २० पटक

    विराटनगर ।  कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते दिनको १ बजेका लागि कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान गर्नुभएकाे छ । कोशी प्रदेशका नेकपा एमालेका ३९ जना र माओवादी केन्द्रका १३ जना गरी ५२ जना प्रदेश सांसदहरुले विशेष अधिवेशन माग गरेको आधारमा प्रदेश प्रमुख खापुङले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

    कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य संख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखितरुपमा अधिवेशन आह्वान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

    संविधान अनुसार प्रदेश सभाको एक चौथाई सदस्यले लिखित अनुरोध गरेमा अधिवेशन आव्हान गर्ने संवैधानिक प्रावधान रहेको छ भने अन्य अधिवेशनहरु भने प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुखले आह्वान गर्ने प्रावधान छ ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अल्पमतमा परेपछि पनि राजीनामा नदिएपछि र विश्वासको मत पनि नलिने अडान लिएपछि नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले विशेष अधिवेशन आव्हानका लागि चैत्र २६ गते प्रदेश प्रमुखको कार्यालयमा निवेदन दर्ता गराएका थिए ।

    प्रतिकृया दिनुहोस्