News Portal

देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन

जनभेट संवाददाता२०८० चैत्र १३
३५ पटक

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई केन्द्रमा राखेर इमान्दारीपूर्वक काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिनुभएकाे छ । उहाँले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्रसेवक कर्मचारीमाथि समस्या पर्न नदिने समेत प्रतिबद्धता व्यक्त गर्नुभयाे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री दाहालले कर्मचारीलाई कुनै पनि समस्या आए त्यसको जिम्मेवारी आफूले लिने बताउनुभयाे । “कार्यसम्पादन गर्दा कसैको भय र त्रासमा नपर्नु होला, कानून बमोजिम काम गर्न डराउनु पर्दैन”, प्रधानमन्त्री दाहालले भन्नुभयाे ।

नयाँ समीकरणको सरकार थप ऊर्जा, नयाँ सोच, उद्देश्य, कार्यसूची र कार्ययोजनाका साथ आएको बताउँदै प्रधानमन्त्री दाहालले सोहीअनुरूप अगाडि बढ्न निर्देशन दिनुभयाे । “राजनीति र प्रशासक सरकारका अभिन्न अङ्ग हुन्”, प्रधानमन्त्रीले भन्नुभयाे, “हालसम्म यहाँहरूबाट सहयोग प्राप्त हुँदै आएको छ । अझै थप जाँगर र जोसका साथ काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

सुशासन आफ्नो पहिलो प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भन्नुभयाे, “म आफू पनि राष्ट्र र कानुन विपरीतको कुनै पनि काम गर्दिन र तपाईंहरू पनि यस्तो कार्यमा लाग्नु हुने छैन भन्ने मैले विश्वास लिएको छु ।”

जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी सेवाप्रवाह गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शिक्षा, स्वस्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी, सवारी चालक अनुमतिपत्र, राष्ट्रिय परिचयपत्र वितरण तथा मालपोत दस्तुर बुझाउने जस्ता सेवा लिन नागरिकले बेहोरेका सास्ती हटाउने काम तत्काल प्राथमिकतामा राख्न निर्देशन दिनुभयाे ।

तेस्रो त्रैमासिकको लगभग अन्त्यसम्म आइपुग्दासमेत पूँजीगत खर्च सन्तोषजनक नभएको बताउँदै प्रधानमन्त्री दाहालले आयोजना अधुरा रहनु तथा काम सम्पन्न भइसकेकका आयोजनाको पनि भुक्तानी हुन नसक्नु सुखद पक्ष नभएकाे बताउनुभयाे ।

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

कृपया दश रूपैयाँ दान गर्नुहाेस्

प्रतिकृया दिनुहोस्